काभ्रे । पनौती नगरपालिकाको अठारौं नगर सभा साेमबार सम्पन्न भएकाे छ । सभाले नाै वटा महत्वपूर्ण प्रस्तावहरु पारित गरेकाे छ ।

सभामा नगर उपप्रमुख गिता बञ्जाराले चालु आर्थिक वर्षका लागि स्विकृत बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नुभयाे । यसैगरि सभामा वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद सापकोटाले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्नुभयाे भने वडा नम्बर ९ का वडाध्यक्ष सहकुलकुमार हुमागाईँले चालु आर्थिक वर्षको आम्दानी खर्च अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्नुभएकाे थियाे ।

यस्तै वडा नम्बर ११ का वडाध्यक्ष विपेन्द्र लामाले शिक्षक दरबन्दी थप सम्बन्धी प्रस्ताव, वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधयेकसम्बन्धी प्रस्ताव, वडानम्बर ७ का वडाध्यक्ष सविन ताम्राकारले विज्ञापन विधयेक २०८२ सम्बन्धी प्रस्ताव र वडा नम्बर ४ का वडाध्यक्ष दिपकप्रसाद दाहालले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन विधयेकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयाे ।

सभामा वडानम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले सत्रौं नगरसभा पश्चात हालसम्म पनौती नगर कार्यपालिकामा भएका निर्णयहरु अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्नुभएकाे थियाे । वडा नम्बर १० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले धन्यवाद प्रस्ताव पेश गर्नुभयाे । यी सबै प्रस्तावमाथि छलफलपछि पारित भएकाे हाे ।

सभामा विभिन्न वडाका वडासदस्यहरुले आआफ्ना वडा र नगरका विभिन्न समस्याहरुबारे ध्यानाकर्षण गराउनुभएकाे थियाे । वडानम्बर १० का महिला सदस्य सरिता नेपाल अधिकारीले चाेरीका घटना बढेकाे, सवारी दुर्घटना बढेकाे र नागरिकताकाे सिफारिसका लागिसमेत सर्वरहरु संचालनमा कठिनाइ भइरहेकाे विषय उठाउनुभयाे । वडानम्बर ७ का वडासदस्य श्याम बस्नेतले जनप्रतिनिधिलाई तालिमकाे व्यवस्था नहुँदा धेरै समस्या भएकाले यसकाे माग गर्नुभयाे भने वडानम्बर १० का वडासदस्य जितबहादुर श्रेष्ठले पनि समसामयिक विषयमा आफ्नो धारणा राख्नुभयाे ।

यसैक्रममा सबैजसाे वडाका वडाध्यक्षहरुले पनि सभामा समय माग्दै आआफ्ना विचारहरु राख्नुभएकाे थियाे । उल्लेखित विषयहरुमा सभाध्यक्ष तथा नगरप्रमुख रामशरण भण्डारीले सम्बाेधन गर्नुभएकाे थियाे । सम्बाेधनका क्रममा प्रमुख भण्डारीले बाढीपहिरोबाट क्षति भएका संरचनाहरु पुनर्निर्माणका लागि धेरै रकम खर्च गर्नु परेका कारण सोचे अनुसार विकास निर्माणका काम गर्न नसकिएको प्रष्ट पार्नुभयाे । उहाँले सभामा पेश भएका सबै प्रस्तावहरु पारितका लागि निर्णयार्थ अनुराेध गर्नुभएसँगै सभाले प्रस्तावहरु पारित गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *