चौतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले “सामाजिक कुरिती र अन्धविश्वास न्युनिकरणमा विद्यार्थीको भूमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिकाका इष्टप्वाईन्ट एकेडेमीका अविश्री खड्का प्रथम भएकी छिन् ।
जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुबाट १९ जना विद्यार्थी प्रतियोगितामा सामेल रहेका थिए । विषयवस्तुको गहिराइसम्म पुगेर सबैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिकाकी अविश्री खड्का प्रथम भएकी हुन् ।
थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्वितीय, प्रगती बोर्डिङ माध्यमिक विद्यालय मेलम्चीका युनिका थापा तृतीय र सेतीदेवी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरपालिकाकी रेनुका तामाङ चतुर्थ साथै जालपादेवी माविकी विनु तिमल्सिनाले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, पाँच हजार र २ हजार प्राप्त गरेका छन् । उनीहरुलाई जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका ईकाई प्रमुख बैकुण्ठप्रसाद सुवेदीले खादा अविर र प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगिताको निर्णय चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञ दंगाल, नमुना ज्ञानमन्दिर माविका शिक्षक सुदर्शन न्यौपाने र सेतीदेवी पञ्चकन्या माविका शिक्षक कृष्णप्रसाद पौडेलले गरेका थिए । आयोजकले निर्धारण गरेको ५ मिनेटको प्रस्तुतिलाई आधार मानेर उनीहरुले मुल्याङ्कन गरेका हुन् । जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले विद्यार्थीहरु भनेको समाजको ऐना भएको उहाहरण दिँदै विद्यार्थीहरुबाट अन्धविश्वास र कुरिती अन्त्य गर्न भूमिका खेल्न सक्ने भएकाले उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रतियोगीहरुसँगै जिल्ला समन्वय समितिका सदस्यहरु, सहभागी विद्यालयका शिक्षक शिक्षिका, समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिाता रहेको थियो ।
