- ज्ञानमणि नेपाल कालोटोपी

पशुपालनमा अग्रस्थानमा रहेको काभ्रेमा भने किसानहरु दूध बेचेको पैसा नपाएर विगत २ वर्षदेखि हैरान छन् । किसान प्रतिनिधीहरु सधैंजसो डिडिसी धाउँदैमा दिक्क भएका छन् । उनीहरु गत महिना पनि दूग्ध विकास संस्थान (डिडिसी) मा भुक्तानी माग गर्दै पुगे ।
यसपटक पनि विगत जसरी नै डिडिसीले किसानलाई आश्वासन दिएर पठाएको छ । गत दशैंअघि नै डिडिसीले पैसा दिने जनाएको थियो । त्यतिबेला ८ हप्ताको पैसा दशैंअघि दिने डिडिसीले बताएपछि केही आशा पलाएको भए पनि २ हप्ताको मात्र भुक्तानी दियो । अझै करिब ५ महिनाको भुक्तानी दिन बाँकी रहेको काभ्रे जिल्ला दूग्ध उत्पादक सहकारी संघकी उपाध्यक्ष लिला नेपालले बताइन् ।
किसान पटकपटक आन्दोलित
गत जेठ २७ गते सरकारले बाह्रौं राष्ट्रिय कृषक दिवस मनाउँदै थियो । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते यो दिवस मनाइन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान पनि गर्ने गरिएको थियो । तर काभ्रेको मण्डनदेउपुरका सयौं किसानहरु भने त्यही दिन आन्दोलित भए । ६ महिनादेखि पैसा नपाएका उनीहरुले आफूले बेचेको दुधको भुक्तानी पाउनुपर्ने मागसहित आन्दोलन गरेका थिए । कुन्तावेसीको सडकमा उनीहरुले दुधका क्यानहरु लाइनमा राखेर विरोध जनाए । यहाँका किसानहरुले विगत २ वर्षदेखि नियमितरुपमा दुधको भुक्तानी पाउन सकेका छैनन् । पटकपटक दुग्ध विकास संस्थान, कृषि मन्त्रालय लगायतका निकायमा माग पूरा गराउन धाउँदै आइरहेका किसानहरुले पछिल्लोपटक ५ महिनायता दुध बेचेको पैसा पाएका छैनन् ।
नेपाल कृषि प्रधान देश भए पनि दुध र अन्य खाद्यान्न आयात गरेर माग धान्नुपर्ने अवस्था छ । उता युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् । किसानले समयमै मल, बीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुनु, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।
सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले कृषिमा ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । देशको अर्थतन्त्रमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रलाई प्रोत्साहन गर्न लगानीदशक घोषणा गर्नुलाई कृषिविज्ञले सकारात्मक नै मानेका छन् । तर किसानले भोग्दै आएका विगतदेखिकै समस्यालाई पहिले सम्बोधन गर्नुपर्नेमा उनीहरुको जोड छ । किसानसँग पुग्नुपर्ने कृषि प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्न सके मात्रै पनि किसान र कृषिका धेरै समस्याको समाधान हुनसक्ने देखिन्छ । तर यसतर्फ सरकारले खासै ध्यान दिन सकेको छैन ।
दूधमा आत्मनिर्भर
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये पनौतीले पशुपालन क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गर्दा यस नगरमा मात्रै भैँसीको सङ्ख्या दोब्बर भई दोब्बर परिमाणमा दूध उत्पादन भएको छ । हाल करिब आठ हजार भैँसी पनौतीमा छन् । दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौं विक्रीका लागि पठाइन्छ । जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पशुपालनमै छन् । पछिल्लो केही वर्षदेखि व्यवसायिकरुपमा दुग्ध उत्पादन एवं मासुका लागि पशुपालन क्षेत्रमा लागेको पाइन्छ ।
काभ्रेपलाञ्चोक दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो २००९ सालमा नै सुरु भएको जिल्ला हो । जिल्लाबाट हाल उत्पादित दैनिक चार लाख लिटर दूध स्थानीय बजारसहित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खपत भैरहेको काभ्रे जिल्ला दुग्ध उत्पादक संघले जनाएको छ । पछिल्ला वर्ष जिल्लामा पशुपालन व्यवसायिक हुँदै गएको र निरन्तर दूध उत्पादन बढिरहेको छ । हाल दैनिक जिल्लाबाट दुई लाख ५० हजार लिटर दूध काठमाडांै उपत्यका निर्यात हुने गरेको छ । सो परिमाणको दूध उपत्यकाको बजारमा २० प्रतिशतको हाराहारीमा हुन आउँछ ।
विश्व खाद्य सङ्गठनको सन् २०१० मा प्रकाशित तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोकका दुई सय ६७ दुग्ध उत्पादक सहकारी संस्थाले सो वर्ष ७२ हजार एक सय मेट्रिक टन अप्रशोधित दूध उत्पादन गरेका थिए । यो मुलुकमै सबैभन्दा बढी उत्पादन रेकर्ड हो । काभ्रेपलाञ्चोक २०६७ सालमै दूधमा आत्मनिर्भर जिल्ला घोषणा भैसकेको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पका कारण जिल्लामा झण्डै १० प्रतिशतले दूधको उत्पादनमा कमी आएको थियो । पशु, चौपायाका लागि गोठ व्यवस्थापनको अभाव, दाना तथा आहाराको कमी र दुधालु पशु, चौपाया भूकम्पका कारण मरेकाले भूकम्प गएको एक वर्षसम्ममा पनि दूधको उत्पादन पहिलेकै अवस्थामा फर्कन सकेको थिएन । भूकम्पका कारण काभ्रेपलाञ्चोकमा उत्पादनशील २ हजार ५ सय पशुचौपाया मरेका थिए ।
हाल दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरीले दूधको ६ देखि ८ महिनाको भुक्तानी रकम रोकिँदा किसानलाई समस्या निम्तिएको छ । दूध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले किसानलाई पशु आहारा जस्तैः घाँस, पराल, भुसा, दाना, चोकर, खरिद गरी खुवाउन नसक्ने अवस्था सिर्जना भएको किसानहरु बताउँछन् ।
पशुसेवा कार्यालयका कार्यक्रमहरु
जिल्ला पशुसेवा कार्यालयले काभ्रे र सिन्धुपाल्चोकलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । यस अन्तर्गत मुख्य कार्यालय भने धुलिखेलमा र पशुसेवा केन्द्र चौतारामा रहेको छ ।
काभ्रेको कूल क्षेत्रफल १ हजार ३९६ वर्गकिलोमिटर र सिन्धुपाल्चोकको २ हजार ५४२ वर्गकिलोमिटर रहेको छ । तथ्यांकअनुसार काभ्रेमा १ लाख ४७ हजार ८७३ वटा गाई र गोरुको संख्या रहेको मध्ये दूधालु गाईको संख्या ४२ हजार ४७० वटा रहेका छन् । यस्तै १ लाख ३७ हजार ६४० वटा भैंसी र राँगाहरु रहेकोमा ५८ हजार ७३३ वटा दूधालु भैंसीको संख्या रहेको छ । यसैगरि ३ लाख ९ हजार ५५८ बाख्रा, ३ हजार ९०७ भेडा, १६ हजार ५८५ बंगुरहरु रहेको कार्यालयले जनाएको छ । कुखुराको संख्या १८ लाख ९१ हजार ५८९ र हाँसको संख्या ४ हजार ७७० छ ।
काभ्रेमा आर्थिक वर्ष ०७९/०८० मा जम्मा दूध उत्पादन १४ लाख ७० हजार ३० मेट्रिक टन र मासुको उत्पादन १२ हजार ८२५ मेट्रिक टन रहेको छ । यस कार्यालयले गत आर्थिक वर्षमा कूल ६ करोड १८ लाख ५६ हजार बजेट पाएको थियो । कार्यालय अन्तर्गत पशुपालनमा असल अभ्यास प्रबद्र्धन कार्यक्रम, बंगुर प्रबद्र्धन कार्यक्रम, बाख्रा प्रबर्द्धन र दूध उत्पादनमा बृद्धि कार्यक्रम संचालनमा रहेको निमित्त कार्यालय प्रमुख निशान्त शर्मा गेलालले जानकारी दिए ।
यस कार्यालयले चालु आर्थिक वषका लागि ७ करोड ३६ लाख ९१ हजार बजेट पाएको छ । छनौट भएका सबै साझेदारहरु सम्झौताका लागि नआउनु, सम्झौता गरेका सबै साझेदारले सम्झौता अनुरुप कार्य नगर्नु, समयमा नै वर्षा नभएकाले घाँस खेती कार्य प्रभावित हुनु लगायतका कारण सोचेअनुरुपको काम गर्न कार्यालयलाई चुनौती भएको छ । यति धेरै पशुपालक किसान भएको काभ्रेका किसानहरु आफूले बेचेको दूधको भुक्तानी समयमै नपाएर हरेक महिना डिडिसी धाउनु विडम्बना नै हो । अब यो समस्याको समाधानमा सरकारले ध्यान दिनैपर्छ ।
