विश्व उलक, पनौती, खोपासी, काभ्रेपलाञ्चोक
विश्व प्रचलनमा स्थानीय सरकारको सीमा निर्धारणमा प्रभावकारी प्रशासन, सेवा वितरण, सामाजिक सद्भाव र सन्तुलित विकास सुनिश्चित गर्न प्राकृतिक विशेषताहरू, जनसंख्या वितरण, सांस्कृतिक पहिचान, आर्थिक सम्बन्ध, पहुँच, स्रोत व्यवस्थापन र सरकारी कानूनहरू आधार मानिन्छ ।
नेपालको सन्दर्भमा, किरात, लिच्छवी, मल्ल तथा शाहकालीन अवधिमा भौगोलिक क्षेत्र निर्धारण आधुनिक नक्सा वा समन्वय प्रणालीका आधारमा नभई प्राकृतिक स्वरूप, धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा प्रशासनिक संरचनाका आधारमा गरिन्थ्यो । वि.सं. २०४६ को राजनीतिक परिवर्तन तथा वि.सं. २०७२ को संविधान कार्यान्वयनसँगै स्थानीय सरकारहरूको सीमा निर्धारण पश्चात, पछिल्ला वर्षहरूमा पूर्वाधार विकास र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ । सडक, सञ्चार, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको पहुँच विस्तारसँगै जनजीवन सहज बन्दै गएको छ । तर अर्काेतर्फ प्राकृतिक स्रोत–साधनको अव्यवस्थित दोहन, वन विनाश, नदीजन्य पदार्थको अत्यधिक उत्खनन तथा वातावरणीय असन्तुलनका कारण जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा अनुभूत हुन थालेको छ ।
यस परिस्थितिमा भविष्यमा हुने सीमा निर्धारण तथा प्रशासनिक पुनरसंरचनाले केवल राजनीतिक स्वार्थभन्दा माथि उठेर मानव हित, सांस्कृतिक सभ्यता, प्राकृतिक संरक्षण र दिगो विकासलाई केन्द्रमा राख्न आवश्यक छ । स्थानीय तहहरूको संरचना यस्तो हुनुपर्छ जसले दीर्घकालीन सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, जलवायु मैत्री विकासलाई प्रवद्र्धन गर्ने तथा भावी पुस्ताका लागि सुरक्षित र समृद्ध समाज निर्माण गर्ने आधार तयार गरास । यही सोच र दूरदृष्टिले मात्र समुन्नत, समावेशी र वातावरणमैत्री भविष्य निर्माण सम्भव हुनेछ ।
नेपाल सरकारद्वारा स्थानीय तहहरूको प्रशासनिक सीमाको पुनर्संरचना प्रक्रिया अघि बढिरहेको वर्तमान सन्दर्भमा, रोशी उपत्यकामा बढ्दो प्राकृतिक स्रोत दोहन, जलवायु प्रभाव तथा विकसित सेवा प्रवाहलाई दिगो र जलवायु मैत्री बनाउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको रोशी उपत्यकालाई एकीकृत गुरु आयोजनाको आधार मानी “भृकुटी महानगर” स्थापना गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ । यस अवधारणाले मानव हित, सांस्कृतिक पहिचान, प्राकृतिक संरक्षण र दीर्घकालीन समृद्धिलाई केन्द्रमा राखेको छ ।
यो अवधारणा केवल प्रशासनिक संरचनाको पुनर्संगठनमा सीमित नभई दीर्घकालीन विकास दृष्टिकोणमा आधारित एक समग्र रणनीति हो, जसले जलवायु अनुकूलन, दिगो विकास, सन्तुलित शहरीकरण तथा आर्थिक आत्मनिर्भरतालाई मुख्य लक्ष्यका रूपमा लिन्छ । प्रस्तावित महानगरले बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध, चाँगुनारायणका केही क्षेत्रहरू तथा बेथानचोक गाउँपालिकाका उपयुक्त भू–भागहरूलाई समेट्दै काठमाडौँ उपत्यकाको अत्यधिक जनसंख्या चापलाई व्यवस्थापन गर्ने वैकल्पिक, योजनाबद्ध र पूर्वाधारयुक्त शहरी केन्द्रको रूपमा विकास हुने सम्भावना बोकेको छ । यसले राजधानी केन्द्रित बसाइँसराइको दबाबलाई कम गर्दै क्षेत्रीय सन्तुलित विकासलाई प्रवद्र्धन गर्ने मात्र होइन, उद्योग, सेवा, पर्यटन तथा कृषि–आधारित अर्थतन्त्रलाई समेत एकीकृत रूपमा अघि बढाउने अवसर प्रदान गर्दछ । यस प्रस्तावलाई प्रारम्भिक रूपमा सम्भाव्यता अध्ययन, विस्तृत अनुसन्धानको लागी केही बुँदाहरु प्रस्तुत गर्दछु ।
१. जलवायु अनुकूलन र दिगो सिमाङ्कन – जलवायु परिवर्तनका बढ्दो प्रभावका कारण मानव बस्तीको दिगोपना, सुरक्षा र व्यवस्थित विकास सुनिश्चित गर्न प्रशासनिक सीमांकनलाई समयसापेक्ष रूपमा रोसी उपत्यका भित्रपर्ने भौगोलिक धरातललाई पुनःपरिभाषित गर्नु आवश्यक भएको छ । परम्परागत सीमांकनले प्राकृतिक जलाधार, नदी प्रणाली, भूगोल तथा वातावरणीय संवेदनशीलतालाई पर्याप्त रूपमा समेट्न नसक्दा बाढी, पहिरो, डुबान, नदी कटान, जल संकट र अव्यवस्थित शहरीकरणजस्ता समस्या जटिल बन्दै गएका छन् । त्यसैले जलाधार क्षेत्र, भू–उपयोग, जैविक विविधता, जनघनत्व तथा जलवायु जोखिमलाई आधार मानी वैज्ञानिक, वातावरणमैत्री र समावेशी ढंगले सीमांकन पुनःनिर्धारण गर्न आवश्यक छ । यस्तो दृष्टिकोणले विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोत संरक्षण, दिगो पूर्वाधार विकास, समन्वित योजना निर्माण तथा साझा स्रोतको जिम्मेवार व्यवस्थापनमार्फत सुरक्षित, सहनशील र समृद्ध मानव भविष्य निर्माण गर्न सहयोग र्पुयाउँछ । रोसी उपत्यकाको सन्दर्भमा रोरी नदीको पानी ढलो भित्र पर्ने बेथानचोक गाउँपालिकाको पार्थली उत्तरभाग (पाटीखर्क आदी), नमो बुद्घ नगरपालिकाको हिरण्य गन्धमान पर्वत (मनमाया सामुदायीक वन) को पश्चिम भाग र चाँगुनारायण नगरपालिकाको रत्नचुडेश्वर पर्वत (नगरकोट) को पूर्व पाखोलाई भू–भागलाई एउटै सीमामा समेटनु उपयुक्त हुनेछ । यस्ले, माथिल्लो र तल्लो तटीय क्षेत्रका बासिन्दाबीच साझा अपनत्व, सहकार्य र जवाफदेहिताको भावना विकास गरी “साझा स्रोत, साझा जिम्मेवारी र साझा भविष्य” भन्ने अवधारणालाई व्यवहारमा उतार्न सकिन्छ ।
