- ज्ञानमणि नेपाल कालोटोपी
मानिसको सबैभन्दा साँचो साथी उसको स्वास्थ्य हो, जुन दिन स्वास्थ्यले साथ दिँदैन, त्यो दिन न सम्बन्ध बाँकी रहन्छ न आफ्नो अस्तित्व नै । त्यसैले हामीले कहिल्यै पनि स्वास्थ्यमाथि खेलवाड गर्नु हुँदैन किनकी यो नै हाम्रो अमूल्य सम्पत्ती हो । तर हिजोआज मानिसहरु स्वास्थ्यमाथि चरम लापरबाही गरिरहेका हुन्छन् । अन्तिम अवस्था भएपछि उपचार खोजी गर्छन् मान्छेहरु, जतिबेला धेरै ढिला भइसकेको हुन्छ । मनमा घमण्डको राग लिएर संसार जित्छु भन्ने सोच भएका मानिसहरु पनि आखिरमा स्वास्थ्यसँग हार्छन् र मृत्युलाई अंगाल्छन् । त्यसैले भनिन्छ नि, ‘घमण्डले बनाएको महल एकदिन घमण्डकै आँधीले ढाल्छ ।’
मानिसको जिन्दगीमा आरोह अवरोहहरु आइरहन्छन् । जब जिन्दगीले कठिनाईको सामना गराउँछ, तब थोरै पनि दुःखी नभइ मुस्कुराउनु पर्छ । खुशीमा हाँस्ने त धेरै हुन्छन् नि, तर हामी दुःखमा पनि हाँस्न सिक्नुपर्छ । चुनौतीहरु ती मानिसका अघि मात्रै आउँछन्, जसमा त्यसलाई पार गर्ने हिम्मत हुन्छ । घामको महत्व घाम अस्ताएपछि मात्र बुझिन्छ भने पैसाको मूल्य आफन्तले तिरस्कार गर्दा मात्र थाहा हुन्छ । यस्तै आफ्नाको महत्व पराईले धोका दिँदा मात्र महसुस हुन्छ, साँचो मायाको अर्थ भने धोका खाएपछि मात्र बुझिन्छ । स्वार्थीहरुको दुनियाँमा केही यस्ता दुर्लभ मानिसहरु पनि भेटिन्छन्, जो हामीलाई कठिन समयमा साथ दिन्छन् र खुशीको समयमा पनि हाम्रो साथ रहन्छन्, तिनीहरु नै हाम्रा असल र स्थायी साथीहरु हुन् ।
जीवनमा एकैचोटी सफलता कहिल्यै पाईंदैन, तर प्रयास गरिरहँदा सफलता टाढा भाग्न पनि सक्दैन । एउटा कमिलाले घरको भित्तामाथि चढ्न कति धेरै संर्घष गर्छ । बीचमा पुगेर धेरैपटक तल झर्छ तर पनि उसले प्रयास छोड्दैन अनि अन्तिममा भित्ता पार गरेरै छोड्छ । हामीले उसको परिश्रम र प्रयासबाट धेरै कुरा सिक्नुपर्छ । जब समय र परिस्थितीले कसैलाई तल झार्छ भने तब मानिसले आफू अडिने जराहरु गहिरो र बलियो बनाउनुपर्छ । तल झर्दैमा उठ्ने प्रयास गरिएन भने न सफल भइन्छ न कसैले चिन्छ नै । साँचो संघर्षबिना पाइने सफलता चिप्लो ढुंगामा लेखिएको अक्षर जस्तै हुन्छ, जुन क्षणभरमै मेटिन्छ, तर संघर्षले कोरिएको सफलताको इतिहास मेट्न कसैले सक्दैन । समय बदलिन्छ, परिस्थिती बदलिन्छ, तर असल मन भएका मानिसहरु कहिल्यै बदलिँदैनन् । हामीले कस्तो इतिहास बनाउने त्यो आफैंमा भर पर्छ ।
मान्छेले कहिले पनि ख्याल गरेको छैन, कि उसको सबैभन्दा ठूलो विश्वविद्यालय मशानघाट हो भनेर । जहाँ पुगेपछि मान्छेलाई कसैले पाठ पढाउनु पर्दैन, सीप सिकाउनु पर्दैन, न पर्छ उसलाई भावुक बनाउन नै । यो खुल्ला विश्वविद्यालय हो, जहाँ उसले स्वतः सबै कुरा सिक्छ तर त्यसलाई व्यवहारमा उतार्न भने कठिन हुन्छ । त्यसैले भनिन्छ नि, खराब मान्छेको संगत कहिल्यै नगर्नुस्, किनकी नराम्रा मान्छेहरु पानीमा झरेको रंग जस्तै हुन्, जो एक पटक घुलेपछि मान्छेको चरित्रको उज्यालोलाई कहिल्यै उस्तै बनाउन सक्दैनन् । मानिससँगको संगतलाई आगोको नजिक बस्नु जसरी तुलना गर्न सकिन्छ, राम्रा मान्छेसँग रहे उज्यालो र तातो पाइन्छ, नराम्रासँग बसे जल्ने डरले जीवनभर सताउँछ ।
मानिस भएपछि यति चाहिँ गर्न सक्नुपर्छ, यदि तपाईं पेटको लागि काम गर्ने हो भने धान रोप्नुस्, पाँच वर्षको लागि काम गर्ने हो भने फलफूल रोप्नुस्, यदि तपाईंलाई अर्को पुस्ताका लागि केही गर्छु जस्तो लाग्छ भने सन्तानमा लगानी गर्नुस्, यदि आफू बाँचुञ्जेल मात्र होइन, युगौंसम्म लगानी गर्नु छ भने समाजसेवा रोज्नुस् । यी हरकोहीलाई दिइने अर्ति उपदेश भए, तर मान्छेले यी कुरा कहिल्यै ख्याल गरेको हुँदैन । सिमित स्वार्थका लागि मानिसले भएभरको सम्बन्ध तोड्न त पछि पर्दैन भने यस्ता आदर्शवादी कुरा सोच्ने र व्यवहारमा लागू गर्ने फूर्सद उसलाई कहिले होला र ?
हामीलाई कुनै ठूलो कुराको प्राप्ती हुँदैछ भने त्यसका लागि केही सानो कुरा गुमाउनु परेपनि पछि हट्नु हुँदैन । किनकी मौकामा हीरा फोर्नु, बेमौकामा कौडी पनि नछोड्नु भनेर त्यतिकै भनिएको कहाँ हो र ? लक्ष्यमा पुग्न आफूले कति बाटो हिँड्न बाँकी छ भन्दा पनि कति बाटो हिँडिसकें भनेर ख्याल गर्नुपर्छ । आफू सहि बाटोमा छु कि छैन भनेर सधैंभरि सचेत रहनुस् । कुनै काम गर्नुछ भने धेरै सोचेर र योजना बनाएर नबस्नुस्, कुनै काम गर्नुछ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नेतिर लाग्नुस् । डरलाई सधैं जित्नुस्, धैर्यशील रहनुस् । यति मात्र गर्न सकियो भने पनि अप्ठ्याराहरु आफैं किनारा लाग्छन् ।
