ज्ञानमणि नेपाल कालोटोपी
सिन्धुपाल्चोक । अधिकांश पहाडी र केही हिमाली भेग रहेको सिन्धुपाल्चोक जिल्लामा रहेका सयौं झरनाहरु यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको पर्खाईमा छन् ।

तीन नगरपालिका र ९ गाउँपालिका रहेको यस जिल्लामा हरेकजसो पालिकामा झरनाहरु छन्, ती पनि निकै मनमोहक र आकर्षक । जहाँ पुग्नका लागि कतै सडकको अभाव छ त कतै सडक भए पनि प्रचारप्रसारको कमीले सोचेजसरी पर्यटक पुगेका छैनन् ।

जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवामा रहेको खड्कुले झरना पछिल्ला दिनहरुमा पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर यसलाई प्रचारप्रसारमा त्यति ध्यान दिइएको पाइँदैन । बरुवामा रहेको सडकबाट करिब आधा घण्टा जति हिँडेपछि खड्कुले झरना पुगिन्छ । त्यहाँ पुग्ने बित्तिकै प्राकृतिक सौन्दर्यको एकदमै लोभलाग्दो दृश्य देखिन्छ । त्यो झरनाको छङछङ आवाज र त्यो छाँगोको शीतल हावाले त्यहाँ पुग्नेहरुको मन एकदमै आनन्दित बनाउँछ ।

यो झरना पाँचपोखरी यात्रा गर्दा एकपटक सबैको आँखामा पर्दछ । किनभने यो झरना वर्षा याममा एकदमै अनौठो देखिन्छ । खड्कुले झरनाको तीनवटा तह रहेको छ । झरनाको शुरुमा अर्को पनि झन्डै यति नै उचाइको झरना छ र तल चाहिँ यो भन्दा अझै लामो छ ।

झरनाको पर्यटन प्रवद्र्धन गर्नका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लगभग ३ लाख जति बजेटमा झरनासम्म जान एउटा गोरेटो बाटोलाई मर्मत गरेको पाइयो ।Ú आन्तरिक पर्यटक केशर कार्की भन्छन्, …तर त्यो त्यति पर्याप्त छैन । झरनासम्म आउने अलि व्यबस्थित र सहज सडक बनाउनका लागि ध्यान दिनु पर्ने देखिन्छ ।

यो झरना काठमाडौँबाट करिब ४ घण्टा जतिको यात्रापछि पुगिन्छ । अहिले हिउँदको समयमा पनि सुन्दर झरना देखिएको छ । बर्षाको समयमा त यो एकदमै सुन्दर देखिन्छ । यसको प्रचार गर्न बर्षाको समयमा एकदमै महत्वपूर्ण हुनेछ । किनभने त्यो बेलामा यो अत्यन्तै ठूलो हुन्छ । त्यसकारण यो झरनामा चाँडै नै धेरै आन्तरिक र बाह्य पर्यटकहरु भित्रिने र यहाँको पर्यटन प्रवद्र्धनका लागि सबैले भूमिका खेल्नुपर्ने देखिएको उनी बताउँछन् ।

यहाँ अहिले विभिन्न सामाजिक सञ्जालहरू इन्सटाग्राम,फेसबुक र टिकटकलगायत युट्युबका माध्यमबाट विभिन्न समूहहरुले भिडियोहरु बनाइरहेका देखिन्छन् । जसका माध्यमबाट आम नागरिकले यस्ता लुकेर रहेका पर्यटकीय ठाउँहरू र झरनाहरूका बारेमा सहजै घरमै बसेर जानकारी पाउँछन् । त्यसकारण आजको युगमा कुनै पनि पर्यटकीय गन्तव्यका लागि उपयुक्त ठाउँहरूलाई प्रचारप्रसार गर्न खासै ठूलो लगानी आवश्यक छैन । यो ठाउँमा यो छ भनेर पालिकाहरुले देखाउन सक्यो भने यसको प्रचार आफैँ हुने स्थानीयहरु बताउँछन् ।