२. लाभांशको हिस्सेदारी र दिगो स्रोत व्यवस्थापन – रोशी उपत्यकाको स्थानीय सरकारको प्रशासनिक सीमा पुनःपरिभाषित गरी प्राकृतिक स्रोतसाधनको स्पष्ट स्वामित्व, उत्तरदायित्व र न्यायोचित वितरण सुनिश्चित गर्नु आवश्यक छ । यस्तो अर्थपूर्ण सीमांकन प्रणालीले जलस्रोत, वन, ढुंगा खानी लगायतका स्रोतबाट प्राप्त लाभलाई पारदर्शी रूपमा सबै नागरिकसम्म पु¥्याउँदै विकाससँगै अपनत्व र उत्तरदायित्वलाई संस्थागत बनाउँछ । जसले दिगो र सुरक्षित वैकल्पिक आर्थिक मोडेलको आवश्यकता देखाउँछ । यस सन्दर्भमा वन व्यवस्थापनलाई जलभण्डारणमैत्री बनाउँदै सल्ला–प्रधान वनलाई स्थानीय प्रजातिले प्रतिस्थापन गर्नु र पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्नु आवश्यक छ । साथै, लडकु घाटीमा सार्वजनिक–निजी साझेदारी ९एएए० प्रणालीमा बहुउद्देश्यिय जलविद्युत आयोजना सञ्चालन गरी स्थानिय सरकारको सीमा अर्थात प्रस्तवित भृकुटी महानगरपालिका भित्रका प्रत्येक घरधुरीलाई सेयरधनी बनाउँदा लाभसँगै उपत्यकाको प्राकृतिक दिगो स्रोत ब्यवस्थापनमा सामूहिक जिम्मेवारीको सुनिश्चित हुन्छ ।
३. यातायात सञ्जाल र बस्ती विस्तार – काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वले वैकल्पिक र योजनाबद्ध शहरी विस्तारको आवश्यकता स्पष्ट पारेको छ । यस सन्दर्भमा काठमाडौँबाट बाहिरिने प्रमुख यातायात सञ्जालहरू—मित्रराष्ट्र जोड्ने अरनिको राजमार्ग, पूर्वी तराई जोड्ने बी.पी. राजमार्ग, ग्वाको बाइपास (लाकुरी भञ्ज्याङ टनेल मार्ग), खोपासी–तालढुंगा हुँदै तराई जोड्ने मार्ग, सूर्यविनायक–धुलिखेल छ लेन मार्ग, साथै सम्भावित बार्हबिसे–ढुङ्खर्क–छ्याङछ्याङ बाइपास (बेथानचोक टनेल मार्ग) ले रोशी उपत्यकालाई भविष्यको प्रमुख शहरी विस्तार केन्द्रका रूपमा स्थापित गर्ने बलियो आधार प्रदान गर्नेछन् । यी पूर्वाधारहरू विकसित भएमा भृकुटी महानगर, चीन र भारत बिचको ब्यापारिक केन्द्रमा बिकास हुने यस क्षेत्रमा बसाइँसराइ, उद्योग तथा व्यवसायिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने निश्चित छ । त्यसैले, यस सम्भावित विकासलाई समयमै व्यवस्थित गर्दै सुरुदेखि नै महानगरीय मापदण्ड अनुसार योजनाबद्ध शहरी संरचना निर्माण गर्न आवश्यक छ, जसले अव्यवस्थित विस्तार नियन्त्रण गर्दै पूर्वाधारयुक्त, सन्तुलित र दिगो महानगर विकासको अवसर प्रदान गर्छ । यस सन्दर्भमा ऐतिहासिक अनुभवबाट महत्वपूर्ण शिक्षा लिन सकिन्छ – १३ औँ शताब्दीमा आनन्ददेव मल्लद्वारा योजनाबद्ध आठसय वर्ष पहिले बसालेको बस्तिहरु साँगा, नाला, बनेपा, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका विरासतले व्यवस्थित विकासको महत्व प्रमाणित गरेको छ । यही ऐतिहासिक बस्तिलाई आधुनिक शहरीकरणसँग जोड्न सके रोशी उपत्यका देशकै एक सशक्त, सुव्यवस्थित र दिगो महानगरीय केन्द्रका रूपमा विकसित हुन सक्छ ।
४. भृकुटी महानगरपालिका नामकरण – स्थानको नामकरणले यस क्षेत्रको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय महत्वलाई उजागर गर्दछ । राजकुमारी भृकुटी नेपाललाई विश्वसामु परिचित गराउने तथा बौद्ध धर्ममार्फत शान्ति, करुणा र सहिष्णुताको सन्देश चीनदेखि मध्य एसियासम्म फैलाउने ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ । उहाँलाई “हरित तारा” का रूपमा विश्वभर श्रद्धापूर्वक स्मरण गरिन्छ, जसले प्रस्तावित महानगरलाई शान्ति र सद्भावको प्रतीकात्मक पहिचान प्रदान गर्दछ । भृकुटीको ऐतिहासिक विरासत र चीन तथा दक्षिण एसियासँगको सांस्कृतिक सम्बन्धका आधारमा यस क्षेत्रलाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना रहेको छ । साथै, ल्हासा जस्ता शहरसँग भगिनी सहर सम्बन्ध स्थापना गरी व्यापार, पर्यटन, सांस्कृतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन सकिन्छ । यसरी “भृकुटी महानगर” परम्परा, संस्कृति र आधुनिक विकासको समन्वय गर्दै समृद्ध, आकर्षक र अन्तर्राष्ट्रिय रूपमा परिचित शहरका रूपमा विकसित हुन सक्छ ।
५. सुविधायुक्त पहुँच – रोशी उपत्यकाका बनेपा, पनौती र धुलिखेलमध्ये बनेपा नगरपालिकाको कार्यालय बसपार्कसँगै अवस्थित भएकाले सेवाग्राहीलाई सार्वजनिक यातायातमार्फत सहज पहुँच उपलब्ध भई समय बचतमा महत्वपूर्ण सहयोग पुगेको छ । पनौती र धुलिखेलका कार्यालयहरू सार्वजनिक यातायातबाट केही टाढा रहेकाले सेवाग्राहीले अतिरिक्त समय खर्च गर्नुपर्ने अवस्था देखिन्छ । सेवाग्राहीका लागि यातायात खर्चभन्दा समय बचत बढी महत्वपूर्ण हुने भएकाले प्रस्तावित महानगरपालिकाको कार्यालय सार्वजनिक यातायातको सहज पहुँच हुने, विशेषतः बसपार्क वा मुख्य सडक नजिकको स्थानमा स्थापना गर्नु उपयुक्त हुनेछ, जसले सेवा प्रवाहलाई छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउन मद्दत पु¥याउँछ । तिन नगरपालिकाहरु मात्र होइन, रोसी उपत्यका भित्र पर्ने थप तिन पालिकाहरु चाँगु नारायण, नमो बुद्घ र बेथानचोकका आंसिक भू–भागका सेवाग्राहीहरुलाई समेत सम्बोधन गर्ने हुनुपर्दछ ।
६. मितव्ययिता – तीनवटा नगरपालिकालाई एउटै संरचनामा एकीकृत गर्दा प्रशासनिक तथा प्राविधिक क्षेत्रमा दोहोरिने जिम्मेवारीहरू घट्दै मानव स्रोतको प्रभावकारी उपयोग सम्भव हुन्छ, जहाँ तीन जनाको काम एक जनाले सम्हाल्न सक्ने अवस्था सिर्जना हुन्छ र यही सिद्धान्त प्रमुख तथा उप–प्रमुखजस्ता नेतृत्व पदहरूमा पनि लागू हुन्छ । यसले फर्निचर, सवारी साधन, कार्यालय कोठा लगायतका सहायक स्रोतहरूमा पनि स्वाभाविक रूपमा खर्च घटाउँछ ।
७. प्राकृतिक स्रोतको द्वन्द्वमा सहनशीलता – पनौती, धुलिखेल र बनेपाका फरक–फरक स्रोत र विशेषताका कारण कहिलेकाहीँ समन्वयको कमी वा द्वन्द्व देखिन सक्छ । तर, यी नगरपालिका एकीकृत भई एउटै संरचनामा आएमा आपसी समझदारी र सहकार्य बढ्दै स्रोतहरूको साझा र प्रभावकारी उपयोग सम्भव हुन्छ, जसले सन्तुलित र दिगो विकासलाई बल पु¥याउँछ ।
