ज्ञानमणि नेपाल कालोटोपी

कुनै समय यस्तो थियो, गाउँका घरहरु साना थिए, परिवार ठूला थिए । ती साना घरमा ढोका पनि सानै थिए, मान्छेहरु झुकेर पस्थे, मिलेर बस्थे । झ्याल साना थिए, सम्बन्धको उज्यालो धेरै थियो । ओछ्यानहरु साना थिए, तर निद्रा मिठा थिए । औपचारिक शिक्षा थिएन, तैपनि नैतिकवान र चरित्रवान थिए मान्छेहरु । तर समय फेरिएको छ । अहिले घरहरु ठूला छन्, परिवारहरु साना छन् । घरका ढोकाहरु ठूला छन्, अहंकार पनि ठूला भएका छन् । झ्यालहरु ठूला छन् तर ती झ्यालबाट छिर्ने सम्बन्धको उज्यालो भने निकै सानो भएको छ । ओछ्यानहरु ठूला छन् तर मानिसमा निन्द्रै छैन । औपचारिक शिक्षा लिएकाहरु धेरै छन् तर व्यवहारिक छैनन्, उनीहरुमा नैतिकता र चरित्र मृगतृष्णा जस्तै भएको छ । यो यथार्थ हो ।
मानिसले गन्तव्यमा पुग्ने आशा कहिल्यै छोड्नु हुँदैन, किनकी हरेक साँझ सूर्य अस्ताएपछि नै हो बिहान सूर्य उदाउने पनि । असफल भइयो भन्दैमा निराश र हतास पनि हुनु हुँदैन । हामीले यो विर्सनु हुँदैन कि सफल हुनका लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनका लागि राम्रा शत्रुहरु पनि चाहिन्छ । त्यसैले भनिन्छ नि, समयलाई बुझ्न सिक्नुस्, रिसलाई रोक्न सिक्नुस्, पीडालाई भोग्न सिक्नुस्, गल्तीमा झुक्न सिक्नुस् । यति गर्न सकियो भने जिन्दगीको यात्रा निकै सरल हुन्छ नत्र धेरै कठिन ।
जो व्यक्तिमा पुस्तक पढ्ने बानी छ, उनीहरु जीवनमा कहिल्यै एक्लो हुँदैनन् । विगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले नै मानिसलाई सफल बनाउँछ । गल्ती गर्नु गलत होइन, बरु गलत त यो हो कि गलत गरेर पनि गल्ती नसुधार्नु । धेरै पटक एउटै गल्ती दोहो¥याउने मान्छेले अन्जानमा गल्ती गरेको होइन, योजना बनाएर गरेको हो, यो षडयन्त्र पनि हो, जसलाई माफी दिन सकिँदैन । हामी कहिलेकाहिँ वत्ती गयो भनेर गाली गर्छौं, कतिपयले त अँध्यारोलाई सराप्छौं पनि । किनकी हामीलाई अँध्यारो मन पर्दैन तर साँच्चै भित्री मनले हेर्ने हो भने हामीले अँध्यारोमा पनि उज्यालो देख्छौं, जसले यस्तो बेलामा उज्यालो देख्छ नि, हो उसले जिन्दगीका हरेक आयामहरु बुझेको हुन्छ । के हामीलाई थाहा छैन र अँध्यारोको विशेषता नै कालो हो भनेर ? अनि यति थाहा हुँदाहुँदै पनि किन रिसाउने त ? त्यसैले आफ्नो हिस्साको दीयो हामी आफैंले जलाउनुपर्छ ।
हामी हतारमा हुन्छौं, जे गर्न पनि हतार नै हुन्छ । धैर्यता गर्नसक्ने आँट नै छैन हामीसँग । तर हतारमा गरिएका निर्णय, हतारमा बोलिएका शब्दहरु, यी सबैले फाइदा नदिन पनि सक्छन् । बुद्धिमान मानिसहरु आफूसँग हजारौं जवाफ हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन्, उनीहरु सोचेर बस्छन् र सही समय आएपछि मात्र आफ्नो बौद्धिकता देखाउँछन् । त्यसैले भनिन्छ नि, ‘कयौंपटक सम्बन्धलाई जिवित राख्नका लागि मौन भएर हार्न जरुरी छ ।’ समयले नै ती मूर्खहरुलाई जवाफ दिन्छ, यति हो कि त्यो समय चाहिँ कुर्न सक्नुपर्छ ।
मानिसको जिन्दगीमा को कतिबेला चाहिन्छ कसैलाई थाहा हुँदैन । त्यसैले धेरै तितो पनि बन्नु हुँदैन, ताकी कसैले थुकिदेओस् । अनि धेरै मिठो पनि नबन्नु ताकी सधैं सबैले मिठो भनेर निलिरहुन् । त्यसैले एक्लोपनबाट त्यही व्यक्ति गुज्रिरहेको हुन्छ, जसले जीवनमा सही फैसला चुनेको हुन्छ । हामीले कोही साथीलाई उपहारस्वरुप घडी दिन्छौं तर समय दिन सक्दैनौं । उसलाई घडीभन्दा तपाईंको समय मूल्यवान हुनसक्छ । हामीलाई कसैले सही ग¥यो वा गलत ग¥यो भन्ने लाग्नसक्छ तर यो विर्सनु हुँदैन कि जीवनमा सही र गलत केही हुँदैन । कुनै मानसिक अवस्था ठिक नभएको मान्छेले पनि आफूले गरेका सबै काम र कुरा सही ठान्छ र अरुले गरेका जति गलत । त्यसैले यसको कुनै मानक हुँदैन । यति हो कि जानेर कसैको कूभलो नचिताउनुस्, कसैको मन नदुखाउनुस् । अरु कुरा विस्तारै मिल्दै आउँछ ।
हामी सफल हुन चाहन्छौं भने विगतमा गरिएका गलत कामलाई सच्याउन सक्नुपर्छ । विगतको सिकाई, वर्तमानको कर्म अनि भविष्यको सम्झनाले मानिसलाई सफल बनाउँछ । मानिसमा जति ठूलो सपना हुन्छ, त्यति नै ठूलो पीडा पनि हुन्छ र जति ठूलो पीडा हुन्छ त्यति नै धेरै सफलता पनि पाइन्छ । समयलाई दोष दिएर जिम्मेवारीबाट भाग्न खोज्ने मान्छे कायर हो, बलवान मान्छे त उल्टो समयलाई पनि चुनौती दिएर कर्म गर्नतिर तल्लिन हुन्छ । महान मान्छे त्यो होइन, जो खुशीमा हाँसो थपिदिन्छ, महान व्यक्ति त्यो हो जो दुःखमा पनि खुशीको आभास दिलाइदिन्छ । आफ्नो उद्देश्यमा लागिरहनुपर्छ । जसरी हरेक फूलहरु फूल्ने समय हुन्छ, त्यसैगरि मानिस सफल हुने पनि समय आउँछ, यति हो कि समयलाई पर्खिन भने सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *