सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिने बृहत स्वास्थ्य शिविर शुरु भएको छ ।
हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय, ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोगमा स्वास्थ्य शिविर भएको हो । यसलाई मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जले समन्वय गरेका छन् ।
शिविरको सोमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले गाउँगाउँमा स्वास्थ्य सुविधा प्रदान गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
शिविरमा दाँत, बाल रोग, स्त्री रोग, छालासम्बन्धी र जनरल सबै रोगको परिक्षण तथा उपचार, निःशुल्क औषधि वितरण तथा परामर्श दिइएको थियो । शिविरमा ताईवानका वरिष्ठ डाक्टर तथा नेपाली डाक्टरहरुले बिरामीको परिक्षण गरेका थिए ।
पहिलो दिन १२५ जनाभन्दा बढी बिरामीले सेवा लिएका थिए । चार दिने शिविर कार्तिक २० गते समापन भएको स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताउनुभयो ।
