जिल्ला समन्वय समिति काभ्रेको प्रगति समीक्षा

ज्ञानमणि नेपाल कालोटोपी
प्रदीप केसी बञ्जारा
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको गत आर्थिकवर्ष ०८०÷०८१ र चालु आर्थिक वर्षको हालसम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरु, संघीय र प्रादेशीक सरकारी कार्यालयहरुको प्रगति समीक्षा गरिएको हो । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सबै स्थानीय तहहरुले पठाएका प्रगति विवरणका आधारमा भिडियो सामाग्रीबाट समीक्षा प्रस्तुत गरिएको थियो ।


१. जिल्ला समन्वय समितिको कार्यालय जिल्लाका सम्पूर्ण निकायको अनुगन, समन्वय तथा सहजीकरणका लागि स्थापना गरिएको कार्यालय हो । यो कार्यालयलाई आ.व. २०८०÷०८१ मा संघीय सरकारबाट प्राप्त भएको बजेट मध्ये ९९ प्रतिशत बजेट कार्यान्वयन भएको छ भने बागमती प्रदेश सरकारबाट प्राप्त भएको बजेट मध्ये पनि ९९ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।
जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिएको छ । त्यस्तै छिमेकी जिल्लाबीच भैरहेको सिमाना विवाद समाधानका लागि समेत समन्वयात्मक बैठकहरु बसेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकमा रहेको मौज्दात कोषबाट शिक्षा, स्वास्थ्य, खानेपानी र प्रकासकीय भवन निर्माणमा नगरपालिका र गाउँपालिसँग लागत साझेदारी गरिएको छ ।
२. जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट आर्थिक वर्ष २०८०÷०८१ मा १० हजार ४२९ थान नयाँ नागरिकता जारी भएको छ । जसमा १२ जनाले आमाको नामबाट, ५३ जनाले गैरआवासिय नागरिकता र ९ जनाले अंगिकृत नागरिकता लिएका छन् । ९ हजार ९२४ थान नागरिकता प्रतिलिपि जारी भएको छ । ५५ जनाले नागरिकता परित्याग गर्दा ९ जनाको नागरिकता रद्द गरिएको छ ।
१५ हजार ७ सय ८६ वटा राहदानी वितरण गरिएको छ । १९ हजार ७७५ वटा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको छ भने १ हजार ९३५ वटा वितरण गरिएको छ । ७२४ वटा नाबालक परिचयपत्र तथा ५०३ वटा दलित र जनजाति परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको छ । ७२ वटा दर्ता भएका मुद्धा मध्ये ६१ वटा फछ्र्योट भएको छ ।
चालु आर्थिक २०८१÷०८२ को हालसम्म ३ हजार ८३६ वटा नयाँ नागरिकता जारी भएको छ । ७ हजार ११४ वटा राहदानी विवरण दर्ता भएको छ । त्यस्तै राष्ट्रिय परिचयपत्र १० हजार ४४९ आवेदन विवरण दर्ता भएको छ । हाल जिल्ला प्रशासन कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न नहुँदा सेवाग्राहीले सेवा लिन निकै असहज भैरहेको छ । कर्मचारीको अभाव, स्रोतधानको कमीको बीचबाट नागरिकलाई सेवा प्रदान गरिरहनुपरेको अवस्था छ ।
३. पूर्वाधार विकास कार्यालय सदरमुकाम धुलिखेलमा छ । प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्ग र शहरी तथा स्थानीय सडकहरुको विकास तथा विस्तार, मर्मत सम्भार, प्रादेशिक सडकमा पर्ने पुलहरु र लामो प्रकृतिका झोलुंगे पुल यो कार्यालयको क्षेत्रधिकारभित्र पर्दछन् । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा १७४ वटा योजना सम्पन्न गरेको छ । जसको वित्तिय प्रगति ९०.५३ हो भने भौतिक प्रगति ९५.२८ प्रतिशत रहेको छ ।
यो कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा २०४ वटा सडक, पुल तथा झोलुंगे पुलमा काम गरेको छ । निर्माण ब्यवसायीहरुलाई बारम्बार निर्माण सम्पन्न गर्न ताकेता गरिएको साथै आवश्यकताअनुसार व्यवस्थापकीय बैठक गर्ने गरिएको, गुणस्तर नियन्त्रणका लागि कार्यालयको ल्याबलाई व्यवस्थित र चुस्त बनाईएको, निर्माण स्थलमा गुणस्तर मापक योजनाअनुसार परिक्षणहरु गर्ने गरिएको छ ।
बहुवर्षीय आयोजना पहिचान तथा छनौटमा अन्यौलता, डिपिआर तयारी, आयोजना स्वीकृति गर्दा हुने ढिलाई तथा कार्यविधिअनुसार आयोजनामा यथेस्ट बजेट नभएकाले रकमान्तर गरि थप बजेट व्यवस्था गर्न समस्या भएको छ ।
