बनेपा । शब्दयात्रा प्रकाशनले साहित्य, पत्रकारिता, कला, समाजसेवा तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व र संस्थालाई सम्मान गर्दै वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ पुस्तक सार्वजनिक गरेको छ । शनिबार बनेपास्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा प्रकाशप्रसाद उपाध्याय, जीतबहादुर रायमाझी, लोचन भट्टराई, दिव्यपुरी टेलिभिजन, केदारनाथ तिमल्सिना, राजभाइ सुवाल, राममणि सिटौला तथा बृहत् शान्तिधाम नेपाललाई विभिन्न क्षेत्रको योगदानका लागि सम्मान समर्पण गरिएको हो ।

कार्यक्रमकाे साहित्यकार डा. इन्दुल केसीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । पूर्णबहादुर कर्माचार्य र जयराम श्रेष्ठले संयुक्त रूपमा हरि मञ्जुश्रीको ‘वैदिक सम्पदाको विश्वव्यापिता’ पुस्तक सार्वजनिक गर्नुभएको थियो । पुस्तकमाथि पत्रकार ज्ञानमणि नेपाल कालोटोपीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले पुस्तकले विश्वका विभिन्न भूभागमा भेटिएका वैदिक तथा सनातन परम्परासँग सम्बन्धित पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक सामग्रीलाई एकै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो ।

पुस्तकको मूल चासो विश्वका विभिन्न देश तथा भूभागमा भेटिएका वैदिक तथा सनातन परम्परासँग सम्बन्धित पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक सामग्रीको खोजी र त्यसलाई पाठकसमक्ष पुर्‍याउनु रहेको लेखकले उल्लेख गर्नुभएको छ । पुस्तकमा विभिन्न देशका कुन–कुन स्थानमा सनातन वैदिक धर्मसँग सम्बन्धित पुरातात्त्विक तथा ऐतिहासिक सामग्री भेटिएका छन् भन्ने विवरण तस्वीरसहित प्रस्तुत गरिएको छ ।

पुस्तकले प्रचलित इतिहासमा कुनै विषय, खोज वा आविष्कारको श्रेय जसलाई दिइँदै आएको छ, त्यसको सम्बन्ध अर्कै व्यक्ति वा सभ्यतासँग रहेको हुन सक्ने दाबीसमेत विभिन्न तथ्य तथा प्रमाणका आधारमा प्रस्तुत गरेको लेखकको भनाइ छ । पुस्तकको विषयवस्तुको भौगोलिक दायरा पनि निकै फराकिलो छ । भियतनाम, मङ्गोलिया, मलेसिया, थाइल्यान्ड, रूस, इरान, अजरबैजान, चीन, जापान, पाकिस्तान, भारत, श्रीलङ्कालगायत एसिया, अफ्रिका, युरोप, अमेरिका तथा दक्षिण अमेरिकाका विभिन्न भूभाग पुस्तकका प्रसङ्गमा समेटिएका छन् ।

कहीं शिवमन्दिर, कहीं विष्णु तथा गणेशका मूर्ति, कहीं संस्कृत भाषासँग सम्बन्धित सामग्री, कहीं स्वस्तिक चिह्न तथा कहीं रामायण र महाभारतसँग जोडिएका सांस्कृतिक संकेतलाई पुस्तकले विभिन्न प्रसङ्गमार्फत पाठकसामु ल्याएको छ । विश्वका विभिन्न स्थानमा भेटिएका शिवलिङ्ग, मन्दिर, मूर्ति, शिलालेख, संस्कृत भाषाको प्रभाव तथा वैदिक परम्परासँग सम्बन्धित दाबीहरूलाई पुस्तकमा क्रमशः प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *