काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताउनुभयो।
सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उहाँका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।
डा दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
अहिलेसम्म २९ हजार एक सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले बताउनुभयो । उहाँका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ ।
सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा छ हजार छ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ। जसमा काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा सङ्क्रमण देखिएको हो ।
