विश्व उलक
खोपासी, काभ्रेपलाञ्चोक

नेपालका विभिन्न सहर तथा बस्तीहरू आफ्ना विशिष्ट जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाका कारण परिचित छन् । यिनैमध्ये काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक नगर पनौतीले विशेष महत्व बोकेको छ । नेपालको पहिलो सांस्कृतिक नगरीका रूपमा परिचित पनौतीमा प्रत्येक वर्ष मनाइने एउटा अद्वितीय जात्राले स्थानीय संस्कृति, धार्मिक आस्था र जीवन दर्शनलाई जीवन्त बनाइरहेको छ । यस जात्राको मुख्य आकर्षण उन्मत्त भैरव र भद्रकालीबीच हुने प्रतीकात्मक समागम तथा इन्द्रेश्वर महादेवद्वारा छुट्याउने प्रक्रिया हो । स्थानीय जनविश्वास अनुसार यो दृश्य केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृतिको सृष्टि, संरक्षण र सन्तुलनको शाश्वत नियमलाई प्रतिविम्बित गर्ने सांस्कृतिक अभिव्यक्ति हो । मिलन र विछोडको यो प्रतीकात्मक प्रस्तुतीकरणले जीवन र प्रकृतिको निरन्तर चक्रलाई स्मरण गराउँछ ।

विशेष कुरा के छ भने नेपालको अन्य धेरै जात्राहरू जस्तै यो पर्व कुनै देवदेवी, राजा वा ऐतिहासिक व्यक्तित्वको नामबाट परिचित छैन । यही कारणले पनौतीवासीहरूले यसलाई परम्परागत रूपमा केवल पनौतीको जात्रा भनेर चिन्ने र सम्बोधन गर्ने गरेका छन् । नामभन्दा पर रहेर पनि शताब्दीयौँदेखि निरन्तर जीवित रहेको यो जात्रा पनौतीको मौलिक सांस्कृतिक पहिचान, सामुदायिक एकता तथा अमूर्त सांस्कृतिक सम्पदाको अनुपम उदाहरणका रूपमा स्थापित छ ।

यो जात्रा जेष्ठ शुक्ल पूर्णिमाका दिन मनाइन्छ, जुन वर्षको सबैभन्दा लामो दिनका रूपमा परिचित छ । कृषि प्रधान नेपाली समाजमा यस दिनलाई खेतीपातीका कामकाजसँग पनि जोडेर हेरिन्छ । दिन लामो हुने भएकाले खेतबारीमा बढी समय श्रम गर्न सकिने विश्वास र व्यवहारका कारण यस दिनलाई श्रम तथा कर्मसँग सम्बन्धित पर्वका रूपमा लिइएको हुन सक्छ । नेपाल भाषामा ूज्याःू को अर्थ काम वा श्रम र ूपुन्हिू को अर्थ पूर्णिमा भएकाले ूज्याः पुन्हिू नामको उत्पत्ति पनि यही सन्दर्भसँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ ।

समयक्रमसँगै स्थानीय बासिन्दाहरूले यस जात्रालाई ूज्याः पुन्हि जात्राू भनेर सम्बोधन गर्न थालेका छन् । यद्यपि यसको मूल पहिचान पनौतीको सामुदायिक तथा सांस्कृतिक जीवनसँग गासिएको एउटा विशिष्ट जात्राका रूपमा नै रहँदै आएको छ । नामभन्दा बढी यसको सांस्कृतिक महत्व, धार्मिक प्रतीकात्मकता र समुदायलाई एकताबद्ध गर्ने भूमिकाले नै यस पर्वलाई पनौतीको अमल््य सम्पदाका रूपमा स्थापित गरेको छ । यो जात्रा कहिलेदेखि र कसरी सुरु भयो भन्ने विषयमा हालसम्म कुनै प्रमाणिक अभिलेख वा ऐतिहासिक दस्तावेज प्राप्त भएको छैन । तथापि, पनौतीको सांस्कृतिक इतिहास र त्यहाँ विकसित भएका विभिन्न जात्रा–पर्वहरूको अध्ययन गर्दा केही रोचक सम्भावनाहरू देखिन्छन् । के यो जात्रा संस्कृतिका संरक्षक तथा पनौतीको सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान दिएका महासामन्त जयरामसिंह बर्धनको पालामा चौध्रौं शताद्वि देखी सुरु भएको हुन सक्छ? यही प्रश्नले अनुसन्धानको नयाँ ढोका खोल्छ । किंवदन्ती तथा स्थानीय परम्पराअनुसार जयरामसिंह बर्धनले खोपासीका आदिवासी पहरी समुदायको सहयोगमा तल्लाकार (नेपाली पेगोडा शैली) को शहरको निर्माण तथा विभिन्न सांस्कृतिक गतिविधिमार्फत पनौतीलाई एउटा विशिष्ट सांस्कृतिक केन्द्रका रूपमा विकास गरेका थिए । यही योगदानका आधारमा पनौतीलाई नेपालको पहिलो सांस्कृतिक नगरीका रूपमा चिन्ने गरिन्छ ।

खोपासीमा मकैको ढोडबाट खट निर्माण गरी भिमसेन जात्राको परम्परा चलाइएझैँ, समाजलाई सक्रिय, एकताबद्ध र मनोरञ्जनमय बनाउँदै सृष्टि, प्रकृति र जीवनचक्रसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले पनौती जात्राको सुरुवात पनि कुनै सांस्कृतिक वा सामाजिक प्रक्रियाबाट गरिएको हुन सक्छ । उन्मत्त भैरव र भद्रकालीको प्रतीकात्मक समागम तथा इन्द्रेश्वरबाट छुट्याइने नाटकीय प्रस्तुतीकरणले पनि केवल धार्मिक आस्था मात्र नभई सृष्टि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई अभिव्यक्त गर्ने प्रयास गरेको देखिन्छ । यद्यपि यी विषयहरू हालसम्म अनुमान र परम्परागत जनश्रुतिमै सीमित छन् । त्यसैले पनौती जात्राको वास्तविक उत्पत्ति, यसको विकासक्रम तथा यससँग सम्बन्धित ऐतिहासिक पात्रहरूको भूमिकाबारे थप अनुसन्धान, अभिलेखीय अध्ययन र मौखिक इतिहासको संकलन आवश्यक देखिन्छ । पनौतीको यो अद्वितीय सांस्कृतिक सम्पदा भविष्यका अनुसन्धानकर्ताहरूका लागि अझै पनि एउटा रोचक खोजको विषय बनेर रहेको छ ।

यसबारे एउटा रोचक सम्भावना प्रस्तुत गर्दछु । विश्वका अधिकांश जात्रा, पर्व तथा सांस्कृतिक परम्पराहरू कुनै न कुनै ऐतिहासिक घटना, किंवदन्ती, धार्मिक आख्यान वा वंशावलीसँग सम्बन्धित हुन्छन । समयक्रममा ती परम्पराहरू समाजको आवश्यकता र चेतनाअनुसार परिमार्जित हुँदै निरन्तरता पाइरहेका हुन्छ । यही दृष्टिकोणबाट हेर्दा पनौतीको जात्राको मूल प्रेरणा कतै स्वस्थानी कथासंग जोडीएको त छैन ? स्वस्थानी व्रतकथाअनुसार हालको टोखा क्षेत्रमा अवस्थित दक्ष प्रजापतिको यज्ञ ध्वस्त पार्न देवताहरूले शक्तिरूपा भद्रकालीको सृष्टि गरेका थिए । भद्रकालीले यज्ञ विनाशको कार्य सम्पन्न गरेपछि पृथ्वीलोकमा रहेका दैत्य–दानवहरूको संहार गर्न थालिन्। तर शक्ति र क्रोधको प्रभाव बढ्दै जाँदा उनी असन्तुलित भई मानवजातिप्रति समेत आक्रामक बन्न पुगेको वर्णन पाइन्छ । हिन्दू परम्परामा भद्रकालीलाई सतीदेवी वा पार्वतीकै उग्र शक्तिरूपका रूपमा पनि व्याख्या गरिन्छ । भद्रकालीको यो उग्र रूपले सृष्टिको सन्तुलनमा खतरा उत्पन्न हुन थालेपछि देवताहरू सृष्टिका संरक्षक महादेवको शरणमा पुगे । महादेव स्वयं भद्रकालीसमक्ष उपस्थित भए, तर उनको क्रोध शान्त हुन सकेन । अन्ततः महादेवले एउटा उपाय अपनाए । भद्रकाली हिँड्ने बाटोमै उनी उत्तानो परेर सुते । आफ्नो उग्र गतिमा अघि बढिरहेकी भद्रकालीले बाटोमा सुतेका महादेवलाई नदेखी उनको छातीमाथि पाइला टेक्दा कुनै जीवमाथि कुल्चिएको अनुभूति भएपछि तल हेर्दा उनले स्वयं महादेवलाई कुल्चेको देखिन । त्यस क्षण उनको क्रोध शान्त भयो, चेतना जागृत भयो र लज्जाबोधले उनले जिब्रो टोक्दै महादेवसँग क्षमा याचना गरिन । तर उनमा जैविक उर्जा भने कम भएको थिएन उन्मत्त भएर हिडदै थिइन ।

यो प्रसंग केवल धार्मिक कथा मात्र नभई उग्र शक्ति र संयम, विनाश र संरक्षण तथा असन्तुलन र सन्तुलनबीचको गहिरो दार्शनिक सन्देश बोकेको आख्यान हो । पनौती जात्रामा देखाइने भद्रकाली, उन्मत्त भैरव र इन्द्रेश्वरबीचको प्रतीकात्मक समागम तथा नियन्त्रणको दृश्यलाई हेर्दा, कतै यसले यस्तै कुनै प्राचीन धार्मिक आख्यानलाई स्थानीय सांस्कृतिक रूपान्तरणमार्फत जीवित राखेको त होइन भन्ने जिज्ञासा उत्पन्न हुन्छ । यद्यपि यस सम्बन्धमा ठोस ऐतिहासिक प्रमाण उपलब्ध नभएकाले यो विषय थप अध्ययन, अनुसन्धान र विमर्शको अपेक्षामा रहेको एक रोचक सम्भावना मात्र हो ।

पनौतीमा प्रचलित किंवदन्तिअनुसार दैत्यहरूको अत्याचारबाट पृथ्वी र देवगण पीडित बनेपछि माता पार्वतीको शक्तिलाई विभिन्न देवीहरूको शक्तिसँग एकीकृत गरी महाशक्ति भद्रकालीको उत्पत्ती गरिएको थियो । भद्रकालीले आफ्नो अद्वितीय शक्ति, साहस र पराक्रमद्वारा अत्याचारी दैत्यहरूलाई परास्त गरी धर्म र न्यायको स्थापना गरिन । तर विजय पश्चात उनको शक्ति यति उग्र र अनियन्त्रित बन्यो कि त्यसले सृष्टिको सन्तुलनमै चुनौती उत्पन्न गर्न थाल्यो । देवगण चिन्तित भई देवाधिदेव महादेवको शरणमा पुगे । महादेवले अन्तरदृष्टिबाट हेर्दा भद्रकालीको उग्रता केवल क्रोधको परिणाम नभई प्रकृतिमा विद्यमान सृजनात्मक र जीवनदायी शक्तिको असन्तुलित अभिव्यक्ति भएको अनुभूति गरे । यस शक्तिलाई सन्तुलन र मर्यादाभित्र ल्याउन महादेवले शारिरीक संसर्गको आवश्यकता देखे । उनको प्रयासबाट भद्रकाली अझ असन्तुलित भइन । भद्रकालीले महादेवलाई लखेटे । कथाअनुसार महादेव भागेर त्रिवेणी क्षेत्रमा पुगेर नागराज वासुकीको सहयोग प्राप्त गरी एक विशेष शक्तिशाली स्वरूप—उन्मत्त भैरव—का रूपमा प्रकट भए । त्यसपछि उनले भद्रकालीको खोजी गर्दै हालको पनौतीस्थित लायकु दरबार अगाडिको दवलीमा भेट गर े। त्यहाँ उन्मत्त भैरव र भद्रकालीबीच भएको समागमलाई स्थानीय परम्पराले केवल देवी–देवताको मिलनका रूपमा मात्र नभई प्रकृतिका दुई शक्तिशाली ऊर्जा—शक्ति र शिव, सृष्टि र संरक्षण, स्त्री र पुरुष तत्व—बीचको सन्तुलनको प्रतीकका रूपमा व्याख्या गरेको पाइन्छ । किंवदन्तिअनुसार भैरव र भद्रकालीको मिलनलाई अन्ततः इन्द्रेश्वर महादेवले मर्यादा र सन्तुलनको सीमाभित्र ल्याएका थिए । यस घटनालाई सृष्टिको निरन्तरता, सामाजिक अनुशासन तथा प्राकृतिक सन्तुलनको प्रतीकात्मक सन्देशका रूपमा पनि हेरिन्छ ।

