मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीमण्डनमा बुधबार निःशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे छ।
चण्डेनी स्वास्थ्य चौकीको आयोजना तथा सुस्मा कोइराला मेमोरियल अस्पताल र ख्वप तिलगङ्गा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे हाे । शिविरमा सामान्य स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहित आँखाको समस्या भएका बिरामीहरुलाई निःशुल्क अप्रेसन पनि गरिने भएकाे छ ।
आँखाको जाँचसहितको निःशुल्क स्वास्थ्य शिविरमा १९० जनाभन्दा बढी बिरामीहरुको स्वास्थ्य जाँच, उपचार र औषधि वितरण गरिएकाे थियाे । शिविरमा १३ जनाकाे मोतियाबिन्दुको निःशुल्क अप्रेसन गर्नुपर्ने देखिएकाे छ । त्यस्ता बिरामीलाई मंसिर २७ गते ख्वप तिलगङ्गा अस्पताल भक्तपुरमा अप्रेशन गरिने भएकाे छ ।
शिविरकाे सहयोगका लागि सुस्मा कोइराला मेमोरियल अस्पताल, ख्वप तिलगङ्गा अस्पताल, वर्ड युथ इन्टरनेशनल र कान्छीमाया तामाङ फाउन्डेसनका अध्यक्ष डाक्टर दिलबहादुर तामाङ थोकर लगायत सम्पूर्णमा वडाध्यक्ष कुमार तामाङले धन्यवाद व्यक्त गर्नुभएकाे छ । यस कार्यक्रमकाे संयाेजन नगरउपप्रमुख विष्णुमणि नेपालले गर्नु भएकाे थियाे ।
