नेपाल कृषि प्रधान देश भएर पनि यहाँका बहुसंख्यक किसान सरकारी सहयोगबाट बञ्चित छन् भन्ने कुरा कुनै नयाँ होइन । उनीहरुलाई मल, बीउ, विषादी र कामदारको चरम अभाव छ । यति मात्र होइन, उत्पादित कृषि उपजको उचित बजार छैन । काभ्रे जिल्ला यसैमा पनि कृषिको लागि उर्बर भूमि हो । यहाँ पछिल्ला केही दशकयता तरकारी खेती, दूध र फलफूल खेतीमा आबद्ध किसानको संख्या बढीरहेको छ । उनीहरुका धेरै समस्या छन् । गाउँगाउँमा खुलेका कृषि सहकारीहरुले केही सहयोग गरे पनि ती पर्याप्त छैनन् । यो अधिकांश किसानहरुको आवाज हो । यहाँका हजारौं किसानहरुले अहिले यस्तै अवस्था भोगिरहेका छन् । उनीहरु सबैले राज्यबाट सहयोगको अपेक्षा गरेका छन् ।
देशलाई समृद्ध बनाउने हो भने कृषिलाई सहज बनाउनु पर्नेमा यहाँका किसानले जोड दिएका छन् । किसानलाई उपेक्षा गरेर देश अघि बढ्छ भन्नु धमिलो पानीमा माछा मार्छु भने जस्तै भएको उनीहरुको अनुभव छ । आज देशले वर्षेनी अर्बौं रुपैयाँको कृषि उत्पादन आयात गर्छ तर देशका ४० प्रतिशत जमिन बाँझै छन् । ती जमिनमा खेती गर्ने जाँगर भएकाहरु काम पाइएन भन्दै बैदेशिक रोजगारीमा गइरहेका छन् । यस्तो अवस्थामा ती युवाहरुलाई स्वदेशमै रोक्ने र रोजगारी दिने क्षेत्र भनेको कृषि नै हो ।
काभ्रेका पाँचखाल, मण्डनदेउपुर, पनौती, नाला, बनेपा, धुलिखेललगायतका स्थानहरु तरकारी खेतीका लागि हब नै हुन् भन्दा फरक पर्दैन । यतिबेला सबैजसो ठाउँका किसानहरु खेतबारीमा छन् । उनीहरु कसरी उत्पादन राम्रो हुन्छ भन्नेमा दिनरात खटिन्छन् , तरकारी फलाउँछन् र आफैं बजार लैजान्छन् । यो पटक हामीले तरकारी खेतीमा रमाइरहेका पनौतीका केही प्रतिनिधि किसानका आवाज बुलन्द बनाउने प्रयास गरेका छौं ।
१६० वटा टनेलामा तरकारी फलाउने कृषक दम्पती
बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म नै तरकारी खेतीमा लागिरहेका पनौतीका किसान दम्पती कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी जसोतसो चल्दै थियो । त्यतिकैमा उनीहरुको तरकारी खेती गरिरहेको टनेलामा आगलागी भयो । ७ लाखको क्षति भयो । त्यतिबेला उनीहरुलाई सहयोग गर्ने कोही भएन । पनौती नगरपालिकाले १५ हजार सहयोग गरेभन्दा बाहेक कसैले सहयोग गरेनन् । तर मध्यमार्ग कृषि सहकारीले उनीहरुको लागि १० वटा टनेल अनुदानमा उपलब्ध गरायो । सहकारीले १७ बोरा रासायनिक मल, स्प्रे पम्प र बीउ उपलब्ध गराएको उनीहरु बताउँछन् । पछिल्लो एक वर्षयता मध्यमार्ग आफ्नो लागि बरदान सावित भएको इन्दु श्रेष्ठ बताउँछिन् ।
स्वदेशमा बेरोजगारी भएर बैदेशिक रोजगारीमा जानु हिजोआज सामान्य जस्तै भएको छ । एकातिर यो बाध्यता भएको छ भने अर्कातिर धेरैजसो युवायुवतीहरु विदेश गएपछि त पैसा रुखबाटै टिपेर ल्याउन पाइन्छ भन्ने भ्रममा छन् । तर विदेशमा भनेजस्तो काम नपाएर हण्डर खाएपछि स्वदेश फर्किएर कृषिमा रमाउनेहरु पनि भेटिएका छन् ।
कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठ उदाहरण हुन् यसको । कामको शिलशिलामा बैदेशिक रोजगारीमा गएर सोचेजस्तो कमाइ नभएपछि ७ वर्षअघि उनीहरु स्वदेश फर्किए र पनौतीमा ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा लागे । अहिले उनीहरु आफ्नै व्यवसायबाट सन्तुष्ट छन् । इन्दुले ९ वर्ष र कृष्णले ३ वर्ष गरि बिदेशमा २ जनाले कमाएको ५ लाख र थप ५ लाख साथीभाईसँग सापटी लिएर शुरु गरिएको उनीहरुको तरकारी खेतीबाट अहिले वार्षिक १० देखि १२ लाखसम्म कमाइ हुन्छ । यसबाट आफूहरु सन्तुष्ट भएको इन्दुको भनाइ छ । उत्पादन त राम्रै हुन्छ तर कुनै वर्ष तरकारीले उचित मूल्य पाउँदैन । यस वर्ष १६० वटा टनेलमा तरकारी खेती गरिरहेका उनीहरुले १३ रोपनी जग्गाको भाडा मात्र वार्षिक ३ लाख बढी तिर्नुपर्छ ।
कामकै लागि धेरैतिर दौडिएको अनुभव छ इन्दुसँग । ०७९ सालमा ८ महिनाको बच्चा छोडेर उनी चुनावमा म्यादी प्रहरीमा समेत गइन् । सोचेजस्तो पढ्न नसकेकाले अहिले काम नपाउँदा उनलाई बेलामा पढ्न पाएको भए हुनेरहेछ जस्तो लाग्छ, तैपनि आफ्नो काममा सन्तुष्ट छिन् । गर्छु भनेर आँट लिएर थाल्ने हो भने कुनै पनि काममा सफल हुन सकिने उनी बताउँछिन् । यतिबेला गोलभेंडा र करेलाले उनको कृषि व्यवसाय ढाकिएको छ । अहिले एउटा सानो गाडी किनेर आफैं चलाएर तरकारी बजार लैजान सक्छिन् इन्दु । यसका लागि गाडी चलाउन पहिले नै सिकेर चालक अनुमतिपत्र पनि बनाएको उनले बताइन् । सानो काखे बच्चालाई च्यापेर दिनभरि काममा खटिन सजिलो त छैन तर अरुको देशमा गएर काम गर्नुभन्दा आफ्नैमा जे सकेको गर्न र जे भएको खान पाइएकोमा उनी सन्तुष्ट छिन् । दैनिकरुपमा विदेशिएका हजारौं युवाहरुलाई सरकारले यस्ता कृषिकार्यमा लगाउनु पर्नेमा त्यसो हुन नसकेको इन्दुको गुनासो छ । अहिले राज्यले वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्छ, तर त्यसलाई रोक्न केही नयाँ कार्यक्रम ल्याएको छैन । कृषिप्रधान देशका किसानको हालत निकै दयनीय बन्नु दुःखद भएको उनको भनाइ छ ।
मौसम अनुसारका सबैखाले तरकारी लगाउने गरिएको उनीहरु बताउँछन् । काउली, बन्दा, बोडी, साग, करेला, गोलभेंडा, कांक्रा लगायतका तरकारी लगाउँदै आएका उनीहरुलाई अहिलेसम्म राज्यले कुनै सहयोग गरेको छैन । सरकारले दिने अनुदान नपाएपछि ऋण लिएरै काम गरिरहेको उनीहरुको भनाइ छ । यसका लागि वडा र नगरपालिकामा धाउँदा पनि पहुँच हुनेले मात्र सेवासुविधा पाएको र आफूहरुले नपाएको गुनासो गरे । सरकारले सहयोग गरे थप ४५ वटा टनेल थपेर अरु पनि तरकारी खेती गर्ने कृष्ण श्रेष्ठले बताए ।
सरकारले मल, बीउ समयमा र पर्याप्त मात्रामा दिन नसक्दा पनि किसान पीडित भइरहेको बताउँदै कृष्णले यसमा सरकारकै कमजोरी रहेको आरोप लगाए । किसानले उत्पादन गरेका तरकारी राज्यले आफैं किनेर बजारमा पठाउने व्यवस्था हुने हो भने बिचौलिया व्यापारीको शिकार किसान बन्नु नपर्ने तर त्यसो हुन नसक्दा आज वास्तविक किसान थाप्लोमा हात राखेर बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ । काम नपाएर विदेश हानिनेहरुका लागि श्रेष्ठ दम्पती उदाहरण बनेका छन् ।
आफ्नै ठाउँमा केही गरौं भन्ने सोच आयो ः कृष्ण बञ्जारा
राजधानी काठमाडौँलगायत मुख्य शहरमा गएर कुनै रोजगारी नपाएपछि पनौतीका कृष्ण बञ्जारा एकपटक त निराश नै भए । आफ्नै ठाउँमा पनि सुन फलाउन सकिन्छ भन्ने थाहा नहुँदा उनी कामकै लागि निकै भौंतारिए । अरु छिमेकीको जग्गामा तरकारी फलेको र उनीहरुले यसमै राम्रो कमाइ गरेको देखेपछि उनी पनि तरकारी खेतीमा व्यवसायिकरुपमै लागे ।
११ वर्ष भयो उनले तरकारी खेती थालेको । यतिबेला ३५ वटा टनेलमा गोलभेंडा रोपिएका छन् । उनलाई आफ्नै खेतीमा व्यस्त भएर होला अरु केही सोच्ने फुर्सद नै छैन । तरकारी खेतीका लागि धेरै अप्ठ्यारा छन् तर आफ्नो परिवार छोडेर, लाखौं खर्च गरेर अरुको देश गएर दैनिक १५ घण्टा पसिना बगाउनुभन्दा कृष्णलाई आफ्नै ठाउँमा केही गरौं भन्ने सोच आयो । त्यसपछि समस्या भएपनि उनी यसमा लागेका हुन् । अहिले उनले फलाएको तरकारी शहरका थुप्रै भान्सामा पुग्छ, यसमै कृष्ण खुशी छन् । भन्छन्, …सरकारले सहयोग गर्ने हो भने तरकारी खेतीमै भविष्य छ । मौसम अनुसारका सबैखाले तरकारी लगाउने उनले व्यवसायिक कृषिका नाममा कतैबाट सहयोग पाएका छैनन् । सरकारले सहयोग गरे अरु पनि टनेला थपेर तरकारी खेती गर्ने कृष्णको सोच छ ।
काभ्रेमा कूल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर बाँझै ः कृषि विकास कार्यालय
खेती गर्ने कामदारको अभाव, कृषिमा आएको वितृष्णा, सरकारले कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर हुनु, कृषिमा देखिएका समस्या र उत्पादित उपजको उचित मूल्य नहुनु लगायतका कारण देशमा खेतीयोग्य जमिन बाँझै रहनेक्रम बढेको छ ।
यस्तै तरकारी र धान उत्पादनका लागि पकड क्षेत्र काभ्रे जिल्लामा पनि करिब १३ हजार हेक्टर कृषियोग्य जमिन बाँझै रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले दिएको एक तथ्यांक अनुसार जिल्लामा कूल ६१ हजार ५९८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये हाल ४८ हजार ४४० हेक्टर -७८.६ प्रतिशत) मा मात्र खेती भइरहेको छ । जिल्लामा हालसम्म खेतीयोग्य जमिनमध्ये बाह्रै महिना सिंचाई हुने क्षेत्र भने जम्मा ८.०७ प्रतिशत अर्थात ३ हजार ९१० हेक्टर मात्र रहेको छ । मौसमीरुपमा सिंचाई उपलब्ध हुने क्षेत्र १२ हजार १५० हेक्टर अर्थात २५ प्रतिशत रहेको छ ।
हालसम्म जिल्लामा हुने खेतीका आधारमा विशेष पकेड क्षेत्रहरु पनि तोकिएका छन् । जसमा ताजा तरकारीका लागि मण्डनदेउपुर, पाँचखाल, धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, तेमाल र बेथानचोक रहेका छन् । यी क्षेत्रहरुमा आलु, काउली, गोलभेंडा, बोडी, करेला, च्याउ, मुला लगायतका तरकारीका साथै धान, मकै तोरी, दलहन र तेलहन बालीहरु उत्पादन भइरहेका छन् । यहाँ विशेषगरि मौसमी तथा बेमौसमी तरकारी खेती हुने गरेको कार्यालयले जनाएको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/०८० मा जिल्लामा ८५५ हेक्टर जमिनमा चैते धान खेती गरिएकोमा ३ हजार ७६२ मेट्रिक टन उत्पादन भएको थियो । वर्षे धान भने १० हजार १०८ हेक्टरमा रोपिएकोमा ३८ हजार ४१० मेट्रिक टन उत्पादन भयो । यस्तै मकै २५ हजार ६२० हेक्टरमा ८९ हजार ६७०, गहुँ ८ हजार ५५० हेक्टरमा २४ हजार ७९५ मेट्रिक टन उत्पादन भएको थियो । कोदो ३ हजार ५१० हेक्टरमा रोपिएकोमा ४ हजार ५६३ मेट्रिक टन, फापर ६०० हेक्टरमा ६५० मेट्रिक टन, जौ ३४७ हेक्टरमा ३४१ मेट्रिक टन फलेको थियो ।
तरकारीतर्फ आलु ९ हजार १६३ हेक्टरमा १ लाख ८९ हजार ७८, तेलहन बाली ४७२ हेक्टरमा ५१३ मेट्रिक टन उत्पादन भएको थियो । यसैगरि दलहन बाली १ हजार २९५ हेक्टरमा १ हजार ६६६ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । उता फलफूल अन्तर्गत पर्ने कागती ६०२ हेक्टरमा लगाइएकोमा ४ हजार ६३५ र सुन्तला १ हजार २६४ हेक्टरमा ७ हजार ६८० मेट्रिक टन उत्पादन भएको थियो । कफि २८५ हेक्टरमा ६२ मेट्रिक टन, किबी ८५ हेक्टरमा ५२७ मेट्रिक टन र अन्य तरकारीहरु १० हजार ७८५ हेक्टरमा १ लाख ८० हजार २१७ मेट्रिक टन उत्पादन भएको पनि कार्यालयले जनाएको छ ।
यसरी हेर्दा कृषिमा लाग्नेहरु घटिरहेको भए पनि उत्पादन भने सन्तोषजनक रहेको देखिन्छ । यद्यपी किसानले कुनै समस्या नझेल्ने हो र सबै खेतीयोग्य जमिनमा खेती गर्न सकिने हो भने यो उत्पादनमा निकै सुधार ल्याउन सकिने कार्यालयका प्रमुख कूलप्रसाद दवाडी बताउँछन् ।
किसानका समस्या समाधानमा प्रतिबद्ध छौं ः उपप्रमुख बञ्जारा
काभ्रेका १३ पालिका मध्ये अधिकांश जमिन कृषियोग्य रहेको पालिकामा पनौती पनि पर्छ । यहाँका धेरैजसो नागरिकको पेशा कृषि नै हो । पशुपालन, पंक्षीपालन, तरकारी खेती, परम्परागत खेतीमा यहाँका किसानहरु लागेका छन् । ५२ हजार जनसंख्या रहेको पनौतीमा व्यापार गर्नेहरु पनि केही मात्रामा छन् तर यहाँका फाँटहरु वर्षभरि नै विभिन्न बालीहरुले हरियाली देखिन्छन् । सामान्य जिविकोपार्जनका साथै व्यवसायिकरुपमा तरकारी खेती गरिरहेका किसानहरु धेरैजसोको एउटै गुनासो छ, …हामीलाई राज्यले सहयोग नै गरेन ।Ú के साँच्चै नै स्थानीयपालिकाले यहाँका किसानका लागि सहयोग नगरेको हो त ? यो प्रश्न लिएर हामी नगरपालिका उपप्रमुख गीता बञ्जारासमक्ष पुग्यौं ।
उनका अनुसार सबै किसानहरुसमक्ष राज्यको सहयोग नपुगेको हुन सक्छ तर पुग्दै नपुगेको भने होइन । यहाँका धेरैजसो जग्गाधनीले आफूले खेती गरेका नभइ जमिन भाडामा दिएका छन् । जसले गर्दा स्थानीय तहले दिने सेवासुविधा र तालिमहरु जग्गाधनीले लिन्छन्, काम गर्नेहरुले पाउँदैनन् । एउटै किसानले धेरैवटा कार्यक्रमहरुमा सहभागिता जनाउँछ तर तल्लो तहमा बसेर खेतमा काम गर्नेको हातमा सहयोग कार्यक्रम नै पुग्दैन । यो निकै ठूलो समस्या भएको उपप्रमुख बञ्जाराको भनाइ छ ।
पनौतीका किसानको अर्को समस्या भनेको विशिष्टिकृतरुपमा को किसान हो वा को होइन भन्ने छुट्याउन सकिएको छैन । एउटै किसानले व्यापार पनि गरेका छन्, त्यही मान्छे शिक्षक पनि छ । उसले उद्योगधन्दा पनि गरेको छ, केही जग्गामा खेती पनि गरेको छ । तर किसान भनेर कृषिमै आश्रित कति छन् भन्ने छुट्याउन सकिएको छैन । नगरपालिकाले अहिले किसानलाई सूचीकृत गर्ने काम गरिरहेको छ । यस्तै किसानलाई आर्थिक उत्थान गर्न धेरै कार्यक्रमहरु ल्याउन जरुरी रहेको छ ।

