नमोबुद्ध । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
राजमार्ग अन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयले जनाएको छ ।
हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।
राजमार्गको धुलिखेल– नेपालथोक र नेपालथोक– खुर्कोट सडकखण्ड अस्थायी रुपमा मर्मतका लागि सरकारले हालका लागि २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोला बगरको कच्ची सडकमा कष्टकर एवं जोखिमपूर्ण यात्रा गरिरहेका छन् । डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ ।
