ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । कान्छीमाया तामाङ फाउण्डेशनले आफ्नो कार्यक्षेत्रभित्रका जेष्ठ नागरिक र बालबालिका गरि ६६ जनालाई लुम्बिनी, कपिलबस्तु र नवलपुरमा रहेको सिजी धामको भ्रमण गराएको छ ।
पुस २० गतेदेखि शुरु भएको लुम्बिनीको धार्मिक भ्रमण तथा बौद्ध धर्मदेशना २३ गते सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष डा. दिलबहादुर थोकरको नेतृत्वमा भएको भ्रमणमा ५ वर्षका बालबालिकादेखि ८१ वर्षका जेष्ठ नागरिकहरु समेतको सहभागिता थियो ।

अधिकांश सहभागीहरु पहिलो पटक लुम्बिनीको भ्रमणमा पुगेका थिए । गौतम बुद्ध जन्मस्थल लुम्बिनी, उनले युवा अवस्था बिताएको कपिलवस्तुस्थित तिलौराकोटमा रहेको उनका बुबा राजा शुद्धोदनको दरबारलगायतको अवलोकन भ्रमण तथा मन्दिर र गुम्बाहरुको दर्शन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष डा थोकरले जानकारी दिनुभयो । सहभागीहरुलाई बुद्धका उपदेश र उनले सिकाएको दानलगायतका विषयहरु बारेमा बौद्ध धर्मगुरु लोप्साङ सेरप तथा लुम्बिनी संस्कृती विश्वविद्यालयका प्राध्यापक गुरु हिसी दोर्जेले जानकारी गराउनुभएको थियो ।

चार दिनसम्मको यात्रामा बौद्ध धर्मगुरु लोप्साङ सेरपसँगै हुनुहुन्थ्यो । उहाँले हरेक दिन बिहान र बेलुका बुद्ध धर्म र गौतम बुद्धका बारेमा प्रवचन पनि दिनुभएको थियो ।
जीवनका ७५ वर्ष काटिसक्दा धुलिखेल नगरपालिका–३, कुत्तालकी माइली मगर लुम्बिनी पुग्नुभएको थिएन । तर उहाँले गौतम बुद्धका बारेमा भने धेरै कुरा सुन्नुभएको रहेछ । यसपटक उहाँ पनि लुम्बिनी भ्रमणमा पुग्नुभयो । उहाँलाई यो अवसर जुटाइदिएको थियो कान्छीमाया तामाङ फाउण्डेशनले । उहाँ यो उमेरमा लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी हुनुहुन्थ्यो । ‘दिलबहादुर छोराले जाउँ आमा भन्यो, कस्तो रहेछ भनेर आएको, निकै राम्रो लाग्यो, खुशी छु ।’–उहाँले भन्नुभयो । उहाँ जस्तै धुलिखेल–४, बाँसघारीकी गोमा परियार पनि पहिलो पटक लुम्बिनी पुग्दा निकै उत्साहित हुनुहुन्थ्यो । उहाँले नयाँ कुरा देख्न र सिक्न पाउँदा संस्थालाई धन्यवाद दिनुभयो ।

धुलिखेलकै सानुकान्छी तामाङ पनि पहिलो पटक लुम्बिनी पुगेको अनुभव सुनाउँदै हुनुहुन्थ्यो । उहाँले संस्थाले राम्रो व्यवस्था गरेर लुम्बिनी ल्याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । धुलिखेलकै ७५ वर्षिय मानकाजी गोले पनि पहिलो पटक लुम्बिनी घुम्न जानुभएको थियो । संस्थाकै कारण लुम्बिनी घुम्न पाउँदा उहाँ पनि निकै खुशी मुद्रामा देखिनुहुन्थ्यो । यस्तै पाँचखालकी ठूलीमाया तामाङ पनि पहिलो पटक लुम्बिनी पुग्दा खुशी देखिनुभएको थियो । धुलिखेलकै ढोलबहादुर तामाङ भने दोस्रो पटक बुद्धको जन्मस्थल पुग्नुभएको हो । यहाँ केही नयाँ कुरा सिक्न पाइन्छ कि भनेर आफू लुम्बिनी आएको उहाँ बताउँदै हुनुहुन्थ्यो ।

डा. दिलबहादुरका बुबा रघुबहादुर तामाङ पनि यसै शिलशिलामा लुम्बिनी पुग्नुभएको थियो । उहाँकी श्रीमती कान्छीमाया तामाङको ०७२ सालमा मोटरसाइकलले ठक्कर दिँदा निधन भएको थियो । त्यसपछि छोरा दिलबहादुरले आमाको नामबाट संस्था खोलेर विभिन्न सामाजिक कामहरुमा आफूलाई लगाउँदै गर्नुभएको छ । श्रीमतीको निधनको विषय पक्कै उहाँका लागि दुःखद र अविष्मरणीय त छ नै तर छोराले गरिरहनुभएको कामबाट भने उहाँ निकै खुशी हुनुहुन्छ । आफू बाँचुञ्जेल संस्थालाई सहयोग गरिरहने उहाँले बताउनुभयो । संस्थाले विभिन्न ठाउँमा पुगेर स्वास्थ्य शिविर संचालन गरिरहेको र जेष्ठ नागरिकलाई सहयोग गरिरहेको कामबाट उहाँ निकै उत्साहित हुनुहुन्छ ।

आफ्नो आमालाई गुमाउँदा निकै भावुक हुनुभएका डा. दिलबहादुर थोकर आफूले चाहेर पनि आफ्नै आमालाई बचाउन नसकिएकोमा भने निकै दुःखित हुनुहुन्छ । आफ्नो आमालाई त बचाउन सकिएन तर उहाँ जस्तै हजारौं आमाका छोरा बन्नुभएको छ दिलबहादुर । नाम जस्तै पवित्र काम गरेर सबैको दिलमा बस्नुभएका उहाँ आगामी दिनमा पनि संस्थामार्फत यस्तै सामाजिक काम गरिरहने बताउनुहुन्छ । ‘कुरा काट्नेहरु काटिरहन्छन् तर काम गर्नेहरुलाई केहीले पनि रोक्दैन’ उहाँ भन्नुहुन्छ । यस पटकको लुम्बिनी भ्रमणमा सहभागीहरु सबैले संस्था र डा दिलबहादुरको कामलाई खुलेर प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *