बनेपा । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले विपदमा रहेका नागरिकलाई रेडक्रसले उल्लेख्य सहयोग गरेको बताउनुभएको छ ।
बिहीबार बनेपामा आयोजित कार्यक्रममा उहाँले नेपाल रेडक्रस सोसाइटी पीडितको दुःखमा सधैं साथमा रहेको र आगामी दिनमा पनि सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू वडाध्यक्ष हुँदादेखि नै रेडक्रससँग मिलेर काम गरेको अनुभव सुनाउँदै रेडक्रसकर्मीहरु बिनास्वार्थका काममा सधैं अग्रसर रहेको बताउनुभयो ।
उहाँले गत असोज १० देखि १३ गतेसम्मको बाढीपहिरोले पीडित भएका नागरिकका लागि प्रदेशले छिट्टै राहत र पुनर्निर्माणका काम शुरु गर्ने पनि जानकारी दिनुभयो । मन्त्री थापाले भौतिक मन्त्रालयसँग समन्वय गरेर बिपदबाट धेरै क्षति भएका काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा खानेपानी, कृषि लगायतका क्षेत्रमा काम शुरु गरिसकेको बताउनुभयो ।
रेडक्रसकर्मीहरु निर्वाचनबाट चुनिएर आएका भए पनि अब भने सबैको साझा रहेकाले सबैका समस्यालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिँदै उहाँले काम गर्दा केही समस्या आए प्रदेशसँग समन्वय गर्न सल्लाह दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी काभ्रेले आयोजना गरेको कार्यक्रममा रेडक्रस कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा रेडक्रस काभ्रेका सभापति देवेन्द्र भैलले रेडक्रसले कसैलाई पनि भेदभाव नगरि काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर गरिरहने बताउनुभयो । कार्यक्रम रेडक्रस काभ्रेका मन्त्री राजु सिग्देलले संचालन गर्नुभएको थियो ।
