- ज्ञानमणि नेपाल कालोटोपी
कोही मूर्खले झगडा गर्यो वा धेरै दुःख दियो भने तपाईंलाई बदलाको सोच आउन सक्छ । यस्तो बेलामा धैर्यता चाहिन्छ । त्यस्तो मान्छेसँग बदला लिने सोच राख्दै नराख्नुस् । किनकी रुखमा कुहिएको फललाई झार्न केही गर्नै पर्दैन । न त्यसलाई झटारो हान्नुपर्छ न अरु केही दुःख नै । त्यो त आफैं झर्छ । रुखबाट झरेपछि त्यो विलिन हुने माटोमै हो । त्यसपछि उसको अस्तित्व आफैं सकिन्छ ।
हाम्रो समाज र समुदायमा खराब विचार भएका मानिस धेरै भेटिन्छन् । उनीहरुका काम र कुरा सुन्दा कहिलेकाहीँ हामीलाई रिस उठ्छ । किनकी उनीहरुले हामीलाई सधैं दुःख मात्रै दिन्छन् । यति मात्र होइन, हाम्रा राम्रा काममा पनि अवरोध गर्छन् र जनमानसमा भ्रम छर्ने काम गर्छन् । हामीले पनि नराम्रै गरेको छ र कसैले त्यसको विरोध गरेको छ भने त ठिकै होला तर राम्रो गर्दागर्दै पनि कसैले नचाहिने दोष वा आरोप लगायो भने यसलाई कसरी सहन सकिएला र ?
मन आफैंमा कमजोर हुन्छ, यो हरपल बदलिन्छ पनि । अनि लाग्छ, मैले राम्रो गर्दागर्दै पनि मान्छेहरु किन विरोध गर्दा हुन् ? यहाँ के बुझ्नु पर्छ भने जीवन सरल रेखामा कहिल्यै पनि हुँदैन । हरेक अप्ठ्यारा आउँछन् । तर पनि हामीले कहिल्यै अरुको अहित गर्नु हुँदैन, राम्रो काममै मन लगाउनुपर्छ । सहि काम गर्दागर्दै पनि कसैले अनावश्यक दोष लगायो भन्दैमा अत्तालिनु हुँदैन । ती मूर्ख मानिसहरु आफैं पाखा लाग्छन् । त्यस्ता मान्छेसँग वादविवाद गर्नु भनेको समयको बर्वादी मात्र हो । ऊ नराम्रो मान्छे हो, उसको नियत गलत छ भन्ने जान्दाजान्दै पनि त्यसलाई चलाउनु भनेको फोहोरमा चलाउनु जस्तै हो ।
यहाँ के बुझ्नुपर्छ भने नराम्रो नियतका मान्छे र कुहिएको फल एउटै हो । यिनीहरुलाई बेवास्ता गरेर आफ्नो काममा लागिरहनुपर्छ । जसले गर्दा एउटा सफलताको बिन्दुमा पुग्न सकिन्छ । भनिन्छ नि, आफ्नो प्रशंसा आफैं गर्ने मान्छेसँगको संगत छोड्नुपर्छ । यस्ता मानिसहरु हरेक समय घमण्डी हुन्छन् । उनीहरुलाई साथी बनाउनु हुँदैन । उनीहरु आफ्ना कुरा मात्र सुनाउँछन् तर अरुको कुरा सुन्ने आँटै गर्दैनन् । त्यस्तै अर्काको निन्दा गर्ने मान्छेसँग पनि संगत गर्नु हुँदैन र आफूमा पनि यस्तो बानी छ भने पनि त्याग्नुपर्छ । जीवनमा सफलता पाउन चाहनेले यस्तो बानी त्यग्नैपर्छ । मानिस मानिसमा झैझगडा गर्ने र गराउने मान्छेलाई कसैले रुचाउँदैनन् । वेद र शास्त्रको अपमान गर्ने मान्छेको संगत पनि राम्रो होइन । किनकी यस्ता शास्त्रमा उल्लेख गरिएका विषयहरु मानव जीवनका लागि उपयोगी हुन्छन् । कुनै पनि धर्मका ग्रन्थले कसैलाई नराम्रो बाटो देखाउँदैनन् त्यसैले भगवान र देवीदेवताको निन्दा गर्ने मान्छेसँगको संगत पनि छोड्नुपर्छ । परिवर्तनको ढ्वाङ फुकेर हामीले नीतिनियम नमान्ने गर्न सक्दैनौं । यो पनि बर्वादीको कारण हो ।
काँडा हो भन्ने थाहा हुँदाहुँदै पनि हामी सतर्क हुन सकेनौं भने त्यो काँडाको दोष होइन । त्यहाँ हाम्रै कमजोरी देखिन्छ । तर सबै काँडा पनि खराब हुँदैनन्, केही काँडाले घोचेर बिझाउँछन्, केहीले पैतालामा खील गाडिने गरि बिझाउँछन् भने केही काँडाले तिनै खिल झिक्न पनि सघाउँछन् । त्यसैले हामीले यो बुझ्नुपर्छ कि संसारमा सबैभन्दा धेरै महंगो केही छ भने त्यो विश्वास हो, जसलाई कमाउन वर्षौं लाग्छ तर गुमाउनु केही सेकेण्ड नै पर्याप्त हुन्छ । मानिसको स्वभाव नै हो, जे कुराको पनि आलोचना गर्नु । त्यसैले दुनियाँका आलोचनालाई रोक्न सकिँदैन, तर जब मानिस सफल भइदिन्छ नि, त्यसपछि ती आलोचना गर्नेहरु नै उसको प्रशंसा गर्न थाल्छन् । सफलता उसैलाई मिल्छ, जसले असफलताको डरलाई जितेर हरेक चुनौतीलाई अवसरमा बदल्ने आँट र हिम्मत राख्छ ।
कोही मानिस हिँड्न खोज्छ भने ऊ आफ्नै पैतालामा हिँड्नुपर्छ । आफ्नै गतिमा हिँड्नुपर्छ । आफूलाई आफूले उछिन्न सकियो भने आफैं खुशी हुने हो । आफूसँग आफू छुटे आफैंलाई पर्खिने हो । अरुको पैतालामा आफूलाई दाज्न खोजियो भने वा आफ्नो यात्रालाई नाप्न खोजियो भने कि लडिन्छ कि पछि परिन्छ । त्यसैले हिँड्नुपर्छ तर हिँड्ने ढंग पुगेन भने दोष अरुलाई दिन पाइँदैन ।
