बनेपा । काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. बैदारले लेख्नुभएको पुस्तक भुद्रङको शनिबार बिमोचन गरिएको छ ।
बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, इतिहासकार ओमप्रसाद धौभडेल, सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ लगायतले सो पुस्तकको बिमोचन गर्नुभएको हो । क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइको आयोजनामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा समाजसेवी रामराजा धौभडेलले लेखक बैदारको परिचय दिँदै पुस्तकमा उल्लेख गरिएका विषयको चर्चा गर्नुभएको थियो । यस्तै इतिहासकार ओमप्रसाद धौभडेलले कृतिबारे समीक्षा गर्दै पुस्तकमा भएका कमीकमजोरी सुधार्न सल्लाह दिनुभयो ।
पुस्तक बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य बादेले केजी बैदारको पुस्तकबाट प्राचीनकालमा बनेपा नेवार समुदायको बसोबास भएको शहर रहेको पुष्टि गरेको भन्दै इतिहासमा रुची राख्नेहरुका लागि पुस्तक महत्वपूर्ण रहेको बताउनुभयो । बनेपामा पनि गणेश र भैरवका मन्दिर र मुर्तिहरु धेरै रहेको पुस्तकमा उल्लेख रहेको भन्दै शहरमा भएका विकासमा नेवार समुदाय सधैं अघि रहेको उहाँको तर्क थियो ।
कार्यक्रमका विशिष्ठ अतिथी बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले लेखक बैदारको प्रयासलाई बनेपालीले गौरव गर्नुपर्ने बताउनुभयो । उहाँले इतिहास र संस्कृतिको जगेर्नामा नगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लेखक बैदारले बनेपासँग जोडिएको इतिहास, संस्कृति र धर्मबारे आफ्नो अध्ययन, खोजले तयार गरेको लेखहरुको पुस्तक पूर्ण नहुन सक्ने भन्दै त्यसमा सल्लाह, सुझाव र टिप्पणी गरिदिन अनुरोध गर्नुभयो । स्वर्गीय ज्ञानकाजी मानन्धरबाट प्रेरित भएर आफूले पुस्तक लेखेको बताउँदै उहाँले आगामी दिनमा पुस्तकको दोस्रो भाग पनि प्रकाशित गर्ने तयारीमा रहेको पनि बताउनुभयो । कार्यक्रम क्याम्पसका संचालक लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *