काभ्रे । शब्दयात्रा प्रकाशनले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शनिबार शब्दयात्राको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका वार्षिक गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । सभामा संस्थाबाट दिगोरुपमा गरिने कार्यक्रम र आवश्यक नपुग बजेटका बारेमा विस्तृत छलफलसमेत गरिएको थियो ।
नेपालमा उच्चस्तरको अनुसन्धान केन्द्र भएको प्रकाशन संस्था आवश्यक देखिएकाले सम्पूर्ण वाङ्मय क्षेत्र र वाङ्मयसेवीहरूलाई समेट्ने गरी प्रारम्भिक तहमा हरि मञ्जुश्रीको अध्यक्षतामा सकुल थापा र रमेश पौडेल सदस्य भएको ‘शब्दयात्रा प्रकाशन’ नामक साझेदारी फर्म २०६८ सालमा दर्ता गरिएको थियो । यस संस्थाले संस्थापनकालदेखि नै अनुसन्धान, पुस्तक–प्रकाशन, वर्षको तीनपटक समर्पण गर्ने गरी सत्र विधाका सम्मानको स्थापना र समर्पणलगायतका कार्यहरू गर्दै आएको छ ।
२०६९ फागुन १५ गते ‘नेपालभूमि साप्ताहिक’ को प्रकाशन स्वामित्व यस संस्थामा हस्तान्तरण गरिएपछि उक्त पत्रिका निष्पक्ष, स्वतन्त्र र सकारात्मक चिन्तन प्रवाह गर्ने विचारप्रधान साप्ताहिक पत्रिकाका रूपमा हरेक मङ्गलबार प्रकाशित हुन थाल्यो र ‘अक्षरधाम’ नामको साहित्यिक मासिक पत्रिकाको व्यवस्थापन पनि गर्न थाल्यो । समुदायको वृहत् सहभागिता रहने गरी नमुना सामुदायिक संस्थाका रूपमा यस संस्थालाई विकसित तुल्याउन २०७० फागुन १३ गते मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा यो संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा हरि मञ्जुश्री अध्यक्ष एवं सकुल थापा, सुमन खड्का, हरिगोपाल प्रधान र श्यामकृष्ण लम्साल संरक्षण समितिमा रहने गरी दर्ता गराइयो । तत्पश्चात् उल्लिखित कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप कार्यका रूपमा प्राकृतिक विपत्तिमा परेका अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्न २०७१ वैशाख २ गतेदेखि अक्षरसेवी सहयोग कोषको स्थापना र सञ्चालन गर्न थालियो ।
यसरी यो संस्था समुदायको आकर्षण र सहभागिता एवं विशिष्ट व्यक्तिहरूको सहयोग, शुभेच्छा र मार्गदर्शनबाट दीर्घकालीन लक्ष्य प्राप्त गर्न सक्रियताका साथ अघि बढिरहेको छ । शनिबार संस्थाले साधारणसभामा आय व्यय विवरण पनि प्रस्तुत गरेको थियो ।
त्यसैगरी शब्दयात्रा प्रकाशनले २०८१ सालको दोस्रो चरणका निम्नलिखित ७ पुरस्कार आगामी माघ महिनामा समर्पण गर्नुपर्ने भएकाले आफूलाई योग्य लागेका व्यक्तिको नाउँ र योगदानको विवरण यही पुस २० गतेभित्र sypublication@gmail.com मा उपलब्ध गराइदिन अनुरोध गर्ने जानकारी गराइएको थियो ।
१. शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार,
२. शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार,
३. शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार,
४. शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार,
५. शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार,
६. शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ संखुवासभा प्रतिभा पुरस्कार,
७. शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार
पुरस्कार बारे पूर्ण जानकारी लिन शब्दयात्रा प्रकाशनमा सम्पर्क गर्न सकिने बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *