ज्ञानमणि नेपाल कालोटोपी
मण्डनदेउपुर, काभ्रे । एक वर्ष अघिसम्म जंगली बुटा र झारले ढाकिएको खुल्ला जमिनमा यतिबेला रहरलाग्दो गरि तरकारी फलेका छन् । कतै सिमी, कतै काँक्रो, कतै फर्सि त कतै करेला, घिरौंला, बोडी तथा अन्य मौसमी तथा बेमौसमी तरकारी खेती । सबैका लागि उदाहरण । खेतीमा पालैपालो गोडमेल गरिरहेका महिला किसान तथा सँगै हौसला प्रदान गर्दै सहयोग गरिरहेका पुरुष किसानहरु पनि ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडानम्बर ९, अकसीवेँसीमा १७ जना महिलाहरुको एउटा समूह छ । त्यसमार्फत उनीहरुले विभिन्न श्रृजनशील कामहरु गरिरहेका छन् । गत वर्ष उनीहरुले सामुहिक तरकारी खेतीको सोच राखे र काम पनि शुरु गरे । जुन यतिबेला आम्दानीको स्रोत बनिरहेको छ । रियता भगवती गृहिणी महिला समूहले यसको शुरुवात गरेको हो । जुन यस वडामै पहिलो हो ।
१७ जना महिलाहरुको समूहको नेतृत्व गर्नुभएको छ स्थानीय रिता नेपालले । उहाँको अध्यक्षतामा समूहले विभिन्न सामाजिक कामहरुका साथै उत्पादनमुलक कामहरु पनि गरिरहेको छ । समूहकी सदस्य पवित्रा भट्टराई नेपालका अनुसार नगरपालिका र जिल्लामा दर्ता गरेर समूह संचालित छ । ०८१ सालको असारदेखि भने यहाँ सामुहिक तरकारी खेतीको शुरुवात भएको हो । त्यतिबेला गोलभेँडा, खुर्सानी, काउली, बन्दालगायतका तरकारीहरु रोपिएको थियो । पहिलो वर्षमै राम्रो उत्पादन भयो तर धेरै बचत गर्न भने सकिएन । त्यसबाट गरे हुने रहेछ भन्ने लागेकाले पुनः महिलाहरु सक्रिय भए । समूहमा काम गर्दा धेरै मिहेनत पनि नपर्ने र काम गर्न पनि रमाइलो हुने किसानहरुको अनुभव छ ।
अहिले दोस्रो लटमा गत पुसमा बेर्ना तयार पारेर रोपिएको तरकारीले उत्पादन दिन थालेको छ । केही दिनमै बजार लैजानका लागि तयार हुन्छ । तर यो वर्ष किसानले बेच्ने तरकारीको भाउ नै छैन । त्यसले भने उनीहरुलाई चिन्ता थपेको छ । भाउ पाए त राम्रै आम्दानी हुने रहेछ । स्थानीय किसान चण्डीका नेपाल भन्नुहुन्छ, हामीले उत्पादन गरेका तरकारीहरु नगरपालिकाले बजारिकरण गरिदिने हो भने थप जाँगर बढ्थ्यो । अझ धेरै किसानहरुलाई समेट्न सकिन्थ्यो ।
जग्गा सामुदायिक भएकाले भाडा तिर्नु पनि पर्दैन । मल, बीउ, विषादी भने खरिद गर्नुपर्छ । गोडमेलका लागि पालैपालो काम गरिन्छ । सिंचाईको पनि समस्या छैन । उत्पादन भएका तरकारीबाट आएको आम्दानी समूहमै रहन्छ । खर्च कटाएर बचत भएको रकम समूहकै निर्णयमा सामुदायिक काममा खर्च गरिन्छ । कसैलाई आवश्यक परेमा निश्चित प्रतिशत ब्याजमा लगानी पनि हुन्छ । यो नगरपालिकाका अरु वडाका किसानका लागि पनि उदाहरण भएको यहाँका महिला किसानहरुको भनाइ छ ।
गत वर्ष यहाँ फूलखेती पनि गरिएको थियो । दशैं, तिहारका लागि चाहिने फूलको उत्पादन पनि राम्रो भयो । आम्दानी पनि राम्रो भयो । गाउँबाटै फूल बिक्री भएपछि आउने वर्षका लागि पनि फेरि फूल रोप्ने तयारीमा छन् उनीहरु । यो सबै कामका लागि नगरपालिकाले १५ दिने तालिम दिएको थियो । त्यतिबेला बीउपूँजीका रुपमा नगरपालिका र प्रदेश सरकारले आर्थिक सहयोग गरेको थियो । यसलाई निरन्तरता दिने सोचमा रहेका महिलाहरुको समूहका लागि अबको केही समयपछि आफ्नै भवन निर्माण हुने भएको छ । यसमा नगरपालिकाले ६० प्रतिशत र किसानहरुले ४० प्रतिशत लगानी गर्ने गरि सम्झौता भएको स्थानीय समाजसेवी लिला नेपालले जानकारी दिनुभयो । यसले समूहका लागि धेरै सहयोग पुग्ने उहाँको विश्वास छ ।
घरको काम गरेर र आफ्नो काम सकेर बचेको समय समूहका लागि दिने गरेको किसानहरु बताउँछन् । यो थप आम्दानीको स्रोत भएको छ । उनीहरुको मिहेनत देख्दा त्यहाँ पुग्नेहरु रमाउँछन् र यस्तै काम आफ्नो ठाउँमा पनि शुरु गर्ने भन्दै फर्कन्छन् । महिला किसानहरु भन्छन्, …स्वदेशमै थुप्रै कामका लागि अवसर छन् । काम गर्ने जाँगर चलाउने हो भने रोजगारीका लागि बिदेशीनु नै पर्दैन ।
