काभ्रे । बनेपा–च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेशको राजधानी हेटौंडातर्फ बस सेवा सञ्चालनमा आएको छ । काभ्रे पुन्यवती यातायात प्रालिले यस रुटमा बस सेवा सञ्चालनको स्विकृती पाएको हो ।
सोमबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको बसले बनेपा, पनौती, ढुंखर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरबारी, हात्तीसुँड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौंडासम्म नियमित सेवा दिनेछ ।
बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेशीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रे र हेटौंडाबीचको आवतजावत थप सहज बनाएको छ ।
स्थानीयबासीको माग र बेथानचोक गाउँपालिका वडानम्बर १ को सिफारिसपछि बस सेवा सञ्चालनमा आएको वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो ।