८. सांस्कृतिक शहर – सभ्यताको दृष्टिले रोशी उपत्यका काठमाडौँ उपत्यकाभन्दा करिब ३००० वर्ष पुरानो मानिन्छ, जहाँ प्राचीन कालदेखि नै उन्नत कृषि, सिँचाइ र व्यापारिक अभ्यासहरूको विकास भएको देखिन्छ । कुर्पासी, पाञ्चाल र भूजुङ्ग क्षेत्रमा राजा दीर्घरथद्वारा सुरु गरिएको तिलमक (सिँचाइ) प्रणाली, किरातकालीन चोकपारा (कर प्रणाली) तथा अंशुवर्मा समयको सांस्कृतिक प्रभावले यस क्षेत्रलाई ऐतिहासिक रूपमा समृद्ध बनाएको छ । पछि १३ ह्रौं शताद्विमा आनन्ददेवद्वारा स्थापित सातगाउँ व्यवस्थाले जात्रा–पर्व र सांस्कृतिक पहिचानलाई व्यवस्थित रूपमा अघि बढाएको पाइन्छ । यी सातगाउँमध्ये पनौतीलाई नेपालको पहिलो सांस्कृतिक शहरका रूपमा लिइन्छ, जुन युनेस्को विश्व सम्पदा सूचीका लागि तयारी अवस्थामा रहेको छ, र अन्य स्थानहरूका सिद्धि विनायक, चण्डेश्वरी, उग्रचण्डी, शैलेश्वरी, श्वेत भैरव, चकोर महादेवजस्ता मन्दिरहरू विश्व स्मारकका रूपमा मान्यता पाउन सक्ने सम्भावना राख्छन् । आज पनि यी क्षेत्रहरूमा मौलिक चाडपर्व र सांस्कृतिक परम्पराहरू जीवित छन्, जसको संरक्षण र प्रवद्र्धन गर्नसके रोशी उपत्यकालाई सशक्त सांस्कृतिक पहिचानसहितको समृद्ध शहरका रूपमा विकास गर्न सकिन्छ ।
९. स्रोतको उचित प्रयोग – मितव्ययिताबाट बचत भएको स्रोतलाई दिगो र दीर्घकालीन विकासका ठूला आयोजनामा लगानी गर्न सकिन्छ । विशेषगरी, लडकेश्वर बहुउद्देश्यीय जलाशय तथा जलविद्युत आयोजना बाट, भारत र चीन बिचको ब्यापारिक केन्द्र तथा परपर्यावरणिय सामाजिक उद्यम आदीमा योगदान पु¥याउन सक्छ । साथै, माथिल्लो लडकु जलविद्युत आयोजना, रेशम खेती, बनेपा प्राविधिक शिक्षालय तथा आईटी पार्कजस्ता सम्भावनायुक्त स्रोतहरूको प्रभावकारी उपयोग आवश्यक छ । यस्ता स्रोतहरूको सही व्यवस्थापन, खोजी र आधुनिक विज्ञान–प्रविधिसँगको समन्वयले रोशी उपत्यकाको आर्थिक तथा प्राविधिक विकासलाई दिगो रूपमा अघि बढाउन सक्छ ।
यसरी गरिएको सिमाङ्कनले मात्र दिगोपना सुनिश्चित गर्दै सीमाक्षेत्रका बासिन्दालाई प्रकृतीसंग गाँसेर यथोचित लाभ प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्छ । इतिहास र किंवदन्तीहरूले पनि यस दृष्टिकोणलाई समर्थन गर्छ । रोशी उपत्यकासँग जोडिएका त्रेतायुगीन कथा, नाला तथा पनौतीका नन्दिमती र लिलावती नदीका प्रसंगहरूले एकीकृत व्यवस्थाको संकेत दिन्छन्, भने १३ ह्रौँ शताब्दीमा सातगाउँ व्यवस्थाले पनि केन्द्रित र समन्वित शासनको अभ्यास देखाउँछ । त्यसैले, सिमाङ्कन प्रक्रिया कुनै व्यक्ति, समूह वा राजनीतिक स्वार्थबाट मुक्त भई पूर्ण रूपमा उपत्यकाका प्राकृतिक स्रोतसाधन र यहाँका नागरिकहरूको दीर्घकालीन हितमा आधारित हुनुपर्छ । यस्ता वस्तुपरक, वैज्ञानिक र समावेशी आधारमा गरिएको सिमाङ्कनले मात्र दिगो, सन्तुलित र प्रकृतिसँग सहअस्तित्वमा रहने सभ्यताको निर्माण गर्न सक्छ ।