यसैसँग सम्बन्धित अर्को जनश्रुति पनि पनौतीमा प्रचलित छ । उक्त कथाअनुसार उग्रचण्डी (हालको नाला भगवती) उन्मत्त भैरवप्रति आकर्षित भएकी थिइन र भैरव बेला–बेलामा नाला जाने गर्दथे । यस कारण पनौतीका बासिन्दाहरूले आफ्नो नगरका संरक्षक देवता भैरव कतै स्थायी रूपमा पनौती छोडेर नजाऊन भन्ने चिन्ताले तान्त्रिक विधिबाट उनलाई पनौतीमै बाँधेर राखेको विश्वास गरिन्छ । यही जनविश्वासका आधारमा उन्मत्त भैरवको मूर्तिमा खुट्टामा सिक्री लगाइएको परम्परा विकसित भएको बताइन्छ । यद्यपि यी कथाहरू ऐतिहासिक प्रमाणभन्दा बढी स्थानीय जनश्रुति र सांस्कृतिक स्मृतिमा आधारित छ । तर यिनले पनौतीको सांस्कृतिक चेतना, धार्मिक विश्वास तथा जीवनदर्शनलाई बुझ्न महत्वपूर्ण आधार प्रदान गर्छ । यही कारण उन्मत्त भैरव र भद्रकालीसँग सम्बन्धित यी किंवदन्तिहरू आज पनि पनौतीको ज्याः पुन्हि जात्राको सांस्कृतिक रहस्य र आकर्षणका रूपमा जीवित छ ।

समुन्द्र मन्थन पश्चात निलकण्ठ संग आएका धनन्जय बासुकी नाग पनौतीको त्रिवेणीमा नै बिराजमान भए । काठमाण्डौमा अनाबृष्टि भएको कारण सातौ शताद्विमा लिच्छवी राजा नरेन्द्र देवेले कामारु कामाच्छ्याबाट मच्छेन्द्र नाथ ल्याउने क्रममा पाटनका ज्यापुसंग दोस्ती बढेर बासुकी पाटन बस्न पुगे । यद्यपि, बासुकी नाग पनौतीको हरेक ज्या पुन्ही जात्रामा भाग लिन आउने गर्दछ । आज पनि, एउटा किंवदन्ती र बास्तविकता छ कि वार्षिक जात्राको चार दिन अघि पनौतीमा आँधीबेहरी र वर्षा सहित नाग आउँछन, र जात्राको समाप्तिको चार दिनपछि, आँधीबेहरी र वर्षा सहित नाग फर्कन्छ । यो केवल एक किंवदन्ती मात्र होइन, आज पनि यो प्रकृया चालुछ, चाडको चार दिन अघि आँधीबेहरी र वर्षा आउँछ र चार दिन पछि जान्छ ।

वासुकी नागको बारेमा अर्काे पनि रोचक कथा छ । एकबर्ष ज्या पुनी जात्रामा खोला बाढी आएर स्थानीयहरू सुमेरु पहाडको फेदमा रहेको ब्रम्हयानी मन्दिरमा अनुष्ठान गर्न पद्मावती नदी पार गर्न असमर्थ भए । दिनभरि छलफल भयो, तर कसैले पनि नदी पार गर्ने आँट गरेनन् अन्ततः, मध्यरातमा, राजा तथा स्थानीय तान्त्रिक वासुकी नागको शरणमा पुगे । राजा र प्रजाको प्रार्थनालाई स्विकार्दै बासुकी नाग खोला तर्नको लागी पुल बनिदिए । मानिसहरू सुरुमा सर्पको ढाडमा हिंड्न डराए, अन्ततः, दुईजातका एक महिलाले हिडेर जाने हिम्मत देखाइन । उनले सर्पको आङमा उभिएरै पुजाथाली बोकेर आफ्नो खुट्टाका औंलाको सहायताले घिस्रदै नदी पारगरि ब्रम्हायणीमा पुजा सम्पत्र गरिन । अहिले नाग त छैनन् तर हाल बनिसके पुलमा पनि नागको आङ माथी घस्रीएर हिदेजस्तै दुईचा थरका महिला पुजारी हिडेर पुजागर्न जाने चलनछ । जसलाई अहिले आएर दुईचा ङाएकेगु भनिन्छ ।

पहिले–पहिले पनौतीको यो जात्रा बिहानै अँध्यारो वा झिसमिसे उज्यालोमै सम्पन्न गर्ने परम्परा रहेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् । समयक्रमसँगै जात्राको स्वरूप र समय व्यवस्थापनमा परिवर्तन आए पनि यसको प्रारम्भिक अभ्यासबारे विभिन्न जनश्रुतिहरू आज पनि सुनिने गरिन्छ ।

यस सम्बन्धमा स्थानीय समाजमा विशेष गरी दुईवटा व्याख्या प्रचलित छन्। पहिलो व्याख्या कृषि जीवनसँग सम्बन्धित छ । ज्याः पुन्हि जेष्ठ पूर्णिमाका दिन मनाइने भएकाले यो समय धान रोपाइँको तयारी तथा खेतीपातीको अत्यन्त व्यस्त मौसम मानिन्थ्यो । वर्षको सबैभन्दा लामो दिन भएकाले खेतबारीमा बढी समय काम गर्न सकिने अवसर पनि यही समयमा प्राप्त हुन्थ्यो । त्यसैले नगरबासीेहरू जात्राको धार्मिक तथा सांस्कृतिक दायित्व सकेर सकेसम्म छिटो खेतबारीतर्फ लाग्न चाहन्थे । यही कारण जात्रा बिहानै झिसमिसेमै सम्पन्न गर्ने चलन बसेको हुन सक्ने स्थानीय अनुमान छ । कृषिलाई जीवनको आधार मानिने त्यतिबेलाको समाजमा खेतीपातीलाई यति महत्व दिएर मरेको लासलाई केहि समय घुमले छोपेर खेतीको कामलाई निरन्तरता दिने प्रचलन रहेको बताइन्छ ।

दोस्रो व्याख्या जात्रामा प्रस्तुत हुने प्रतीकात्मक दृश्य र त्यसको सांस्कृतिक अर्थसँग सम्बन्धित छ । उन्मत्त भैरव र भद्रकालीको समागमलाई सृष्टि, प्रजनन शक्ति र प्रकृतिको निरन्तरताको प्रतीकका रूपमा प्रस्तुत गरिने भएकाले यससँग जोडिएका केही अनुष्ठान तथा सांकेतिक गतिविधिहरूलाई सार्वजनिक रूपमा धेरै खुला रूपमा प्रदर्शन नगर्ने सामाजिक मान्यता रहेको बताइन्छ । विशेष गरी महिलाहरू र बालबालिकाहरूको उपस्थितिमा यस्ता प्रतीकात्मक दृश्यहरू नदेखाइयोस भन्ने सोचका कारण जात्रा उज्यालो हुनुअघि नै सम्पन्न गर्ने चलन विकसित भएको हुन सक्ने जनविश्वास पनि पाइन्छ ।

समयको परिवर्तनसँगै पनौतीको ज्याः पुन्हि जात्राको सञ्चालन विधिमा पनि केही परिमार्जन गरिएको छ । विगत केही वर्षदेखि स्थानीय सांस्कृतिक अभियन्ता, गुठी तथा समुदायका अगुवाहरूले जात्रालाई अझ समावेशी र सबैका लागि अवलोकनयोग्य बनाउने उद्देश्यले यसको समय व्यवस्थापनमा परिवर्तन गरेका छन् । परम्परागत रूपमा झिसमिसे वा बिहान सबेरै सम्पन्न गरिने जात्रा अहिले प्रायः बिहान ९–१० बजेतिर सुरु गरिन्छ । यसबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, साथै देशका विभिन्न क्षेत्रबाट आउने भक्तजन, तीर्थयात्री तथा पर्यटकहरूले पनि सहज रूपमा जात्रामा सहभागी हुन र यसको सांस्कृतिक महत्व अवलोकन गर्न सक्ने वातावरण बनेको छ ।

जात्राको मुख्य आकर्षण उन्मत्त भैरव र भद्रकालीका रथबीच हुने प्रतीकात्मक समागम हो । परम्पराअनुसार दुवै रथलाई तीन पटक आमनेसामने गराई समागमको सांकेतिक दृश्य प्रस्तुत गरिन्छ । समागमको क्षणमा दुवै रथबाट एक–अर्कातर्फ लक्षित गर्दै स्वास्थ्यलाई हानि नपुग्ने हलुका अबिर आकाशतर्फ छर्किने गरिन्छ । अबिरको धुवाँले वातावरणलाई रहस्यमय बनाउनुका साथै समागमको दृश्यलाई प्रतीकात्मक र मर्यादित रूपमा प्रस्तुत गर्दछ । यसले जात्राको मूल भावनालाई कायम राख्दै सांस्कृतिक अभिव्यक्तिलाई कलात्मक रूप प्रदान गरेको देखिन्छ ।

प्रत्येक समागमपछि इन्द्रेश्वर महादेवले दुवैलाई छुट्याउने भूमिका निर्वाह गर्ने परम्परा रहेको छ । स्थानीय विश्वासअनुसार इन्द्रेश्वरको यो भूमिका सृष्टि र शक्तिबीचको सन्तुलन, मर्यादा तथा सामाजिक अनुशासनको प्रतीक हो । तीन पटकको समागम सम्पन्न भएपछि भद्रकालीको रथ केही दूरीसम्म अगाडि बढ्ने वा भाग्ने प्रतीकात्मक दृश्य प्रस्तुत गरिन्छ भने उन्मत्त भैरवको रथले त्यसको पछिपछि लखेट्ने गर्दछ । यो दृश्यले जात्रालाई थप जीवन्त, रोचक र नाटकीय बनाउनुका साथै पनौतीमा पुस्तौँदेखि जीवित रहेको किंवदन्तीलाई प्रत्यक्ष रूपमा अभिव्यक्त गर्दछ । यसरी ज्याः पुन्हि जात्रा केवल धार्मिक आस्था वा मनोरञ्जनको माध्यम मात्र नभई पनौतीको सांस्कृतिक स्मृति, लोकविश्वास, सृष्टिदर्शन र सामुदायिक पहिचानलाई पुस्तौँदेखि जीवन्त राख्ने एक महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा आज पनि निरन्तर अगाडि बढिरहेको छ ।

यी व्याख्याहरू स्थानीय जनश्रुति, किंवदन्ती तथा सांस्कृतिक स्मृतिमा आधारित छन् । यिनलाई पुष्टि गर्ने ठोस लिखित ऐतिहासिक प्रमाण हालसम्म उपलब्ध नभए पनि पनौतीको कृषि जीवन, सामाजिक मूल्य, धार्मिक विश्वास र सांस्कृतिक चेतनालाई बुझ्न यस्ता जनविश्वासहरू महत्वपूर्ण स्रोतका रूपमा रहेका छन । यिनले कुनै समुदायले आफ्नो इतिहास, जीवनदर्शन र सांस्कृतिक पहिचानलाई कसरी पुस्तान्तरण गर्दै आएको छ भन्ने कुरा उजागर गर्छ । यस अमूर्त सांस्कृतिक सम्पदालाई थप जीवन्त, आकर्षक र दीर्घकालीन बनाउन विभिन्न व्यक्तित्व तथा समुदायको योगदान पनि उल्लेखनीय रहेको छ । विशेषतः पाटन निवासी दानवीर रबि बहादुर शाक्य उर्पm टम उण्ड जेरीज्यूले पनौतीलाई प्रदान गर्नुभएको उन्मत्त भैरवको अनुपम मूर्तिले यस जात्राको गरिमा र सांस्कृतिक महत्वलाई अझ उचाइमा र्पुयाएको छ । उहाँको यो योगदान केवल धार्मिक श्रद्धाको अभिव्यक्ति मात्र नभई पनौतीको सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र निरन्तरताप्रतिको अनुपम समर्पणका रूपमा स्मरणीय रहनेछ । यस कार्यबाट उहाँले पनौतीवासी तथा पनौतीको सांस्कृतिक जीवनप्रति अविस्मरणीय गुण लगाउनुभएको छ ।

यसरी पनौतीको ज्याः पुन्हि जात्रालाई केवल धार्मिक अनुष्ठान वा परम्परागत उत्सवका रूपमा मात्र हेर्न सकिँदैन । यसले कृषि संस्कृतिको महत्व, सामुदायिक सहकार्यको भावना, सामाजिक मर्यादाको अभ्यास, प्रकृति र सृष्टिको चक्रप्रतिको दार्शनिक दृष्टिकोण तथा स्थानीय पहिचानको संरक्षणलाई एकैसाथ समेटेको छ । यही बहुआयामिक विशेषताका कारण ज्याः पुन्हि जात्रा पनौतीको सांस्कृतिक आत्मा र जीवित सम्पदाका रूपमा आज पनि निरन्तर अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *