भकुण्डेवेँसी । काभ्रेका दुई सामुदायिक विद्यालयले भगिनी सम्बन्ध कायम गरेका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को डेडीथुम्का मावि र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको जनक माविबीच भगिनी (मितेरी) सम्बन्ध कायम भएको हो ।

शुक्रबार भकुण्डेस्थित जनक मावि परिसरमा आयोजित एक कार्यक्रमबीच दुई विद्यालयले सम्बन्ध स्थापित गरेका हुन् । कार्यक्रममा डेडीथुम्का माविका प्रधानाध्यापक शिवकुमार पौडेल र जनक माविका प्रधानाध्यापक प्रदीप पोखरेलले दुवै विद्यालयका विविध क्रियाकलाप, शैक्षिक गतिविधि तथा सीप आदान प्रदानका लागि सहमतिसहित मितेरी सम्बन्ध कायम गरिएको जानकारी दिनुभयो ।

शुक्रबारको कार्यक्रममा डेडीथुम्का माविका शिक्षक शिक्षिका, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु जनक मावि पुगेका थिए । सो अवसरमा दुई विद्यालयका झण्डाहरु आदानप्रदान गरिएको थियो । साथै विशेष कार्यक्रमसहित साँस्कृतिक, झाँकी तथा नाटकहरु पनि प्रदर्शन गरिएको थियो । यो सम्बन्धले दुवै विद्यालयका शैक्षिक व्यवस्थापन, नेतृत्व विकास तथा अन्य विषयहरुमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

दुई विद्यालयमा भएका र हुनसक्ने विभिन्न अनुभव, सीप, अतिरिक्त क्रियाकलाप र अन्य सिकाईहरु आदान प्रदान गर्ने गरि गरिएको मितेरी सम्बन्ध स्थापना जिल्लामै नयाँ भएको कार्यक्रममा जानकारी दिइएको छ ।

जनक मावि विसं. २०२९ सालमा स्थापित भएको सामुदायिक विद्यालय हो भने डेडीथुक्का मावि विसं. २०१६ सालमा स्थापना भएको हो । हाल जनक माविमा १ हजार १५६ र डेडीथुम्कामा करिब ४ सय विद्यार्थी अध्ययनरत छन् । दुवै माविले हजारौं शैक्षिक जनशक्ति उत्पादन गरिसकेका छन् ।

जनक माविमा पछिल्ला केही वर्षयता प्रविधिमा आधारित अध्यापन भइरहेको छ । यहाँ ०७६ सालदेखि पशुविज्ञान तथा पढ्दै कमाउँदै कार्यक्रम संचालन भइरहेको छ । जुन एकदमै प्रभावकारी भएको कार्यक्रममा जानकारी दिइएको थियो । यो सीप र विद्यालयका अन्य विषयहरु डेडीथुम्का माविका विद्यार्थीहरु तथा शिक्षकहरुले अवलोकन गरेका थिए । यसले आफूहरु निकै प्रभावित भएको प्रधानाध्यापक शिवकुमार पौडेलले बताउनुभयो । अब केही समयपछि जनक माविबाट पनि शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु डेडी थुम्का जाने र त्यहाँका विषयहरु अवलोकन गरिने कार्यक्रम तय गरिने पनि उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *