ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको ३३ औं स्थापना दिवस बुधबार एक कार्यक्रमका बीच मनाइएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता तथा पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरको विशेष आतिथ्यतामा ३३ औं स्थापना दिवस मनाइएको हो । महासंघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु एवं शाखाका पूर्वअध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघ काभ्रे शाखाले आफ्नै भवनमा आफ्नो स्थापना दिवस मनाउँदै गरेको अवस्थालाई आफूले निकै महत्वका साथ हेरिरहेको बताउँदै सबै काभ्रेली संचारकर्मीहरुमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफू महासंघको अध्यक्ष भएको एक वर्ष भएको सन्दर्भमा आफूले बोलेका कामहरु के के गर्यौं भन्ने समीक्षा गरिने बताउनुभयो । महासंघ केन्द्र सफल हुनु भनेको शाखा, प्रदेश र सबै संचारकर्मीहरु सफल हुने भएकाले सबैले यसमा सहयोग गर्नु जरुरी रहेको बताउँदै उहाँले शाखाहरुलाई आवश्यक सहयोग गर्न महासंघ सधैं तयार रहेको उल्लेख गर्नुभयो । काभ्रेली संचारकर्मीहरु हरेक क्षेत्रमा अगाडि रहेको भन्दै उहाँले सबै शाखालाई आफ्नो वेवसाइट सार्वजनिक गर्न आग्रह गरिएको भएपनि काभ्रे नै पहिलो शाखा भएको बताउनुभयो ।

संचारकर्मीहरुलाई पछिल्ला दिनहरुमा चुनौती पनि थपिएका उल्लेख गर्दै अध्यक्ष शर्माले श्रमजिवी पत्रकारहरुको हक हितका काममा महासंघ सधैं सहयोगी भूमिका खेल्न तयार रहेको बताउनुभयो । उहाँले अधिकांश पत्रकारहरु कतै पारिश्रमिक नपाउने त कतै जागिरबाटै हात धुनुपर्ने अवस्था आइरहेको बताउँदै यसले समग्र पत्रकारिता क्षेत्रमा असर परिरहेको र यो अवस्थाको अन्त्यका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले धेरै चुनौतीहरु झेल्दै पत्रकारिता क्षेत्र अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै प्रविधिले काम गर्न सजिलो भएपनि पत्रकारहरुको श्रृजनाशक्ती कमजोर हुनसक्नेतर्फ सचेत रहनुपर्ने बताउनुभयो । उहाँले अधिकांश संचारसंस्थाहरु आर्थिक समस्याबाट पीडित रहेकाले पत्रकारहरु यसको शिकार भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका हरेक समस्याहरुको निराकरणका लागि वागमती प्रदेश शाखा सक्रिय रहेको बताउनुभयो । उहाँले पुराना पत्रकारहरुलाई प्रविधिमैत्री बनाउँदै नयाँ पुस्तालाई यस क्षेत्रमा प्रवेश गराउन प्रविधिको सदूपयोगमा जोड दिनुपर्ने र बेलाबेलामा महासंघले आवश्यक तालिम दिइनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, कामना प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिनालगायतले शुभकामना व्यक्त गर्दै महासंघ शाखाका विगतदेखि वर्तमानसम्म र आफ्नो कार्यकालमा भएगरेका कामहरुको स्मरण गर्नुभयो । उहाँहरुले समयअनुसार महासंघले सबै पत्रकारहरुलाई आवश्यक तालिम प्रदान गर्ने वातावरण बनाउन सल्लाह दिनुभयो । साथै छाता संगठन भएको नाताले सबै पत्रकारहरुलाई एउटै व्यवहार गरेर अघि बढ्न सुझाव दिनुभयो ।

यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष केदार तिमल्सिना, नेपाल प्रेस युनियनका सचिव शुभराज अधिकारी, प्रेस संगठन काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, आदिवासी जनजाती पत्रकार महासंघका काभ्रे अध्यक्ष इन्द्रबहादुर थापालगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै सन्दर्भ पारेर पत्रकारिता दर्पण नामक स्कारिकाको बिमोचन पनि गरिएको थियो भने पत्रकार महासंघ काभ्रेको वेभसाइटको पनि सार्वजनिकीकरण गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई महासंघका उपाध्यक्ष कपिल कोइरालाले स्वागत गर्नुभएको थियो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शाखाका सचिव नगेन्द्र अधिकारीले गर्नुभएको थियो । कार्यक्रमलाई समापन गर्दै काभ्रे शाखाका अध्यक्ष न्यौपानेले पत्रकारहरुको दुर्घटना बीमालाई निरन्तरता दिन र सबै साथीहरुको सल्लाह र सुझावलाई मध्यनजर गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखामा हाल एक सय जना सदस्यहरु रहेका छन् । काभ्रेबाट हालसम्म प्रकाशनमा रहेका संचार माध्यमहरुमा २१ वटा विभिन्न पत्रपत्रिकाहरु, १० वटा रेडियोहरु र ३७ वटा अनलाइनहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *