सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७ महाँकालमा आर्थिक सशक्तिकरण, बाख्रा वितरण, पशुपालन अभिमुखीकरण तथा विद्यालय सहयोग कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ ।

परिवर्तनका लागि सहकार्य नेपालको आयोजना तथा हेलम्बु गाउँपालिकासँगको समन्वयमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ र ७ का गरी ८ जनालाई बाख्रा वितरण र १ जनालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा नम्बर ७ का पशुप्राविधिक देवराज शर्माले बाख्रामा लाग्ने रोग, हेरचाह, पोषण तथा प्राविधिक पक्षका बारेमा प्रशिक्षण दिनुभयो ।

संस्थाले २०६९ सालदेखि हेलम्बु–६ लाई कार्यक्षेत्र बनाई शैक्षिक तथा व्यवसायिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । संस्थाबाट बाख्रा प्राप्त गरी आर्थिक उपार्जन गरिरहेका हेलम्बु–७ की चनमती सुनारले यस्तो सहयोगले घर–व्यवहार चलाउन सहज भएको अनुभव सुनाउनुभयो ।

त्यस्तै, महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा श्रीजना तामाङले स्टेशनरी र गत वर्ष पाएको बाख्राले आफ्नो पढाइ सहज भएको बताउनुभयो । कार्यक्रम अवसरमा संस्थाले महेन्द्र माध्यमिक विद्यालयको इसिडि कक्षाका लागि चकटी तथा इचोक माध्यमिक विद्यालयका लागि खेलौना सामग्री हस्तान्तरण गरेको छ। साथै ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएको परियोजनाका सामाजिक परिचालक गीता चौलागाईंले जानकारी दिनुभयो ।

वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले सहयोगको सदुपयोग गर्न आग्रह गर्दै सहयोग प्राप्त विद्यार्थीहरुको पढाइ कमजोर भएको गुनासो आउने क्रम बढेकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्वव लामिछानेले संस्थाको सहयोगले विद्यार्थी तथा अभिभावकको आर्थिक उपार्जनमा टेवा पुगेको भन्दै यसको दुरुपयोग नगर्न सुझाव दिनुभयो । अभिभावक समूहकी अध्यक्ष सितामाया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण संस्थाकी शिक्षा अधिकृत रोमिला घलले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *