पाँचखाल। नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चाेकद्वारा संचालित रक्तसञ्चार केन्द्र र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ। नगरवासीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने विषयमा बुधबार पालिका र साेसाइटीबीच सम्झाैता भएकाे हाे ।

यससँगै पाँचखाल नगरपालिकामा बसोवास गर्ने नगरवासीले आवश्यक परेकाे रगत निःशुल्क पाउने भएका छन् । पाँचखाल नगरपालिका मेयर महेश खरेल र नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका सभापति देवेन्द्र भैलद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

साे क्रममा पाँचखाल नगरका तर्फबाट साक्षीमा प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी र स्वास्थ्य शाखाका तर्फबाट विष्णुप्रसाद गौतम तथा रेडक्रसका तर्फबाट मन्त्री राजु सिग्देल र रेडक्रस शाखा कार्यालय प्रमुख त्रिरत्न राजबाहक रहनुभएको छ । सम्झाैता अनुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाकाे स्थायी बासिन्दा भएको ( नागरिकता‚ मतदाता परिचय पत्र‚ बसाइ सराई) प्रमाण खुल्ने कागजातको आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको छ ।

यस्तै नगरपालिकाले हरेक वडाहरुमा पालो मिलाई कम्तीमा बार्षिक ४ वटा रक्त सङ्कलन शिविर रक्तसञ्चार सेवाको सहयोगमा आयोजना गर्नुपर्नेछ । निःशुल्क सेवाका लागि पाँचखाल नगरपालिकाले अग्रिम तीन लाख रुपैयाँ रक्त सञ्चार सेवाको खातामा जम्मा गर्नुपर्ने सर्त रहेको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पाँचखालका मेयर खरेलले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखालाई मजबुत बनाउनु सबैको कर्तव्य रहेको बताए । उनले सुरुवातमा कम्तिमा १ करोडको कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिए । कोषको सुरुवातीको लागि मेयर खरेलले व्यक्तिगतरुपमा ५० हजार बिउपुँजीको व्यवस्था गरेका छन् । मेयर खरेलले घोषणा गरे लगतै रेडक्रस काभ्रे शाखा सभापति देवेन्द्र भैलले पनि कोष व्यवस्थापनको लागि २५ हजार उपलब्ध गराउने घोषणा गरे ।

सम्झौता कार्यक्रममा रेडक्रस काभ्रे शाखा सभापति भैलले भवनको थप व्यवस्थापन गर्नुपर्ने बताए । सभापति भैलको धारणालाई समर्थन गर्दै मेयर खरेलले आफ्ना पिता राजेन्द्र खरेलको नाउँबाट एक कोठाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । माघ महिनामा पाँचखालमा रेडक्रस काभ्रे शाखासँगै सहकार्य गर्दै १ दिने गोष्ठी गर्ने र सोही अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *