प्रदीप केसी बञ्जारा
बनेपा । करिब १२ बर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ बर्ष आउनैलाग्दा संचार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको सम्मान ः नेपाली टोपी नेपालको पहिचान’ नारा दिएर सामाजिक संजालमा ‘नेपाली टोपी दिवस’ मनाउन आब्हान गर्दै प्रचारमा जुटे ।
टोपी दिवसकै लागि भनेर ‘जागरुक युवा अभियान, नेपाल’ नामको संस्था नै खडा गरे र माइतीघर मण्डलामा सबैलाई निम्ता गरे । नभन्दै अंग्रेजी नयाँ बर्षको विहान सयौं युवा ढाकाटोपी र भादगाउँले कालोटोपी ढल्काएर राष्ट्रिय झण्डाको साथमा सडकमा देखिए । त्यसपछि सुरु भयो टोपी दिवसको सार्थक अभियान । अहिले उक्त दिवस १२ संस्करणमा पुगिसकेको छ ।
नेपाली टोपी दिवसका संस्थापक मध्येका एक जना ज्ञानमणि नेपाल ‘कालोटोपी’ सरकारले राष्ट्रिय पोशाकलाई प्राथमिकतामा नराखेकै कारण टोपी दिवसको जन्म भएको बताउँछन् । उनले सरकारले नेपालको पहिचान मानिएको टोपी र दौरा सुरुवाललाई संविधानबाट हटाएर अपमान गरेकोमा दुःख व्यक्त गरे । औपचारिक कार्यक्रममा दौरा सुरुवाल, ढाकाटोपी सबैका लागि पहिचान बनेपनि वैधानिकता दिलाउन सरकारलाई गाह्रो भएको उनले सुनाए ।
उनले भने, ‘सरकारले राष्ट्रिय पोशाकलाई प्राथमिकतामा नराखेकै कारण टोपी दिवसको जन्म भएको हो । सरकारले हाम्रो पहिचानहरुलाई स–सम्मान राख्थ्यो भने त्यतिबेला संविधानबाट हट्दैन थियो नि । सरकारले प्राथमिकतामा नराखे पनि नेताहरुले त्यही ढाकाटोपी, कालोटापी लगाउनु भएको छ । दौरा सुरुवाल लगाउनु भएको छ । औपचारिक कार्यक्रममा त्यही पोशाक लगाएर हिँड्नुहुन्छ भने त्यसलाई वैधानिकता दिन किन गाह्रो भएको ? प्रधानमन्त्रीले शपथ लिन जानुपर्यो भने त्यही दौरा सुरुवाल र ढाकाटोपी लगाउनुहुन्छ ।’
त्यस्तै उनले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले धर्म निरपेक्षताको नाममा राष्ट्रिय पहिचानहरुलाई गुमाउने काम गरेपछि त्यसको विरोधमा आफूहरु सडकमा उत्रिएर पहिचान स्थापित गराउन लागि परेको सुनाए ।
‘२०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले हाम्रा राष्ट्रिय पोशाकहरुलाई हटाइदियो । दौरा सुरुवाल, गुन्यो चोली, ढाकाटोपी लगायतका राष्ट्रिय पोशाक जुन थिए त्यो हटाउने काम भयो । संविधानबाट नै हटाइयो । धर्म निरपेक्षताको नाममा राष्ट्रिय पहिचानहरुलाई गुमाउने काम भयो । त्यसको विरोधस्वरुप हामीले अभियान सुरु गरेका हौं । हाम्रो पहिचान केही त चाहियो नि अर्थात विश्वमा चिनाउने एउटा माध्यम चाहिन्छ भन्ने हो । धेरै बर्षदेखि ढाकाटोपी, कालोटोपी, दौरा–सुरुवाल, गुन्यूचोली हाम्रो पहिचानका रुपमा स्थापित छन् । सबैका आ–आ–आफ्ना पोशाक छन्, तिनको मौलिक पहिचान छ, त्यसलाई जोगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।
०६८ सालमा सरकारले राष्ट्रिय पोशाकको व्यवस्था हटाएपछि ०६९ सालदेखि सुरु भएको अभियान आज १२ वर्ष पूरा भएको उनी बताउँछन् । आफूहरुले अभियान सुरु गर्दैगर्दा प्रतिक्रिया भने सकारात्मक पाइरहेको कालोटोपीले सुनाए । उनले भने,‘०६८ सालमा सरकारले हटाएपछि ०६९ सालदेखि सुरु भएको आज करिब १२ वर्ष भएको छ । त्यसपछि व्यापकता पायो । प्रचार भयो । सबैले यो त ठिक छ भन्नुभयो । सामाजिक संजालबाटै सुरु भएको अभियान हो । परम्परा चाहिँ होइन । पहिले हाम्रो राष्ट्रिय पोशाकहरु सुरक्षित हुँदा यस्तो दिवस मनाउनुपरेको थिएन । सबैलाई राष्ट्रिय पहिचान चाहिएको थियो । त्यो सँगसँगै महिलाहरुले पनि साथ दिनुभयो किनभने उहाँहरुको पनि गुन्यूचोली खोसिएको थियो ।’
साथै उनले अंग्रेजी नयाँ वर्षका दिन नै किन नेपाली टोपी दिवस मनाउन परेको भन्ने प्रश्नमा अंग्रेजी नयाँ वर्ष नेपाली पाराले कसरी मनाउने त भन्दा अंगे्रजी नयाँ वर्षको दिन टोपी दिवस हुन गएको भन्दै जवाफ दिए ।
उनले भने, ‘हामी पश्चिमा संस्कृति मान्छौं । अंग्रेजी नयाँ वर्ष मनाउँछौं । भ्यालेन्टाइन डे मनाउँछौं । हामीलाई अंगे्रजी चाडपर्वको सबै मिति याद छ तर नेपाली नयाँ वर्ष कहिले भन्दा झुकिन्छौं । तीज, दशैं, तिहार कहिले पर्छ भन्दा मान्छेलाई त्यति झ्वाट याद नहोला । तर, पश्चिमा संस्कतिका तिथीमिति गनेर बसिरहेका हुन्छौं । यसो भन्दा हामीले कुनै धर्म संस्कृतिको विरोध गरेको होइन । अंग्रेजी नयाँ वर्ष नेपाली पाराले कसरी मनाउने त भन्दा अंगे्रजी नयाँ वर्षको दिन टोपी दिवस हुन गएको हो ।’
बाबुराम भट्टराईको सरकारले हटाएको राष्ट्रिय पोशाक अहिले उनले नै टोपी दिवसको दिन सामाजिक संजालमा फोटा राख्ने गरेको भन्दै त्यसलाई पनि एउटा सफलताको रुपमा हेरेको उनी बताउँछन । ‘सफलता चाहिँ कहाँ छ भने त्यतिबेला बाबुराम भट्टराईको सरकारले हटाएको राष्ट्रिय पोशाक अहिले भट्टराईले नै टोपी दिवसको दिन टोपी लगाएर सामाजिक संजालमा फोटो हाल्नुहुन्छ । उहाँहरुलाई अहिले पछुतो लागेको छ । तर, उहाँहरुलाई अप्ठ्यारो के छ भने उहाँहरु क्यारेमबोर्डका गोटी जस्तो हुनुहुन्छ । कि पछाडिबाट कुनै शक्तिले उहाँहरुलाई प्रेसर दिइरहेको छ,’ उनले भने, ‘त्यसकै कारणले उहाँहरुले वैधानिकता दिनसक्नु भएको छैन । तर, उहाँहरुसँग पनि आफ्नो नेपालीत्व छ । आफ्नो संस्कारप्रतिको मायाममता छ । हाम्रो माग सरकारले सुनेन त्यसलाई सुनाउनकै लागि हामीले यो अभियान गरिरहेको हो ।’
संस्थापक नेपालले आफूहरुको माग टोपीको मात्रै नभई पोशाकसहितको भएको जानकारी दिए । प्राचिन समयदेखिको देशलाई चिनाउने माध्यम टोपी भएकाले त्यसलाई हटाउनुपर्ने जरुरी नदेखिएको उनको भनाइ छ । उनले भने, ‘हाम्रो माग पोशाकसहितको हो, टोपीको मात्रै होइन । टोपी पनि पोशाक अन्तर्गत नै पर्छ । केही साथीहरुले पोशाक र टोपी अलगै गर्नुभएको छ, त्यो जरुरी होइन । सरकारले पोशाकलाई मान्यता दिन सकेन भनेपनि एउटा टोपीलाई त मान्यता दिनुपर्यो नि । राष्ट्रिय गान छ, राष्ट्रिय जनावर छ, तिनीहरु हटेका छैनन् । दौरा सुरुवालले कसको बदानाम गर्यो र, किन हटाउनु पर्यो ? हाम्रो अभियान भनेको हाम्रो राष्ट्रिय पहिचान चाहियो त्यति हो । ’
यस्तै टोपी दिवसका संयोजक घनश्याम श्रेष्ठले आफूहरुले टोपी दिवसको अभियान सुरु गर्दै गर्दा धेरै नै विरोध खेप्नु परेको अनुभव सुनाए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत स्टाटस नै लेखेर अभियानको विरोध गरेको उनले स्मरण गरे । उनले भने, ‘हामीले अभियान सुरु गर्दैगर्दा विरोधको आवाजहरु पनि सुनेका हौं । कतिपय साथीहरुले टोपी र धोतीको कुरा उठाउनु भएको थियो । पूर्वप्रधानमन्त्री भट्टराईले समेत स्टाटस नै लेखेर हाम्रो विरोध गर्नुभएको थियो । तर हाम्रो आन्दोलन वृहतरुपमा फैलिसकेपछि बल्ल विरोधको आवाज सुन्न कम भएको छ ।’
उनले टोपी दिवसको दिनमा धोती दिवस पनि मनाउन थालिएको भन्दै कुनै पोशाकलाई तल झार्ने र कुनैलाई माथि पु¥याउने सोच नराखी सबै पोशाकलाई सम्मान गर्ने धारणा राखे । टोपी नेपालको पहिचानको रुपमा चिनिनुका साथै अहिले आन्तरिक र बाह्यरुपमा यसको व्यापार पनि बढेको उनले बताए ।
‘हामीले अघिल्लो वर्ष धोती दिवस पनि मनाएको सुन्यौं । कुनै पोशाकलाई तल झार्ने र कुनैलाई माथि पु¥याउने भन्ने सोच हाम्रो छैन । सबै पोशाकलाई सम्मान गर्दै नेपाली टोपी, नेपाली पहिचान भन्ने नारा पनि राखेका छौं । कसैको पोशाकलाई हामीले विरोध पनि गरेको छैनौं । पोशाकलाई आफ्नो हिसाबले अघि बढाइराखेको छौं । टोपीको प्रयोग चाडपर्वको बेलामा पनि धेरै हुन थालेको छ । माग पनि बढिरहेको छ । यसले आन्तरिक र बाह्यरुपमा व्यापार पनि बढेको छ, ’–उनले भने । विश्वमा नै टोपी छ भने नेपालीको भएकाले नेपालको प्रतिनिधि गरिरहेको छ भनेर चिनाउने गरेको राष्ट्रको चिनारी टोपी नै हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै टोपी दिवसका अर्का संस्थापक रामजी बलामीले आफूहरुले अभियान सुरु गर्दैगर्दा यो सफल रुप लिन्छ भनेर नसोचेको बताए । उनले भने, ‘हामीले अभियान सुरु गर्दैगर्दा अभियानले यस्तो व्यापक रुप लिन्छ भन्ने सोचेका नै थिएनौं । लिनुपर्छ भन्ने त लागेको थियो तर यो अवस्था आउला भनेर वा यति राम्रो होला भनेर कल्पना गरेको चाँही थिएन । सामाजिक सञ्जालबाट आन्दोलन सुरु गरेका हौं । २०१४ बाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाली पोशाकलाई राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि राष्ट्रिय पहिचान केही त चाहियो भनेर अभियान सुरुवात गरेको हौं । २०१६ सम्म सामाजिक सञ्जालमा त्यसपछि माइतीघरमा उभिएर अभियानलाई अगाडि बढाउँदै गयौं ।’
अहिले टोपी दिवस नेपालमा मात्र नभएर विदेशमा रहने हरेक नेपालीहरुले पनि मनाउन थालेकोमा गर्व लागेको उनी बताउँछन् । टोपी कुनै जाती, भूगोल विशेषको पहिरन नभइ सबैले लगाउने भएकाले नेपाली टोपीलाई नै राष्ट्रको चिनारी बनाउनु पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *