कुन्तावेसी । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले ०८४ सालमा हुने चुनावको कहिले पनि चिन्ता नगरेको बरु सधैं देशको चिन्ता गरेको बताउनुभएको छ ।
केही पुराना पार्टी र नयाँ खोलिएका पार्टीले ०८४ सालको चुनावको चिन्ता गरिरहेकोप्रति लक्षित गर्दै महामन्त्री शर्माले राजनीतिक दलहरुले सधैं चुनावको मात्र चिन्ता गरेर देशको चिन्ता कहिले गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले कांग्रेस इतिहास बोकेको पार्टी भएकाले र लाखौं कार्यकर्ताको प्यारो पार्टी भएकाले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन भन्दै नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न निर्देशन पनि दिनुभयो । उहाँले बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै विवाद नरहेको प्रष्ट पार्नुभयो ।
शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा शुभेच्छुक र भातृ संगठन विस्तार कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले काम गर्दा केही कमीकमजोरी हुने भएकाले नआत्तिन र निर्धक्क भएर काम गर्न नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो । पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वभाविक रहेको बताउँदै उहाँले आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जाने प्रष्ट पार्नुभयो । कांग्रेस देशमा भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता भएपनि पार्टीभित्रको आन्तरिक किचलो अन्त्य नभएसम्म जनताको मन जित्न नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंले हामीले यसअघि कति काम गर्न सक्यौं वा कति सकेनौं त्यसको मूल्यांकन गरेर आगामी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा आफूले लामो समय त्याग गरेको उल्लेख गर्दै आफूले पदका लागि कहिल्यै राजनीति नगरेको बताउनुभयो । उहाँले काभ्रे कांग्रेसको नेतृत्वमा आफूले लामो समय बिताएकाले पार्टीमा भएका कमीकमजोरीको जिम्मा आफैंले लिने बताउँदै पार्टीमा कुनै विवाद हुन नहुनेमा जोड दिनुभयो । काभ्रे कांग्रेसमा अब अभूतपूर्व एकता हुनुको विकल्प नभएको उहाँको भनाइ थियो ।
केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा केही कमजोरी भए सच्याएर अघि बढ्ने बताउनुभयो । वागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले नेता कार्यकर्ताले दिएका सुझावलाई आत्मसाथ गर्दै आफू अघि बढ्नेमा जोड दिनुभयो । यस्तै काभ्रे कांग्रेस सभापति तीर्थ लामाले जिल्लाका सबै विकासमा कांग्रेसको योगदान उच्च रहेकाले यसको मूल्यांकन जनताले गर्ने बताउनुभयो । उहाँले पार्टीले अझै धेरै काम गर्न बाँकी रहेकाले सबै मिलेर अघि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पाँचखालका मेयर महेश खरेलले पार्टीमा बाहिरी तत्वले ठूलो प्रहार गरेको अवस्था भएकाले कांग्रेस एकजुट हुनुको विकल्प नरहेकोमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित सबैजसो नेता तथा कार्यकर्ताले कांग्रेसले बिगतका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै आगामी चुनावमा गठबन्धन नगरि एक्लै जानु पर्ने बताए । कार्यक्रम नेपाली कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
सोही अवसरमा मण्डनभेगमा जन्मिएर, स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमासमेत चर्चामा रहेका राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । प्रमुख अतिथि महामन्त्री शर्माले पौडेलको प्रतिमा अनावरण गर्दै उहाँले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले पौडेलको जीवनीबाट नयाँ पुस्ताले धेरै कुराहरु सिक्ने र उहाँको आदर्शमा सबै अघि बढ्न सक्ने अवस्था नआएसम्म उहाँप्रति सच्चा सम्मान नहुने बताउनुभयो । पौडेलले गर्नुभएको समाजवेवाबाट आफू निकै प्रभावित भएको उहाँको भनाइ थियो ।