प्राकृतिक सौन्दर्यले लोभलाग्दो, हेर्दा मनमोहक र आनन्द प्राप्त हुने आकर्षक झरनाको रुपमा यो खड्कुले झरनालाई अगाडि बढाउन सकिन्छ । त्यसका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले व्यवस्थित तरिकाले यहाँसम्म पर्यटक ल्याउनका लागि सडकको विषयमा एकदमै ध्यान दिनुपर्ने देखिन्छ ।

हेलम्बुको ब्लाङ्जे झरना ओझेलमा
जिल्लाकै हेलम्बु गाउँपालिका–७, सुलसिङ्गको ब्लाङ्जे झरना हिजोआज देश–विदेशका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । तर, यो प्राकृतिक सौन्दर्यको खानीमा अहिलेसम्म संघ र प्रदेश सरकारको नजर भने परेको छैन ।

वडा अध्यक्ष निलबहादुर खड्काका अनुसार, सामुदायिक सहयोग र सीमित बजेटकै भरमा झरनाको संरक्षण र प्रचारमा लागिएको छ । …गाउँपालिकाको स्रोत सीमित छ, तर हामीले वडाको केही बजेट झरनाको संरक्षण र प्रचारमा लगाएका छौं ।Ú उनले भने । संघ र प्रदेश सरकारले ध्यान नदिँदा पूर्वाधार निर्माणमा समस्या भइरहेको उनको भनाइ छ ।

वडाअध्यक्ष खड्का मात्र होइन, स्थानीय समुदाय पनि संघ र प्रदेश सरकारको मौनताप्रति असन्तुष्ट छ । झरना वरपरका बासिन्दाहरूले स्वेच्छिकरूपमा बाटो मर्मत, सरसफाइ र पर्यटक स्वागतमा सहयोग गर्दै आएका एक स्थानीयले बताए । उनीहरू भन्छन्, æहामीले सकेसम्म आफ्नो प्रयास गरिरहेका छौं, तर ठूलो पूर्वाधार बनाउन स्रोत र सरकारी सहयोग अपरिहार्य छ ।

æहाल ब्लाङ्जे झरनामा दैनिकरूपमा सयौं आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । तर, सडक जीर्ण छ, यातायात असजिलो छ, खानेपानी र सरसफाइको व्यवस्थापन पनि कमजोर छ । सडकको अवस्था अत्यन्तै दयनीय छ, हालसम्म कुनै निकायको नजर परेको छैन,Æ वडाअध्यक्ष खडका भन्छन् । सामुदायिक पर्यटनको सम्भावना बोकेको ब्लाङ्जे झरना संघ र प्रदेश सरकारको योजनामा प्राथमिकतामा पर्न सकेमा यो क्षेत्रले हेलम्बु मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोकलाई पर्यटकीय नक्शामा स्थापित गर्न सक्ने उनले बताए ।

स्थानीयवासीहरूको एउटै माग छ, …संघ र प्रदेशले अब हेरेर मात्र होइन, हात हालेर सहयोग गर्नुपर्यो ।Ú स्रोत र श्रम दुवै जुटाएर सामुदायिकस्तरमा अघि बढेको ब्लाङ्जे झरना, राज्यको साझेदारी पाए राष्ट्रिय गन्तव्य बन्न सक्ने स्थानीयको अपेक्षा छ ।

हेलम्बुमै अर्को आकर्षक झरना पनि छ । मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथानमा रहेको यो झरना सधैं एकनासले झरिरहेको छ । जंगलको बीच भागबाट दर्शनढुंगासँग लडीबुढी खेल्दै आइरहेको पानीले यहाँ झरनाको रुप लिएको छ । करिब एक सय मिटरको उचाईबाट खसेको यस झरनाको प्रचारप्रसारमा कसैले पनि खासै ध्यान दिएको पाईंदैन । यी र यस्ता झरनाहरु सिन्धुपाल्चोकमा दर्जनौंको संख्यामा छन् । जसबाट आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याएर आर्थिक स्रोत बलियो बनाउन सकिन्छ । यी झरनाहरुबाट फाइदा लिनेतिर स्थानीय तहहरुले ध्यान दिन जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *