काठमाडौँ । यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् ।
प्राधिकरणका अनुसार, विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपदमा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
यस्तो छ १० वर्षको विवरण
प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा एक सय २२ जनाको ज्यान गयो ।
यस्तै, २०७६ मा आठ सय ४६ विपदजन्य घटनामा दुई सय तीन जनाको निधन भयो भने २०७७ मा एक हजार १५ विपदजन्य घटनामा तीन सय ८२ जनाले ज्यान गुमाउनु पर्यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा एक सय ६५ जनाको निधन भयो ।
त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । २०८० मा आठ सय ९१ वटा घटनामा ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।