शहरी विकास तथा भवन कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ८० प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । तीनवटै जिल्लामा स्थानीय तह, उपभोक्ता समितिका पदाधिकारीलाई भेला गरेर अन्तरक्रिया गरिएको छ । त्यस्तै जनता आवास तथा खरको छाना उन्मुलन कार्यक्रमका लाभग्राहीहरुलाई वडा कार्यालयमै पुगेर सम्झौता गरिएको छ भने ओरेन्टेशन गरिएको छ ।
४. कृषि विकास कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ७४ प्रतिशत आर्थिक र ८७ प्रतिशत भौतिक प्रगति रहेको छ । यो कार्यालयले बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव, काभ्रे जिल्लामा सुन्तलाजात फलफूल बगैंचा सुदृढीकरण अभियान, राष्ट्रिय धान दिवस तथा प्रविधि प्रदर्शन, अटोमेटेड फर्टिगेशन प्रविधि प्रदर्शन, विषादी व्यावसायीहरुको संयुक्त अनुगमन सम्पन्न गरेको छ ।
त्यस्तै जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण, साना सिंचाई कार्यक्रम, प्राङ्गारिक मल वितरण कार्यक्रम, व्यवसायिक तरकारी खेती प्रवद्र्धन, धान बाली प्रवद्र्धन, मकै बाली प्रवद्र्धन, किवी प्रवद्र्धन, च्याउ खेती प्रवद्र्धन, मसलाबाली प्रवद्र्धन, उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती प्रवद्र्धन, खाद्य प्रणाली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम, यान्त्रीकरण तथा प्रविधि प्रबद्र्धन, सयपत्री फूलखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको थियो ।
५.पाँचखाल नगरपालिकामा रहेको बागवानी विकास केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ मा ८६.३९ प्रतिशत वित्तिय र ९५.८१ प्रतिशत भौतिक प्रगति प्राप्त गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि हालसम्म ३५.१ प्रतिशत वित्तिय र ७०.३१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस कार्यालयमार्फत बेसारको फिल्ड जीन बैंक स्थापना, काँक्रोको वर्णशंकर बीउ उत्पादन, ग्रेटवाल २ बोडीको बीउ उत्पादन, मेकाडेमियानटको बिरूवा उत्पादन, बीउ आलु उत्पादन, धानको बीउ उत्पादन, फलफूल बिरुवा उत्पादन गरिएको छ ।
६. पशुसेवा कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा पूँजीगततर्फ ९९.४८ प्रतिशत र भौतिकतर्फ शतप्रतिशत प्रगति हासिल गरेको छ । चालुतर्फ ७०.७३ प्रतिशत वित्तीय प्रगती र ८५ प्रतिशत भारित प्रगति रहेको छ । यो कार्यालयले पशुपन्छीमा लाग्ने संक्रामक रोगविरुद्धको खोप कार्यक्रम, इपिडेमिक तथा आकस्मिक रोग नियन्त्रण, पशुपन्छी तथा मत्स्य विकासका लागि बीउपूँजी परिचालन, एक पकेट खोरेत रोग मुक्त अभियान कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, दुग्ध क्षेत्रको विकासका लागि ग्रिन टु ह्वाइट कार्यक्रम सञ्चालन गरेको छ ।
बंगुरपालन प्रवद्र्धन कार्यक्रम, खाद्य प्रणाली रुपान्तरणका लागि मागमा आधारित जिविकोपार्जन, पशुपालनमा असल अभ्यास प्रवद्र्धन, रेबिज रोग नियन्त्रण, पशुपन्छी तथा मत्स्यजन्य यन्त्र तथा उपकरण वितरण, पशुपन्छी तथा मत्स्यजन्य पदार्थ उपभोग प्रवद्र्धन, पशुपन्छीका रोग नियन्त्रणका लागि खोप अभियान लगायतका कार्यक्रमहरु यो कार्यालयमार्फत सम्पन्न भएका छन् ।
यस्तै जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय र पशु सेवा कार्यालय, काभ्रेको संयुक्त आयोजनामा बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव सञ्चालन गरिएको थियो । छनौट भएका सबै साझेदार सम्झौताका लागि नआउनु, सम्झौता गरेका सबै साझेदारले सम्झौता अनुरुप कार्य नगर्नु, समयमा नै वर्षा नभएकाले घाँस खेती कार्य प्रभावित हुनु, केही साझेदारले अन्य निकायसँग समान प्रकृतिको कामको लागि सम्झौता गर्नु यस कार्यालयको मुख्य समस्या हुन् ।
७. रेशम विकास केन्द्रको कार्यालय पनौतीको खोपासीमा रहेको छ । यो कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ७८ प्रतिशत वित्तिय र ८५ प्रतिशत भौतिक प्रगति गरेको छ । यहाँ राष्ट्रिय च्याउ स्रोत केन्द्र स्थापनाको कार्य सुरु भएको छ ।
८. सूर्यविनायक धुलिखेल सडक आयोजनाले आर्थिक वर्ष २०८०÷८१ मा ९४.१७ प्रतिशत वित्तिय र वर्षभरी तोकिएको लक्ष्यमा शतप्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को साउन महिनादेखि हालसम्म २९.६० प्रतिशत वित्तिय प्रगति रहेको छ ।
यो आयोजनाले सडक विस्तारका क्रममा पुरातात्विक महत्व भएका संरचनाहरुको संरक्षण, पुनस्र्थापना, स्तरोन्नती र स्थानान्तरण, खानेपानी तथा ढलहरुको समस्या समाधानलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छ । बिजुलीका पोलहरुको स्थानान्तरण, सडक सीमाक्षेत्र भएका घरटहरा हटाउने काम यस आयोजनाको सबैभन्दा मुख्य समस्या हुन् ।
९. शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक वर्ष २०८०÷०८१ मा आर्थिक प्रगति शतप्रतिशत गरेको छ । शिक्षक दरबन्दी मिलान गरी आन्तरिक र राष्ट्रिय दरबन्दी मिलान कार्यान्वयन भएको, खुद पुल दरवन्दी कट्टा गरि माथिल्लो तह निमावि तथा मावि तहमा पुल दरवन्दी एकिन गरिएको, स्थानीय तहसँगको समन्वयमा कार्यक्रम सञ्चालन र कार्यान्वयन, नयाँ पाठ्यक्रम प्रवोधीकरण सबै स्थानीय तहमा सम्पन्न गरिएको छ ।
शिक्षाको गुणस्तर अपेक्षितरुपमा वृद्धि हुन नसकेको, बालविकास केन्द्रका सकाहरुको योग्यता दक्षता र तालिम तथा सुविधा कम, शिक्षामा समयानुकुल पर्याप्त लगानीको कमी, कक्षाकोठालाई समयसापेक्ष प्रविधिमैत्री बनाउन पर्याप्त साधनस्रोतको कमी देखिनु समस्याका रुपमा रहेका छन् ।
१०. बनेपा बहुप्राविधिक शिक्षालयले शिक्षा सेवाका २४ जना प्राविधिक सहायकहरूका लागि एक महिने सेवाकालीन तालिम सम्पन्न गरेको छ । प्रदेश सरकारतर्फको कार्यक्रम अन्तर्गत १ हजार १४५ जना शिक्षकको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ भने संघ सरकारतर्फको कार्यक्रम अन्तर्गत ५६३ जनाको लागि शिक्षक पेसागत विकास तालिम प्रदान गरिएको छ ।
बागमती प्रदेश अन्तर्गतका ११९ वटै स्थानीय तहका शिक्षा अधिकृतका साथै बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरूका लागि शिक्षक पेसागत विकास प्रारूप २०८० र शिक्षा तालिम केन्द्रको वार्षिक कार्यक्रमको अभिमुखीकरण गरिएको छ । यो कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्रदेश अन्तर्गत २६.२३ प्रतिशत र ३९.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यस्तै संघको सशर्ततर्फ १७.९३ प्रतिशत वित्तिय र ३८.५ भौतिक प्रगति रहेको छ ।
११.जनस्वास्थ्य कार्यालयले जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा स्वास्थ्य शिविर राखेर १ हजार ६५१ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर गरी औषधिजन्य सामाग्री पुर्याउने व्यवस्था गरिएको छ । क्याम्पमार्फत स्थायी बन्ध्याकरण सेवा प्राप्त गरिरहेका पाठेघर खस्ने समस्याको पहिचानका लागि स्क्रिनिङ गरी उपचार गराईएको छ । पाठेघरको क्यान्सरवाट बचाउनका लागि १३ वटै स्थानीय तह र सबै स्वास्थ्य संस्था प्रमुखहरुलाई एचपिभि भ्याक्सिनसम्बन्धी अभिमुखिकरण भएको छ ।
रेबिज भ्याक्सिनको ब्यवस्थापन, पूर्ण खोप सुनिश्चितता दिगोपना सबै नगरपालिकाले गर्न नसक्नु, एआरआईको बच्चाहरुमा एन्टिबायोटिकको प्रयोग बढी देखिनु, परिवार नियोजनको साधनको प्रयोग दरमा कमी हुनु, निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुन नसक्नु, २० वर्षमुनिका महिलाको गर्भपतन गराउने संख्यामा बृद्धि, टि.बीका केशहरु अझै पनि लुकाइराख्नु मुख्य समस्या र चुनौती रहेको छ ।

१२. आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको कार्यालय बनेपामा छ । आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयको आर्थिक प्रगति ९९.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि यता ३५.६ प्रतिशत रहेको छ । यो कार्यालय र मातहातका औषधालयसमेत गरी वर्षभरी ४६ हजार ३४९ जनाले सेवा लिएका छन् । जिल्लामा नागरिक आरोग्य समिति र समूहको संख्या २० पुगेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको ५० बेड क्षमताको अस्पताल निर्माणका लागि सार्वजनिक जग्गा प्राप्त गर्न बनेपा नगरपालिकासँग छलफल गरिएको छ । बनेपा नगरपालिकासँग सम्झौता गरी बनेपा वडा नं ८ स्थित नगरपालिकाको स्वामित्व रहेको भूमिमा निर्माण गरिएको जडीबुटी उद्यानलाई नवीकरण गरिएको छ ।
१३. कोष तथा लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा संघतर्फ ९२.४९ प्रतिशत र प्रदेशतर्फ ७५.७७ प्रतिशत प्रगती हासिल गरेको छ । संघीय कार्यालयहरुतर्फ ९३.४३ प्रतिशत र प्रादेशिक कार्यालयहरुतर्फ ८३.६८ प्रतिशत प्रगति रहेको छ । कार्यालयले संघ र प्रदेश अन्तर्गत कुल ९०.१४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । यो कार्यालयले चालु आर्थिक वर्षको मंसिरसम्म ३७.३१ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।
१४. खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले आर्थिक वर्ष २०८०÷०८१ मा ८६.८३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । यो कार्यालयबाट खाद्य बजार, दाना बजार, हाटबजार, मेला महोत्सव, होटल ÷ रेस्टुरेन्ट, खाद्य उद्योग, संवेदनशील खाद्य पदार्थ (दूध, तेल, पानी लगायत) उत्पादन गर्ने उद्योग अनुगमन गरिएको छ भने खाद्य स्वच्छता तथा गुणस्तरसम्वन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।
१५. नापीले कार्यालयले भुम्लु गाउँपालिका वडा नम्बर ७ र ८ मा जग्गा नाप जाँचको बाँकी कामको थालनी गरेको छ । पनौती नगरपालिकाको रोशी खोला क्षेत्रमा खोला र व्यक्तिको कित्ताहरुका प्रव्यवस्थापनको कार्य गरिएको छ ।
१६. गुठी संस्थान शाखा कार्यालय धुलिखेलले आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । नाला भगवती मन्दिर परिसर संरक्षण, शुम्भेश्वर महादेव मठ संरक्षण, श्यामपाटी शिवालाय संरक्षण, साँगामा रहेको लिंगो उभ्याउने परिसर संरक्षण, काशीविशेश्वर मठ संरक्षण, नरसिंह मठ संरक्षण कार्य, तलेजु भवानी द्योछेंघर संरक्षण र खड्पु श्वेतभैरव मन्दिर संरक्षण कार्य सम्पन्न भएको छ ।
यो कार्यालयले गुठी तैनाथी जग्गाहरुमा घर टहरा बनाई बसोबास गरी जग्गा अतिक्रमण हुने, मठ मन्दिर निर्माण तथा पुनः निर्माण गर्नका लागि आर्थिक स्रोत कम भएको, गुठीका तैनाथी जग्गाहरु अतिक्रमण हुँदा सम्बन्धित वडा, नगरपालिकाहरुको असहयोग, तैनाथी जग्गाहरुको पुर्जा प्राप्त गर्न कठिनाई, गुठीका जग्गाहरुमा गुठी संस्थानको सहमति बिना तथा मुआब्जा नै बाटो निर्माण गर्ने तथा गुठी रैतानी जग्गाहरुको कुतबाली, मालपोत वडासम्बन्धीत निकायले असुल गरिदिने कार्यलाई मुख्य चुनौतीको रुपमा लिएको छ ।
१७. जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ८७.६८ प्रतिशत वित्तिय प्रगती गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म भने वित्तिय प्रगति १०.६३ प्रतिशत रहेको छ । यो कार्यालयमा एकीकृत ऊर्जा तथा सिंचाई विशेष कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको छ । टुक्रे योजनाहरुको संख्या अत्याधिक र हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बजेट विनियोजन नहुँदा यो कार्यालयले समस्या झेल्नु परेको छ ।
१८. प्रदेश लेखा इकाई कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ मा चालुतर्फ २८.४४ प्रतिशत खर्च र पूँजीगततर्फ ९.७१ प्रशित खर्च गरेको छ । यो कार्यालय यही आर्थिक वर्षबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा आएको हो ।
(यो समाचार जिल्ला समन्वय समिति काभ्रेले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा तयार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *