ज्ञानमणि नेपाल कालोटोपी,
प्रदीप केसी बञ्जारा

धुलिखेल । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी तीब्र पारेको जनाएको छ । बुधबार कार्यालयले यसबारेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया र पत्रकार सम्मेलन गर्दै हालसम्म भएका कामहरुका बारेमा जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचन तयारी तथा हालसम्मको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार हाल जिल्लामा १८९ वटा मतदानस्थल तथा ४०० वटा मतदान केन्द्र रहेका छन् ।

काभ्रेमा १४ हजार ३३० नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंसिर ३० गतेसम्म सो संख्यामा मतदाता थपिएका हुन् । कार्यालयका अनुसार जिल्लामा नियमित तरिकाले दर्ता भएका ४ हजार ८७३, बाहिरी जिल्लाका दर्ता ८२२ र राष्ट्रिय परिचयपत्रमार्फत नयाँ दर्ता ८ हजार ६३५ जना रहेका छन् ।

जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् । ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको यस जिल्लामा गत असोज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक थियो ।

त्यसयता नयाँ तथ्यांक अनुसार कुल संख्या ३ लाख २६ हजार ६११ पुगेको हो । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् । मृत्यु भएका ७३३ जनाको नाम हटाइएको छ भने ६१७ जनाको दोहोरो नाम हटाइएको कार्यक्रममा जानकारी दिइयो । नागरिकता त्यागेका २ र नागरिकता रद्द भएका एक जनाको पनि नामावलीबाट नाम हटाइएको छ ।

पुस १२ गते निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार काभ्रेपलाञ्चोक जिल्लामा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरुले २१ गते हुने निर्वाचनमा भाग लिन सक्नेछन् । सरकारले निर्वाचन घोषणा गरेयता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउन फोटो खिचाउनेको भीड बढेको थियो । जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् ।

बुधबारको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन कार्यालय स्थापना, उम्मेद्वारी मनोनयन तालिका र मनोनयन पत्र, मतदान र मतगणनामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली, उम्मेद्वारको योग्यता लगायतका विषयमा जानकारी गराउनुभयो ।

उहाँका अनुसार माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । शिक्षा तालिम केन्द्र धुलिखेलमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय स्थापना हुनेछ भने पनौती नगरपालिका कार्यालयमा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय स्थापना हुने साथै माघ ६ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ता हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले निर्वाचनमा खटिने सुरक्षा, एकीकृत सुरक्षा योजना तथा निर्वाचन प्रहरीको परिचालन, निर्वाचन अघि, निर्वाचनको समयमा र निर्वाचन सकिएपछिको अवस्थालाई एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण गरी कार्यान्वयन शुरु गरिएको जानकारी दिनुभयो । निर्वाचनका लागि जिल्लामा १ हजार १ सय १५ नेपाल प्रहरी, ३ सय ५० सशस्त्र प्रहरी र २ हजार २ सय ६९ निर्वाचन प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सबै पक्षको समन्वय, सहकार्य र सहयोगमा मात्र निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको समय आइसकेको अवस्थामा कहिँ कतै शंकास्पद वस्तु वा व्यक्ति देखिए तत्काल सुरक्षा निकायलाई खबर गरिदिनु अनुरोध गर्नुभयो । पत्रकारहरुलाई आधिकारिक सूचना मात्र प्रशारण प्रकाशन गर्न अनुरोध गर्दै उहाँले जिल्लाको निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले समझदारीमा विश्वास नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै निर्वाचनका समयमा उम्मेद्वार पार्टीका भए पनि निर्वाचित भइसकेपछि जनप्रतिनिधि भने सबैको साझा भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिवक्ता टिकाभुषण घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *