ज्ञानमणि नेपाल कालोटोपी
मानिसको जीवन कतिखेर कहाँ पुगेर सकिन्छ पत्तो हुँदैन, त्यसैले भनिन्छ मैनवत्ती जसरी नै जीवन जिउनु, आफू जल्नु परे पनि अरुको अन्धकार मेट्ने साहस राख्नु । किनभने उज्यालो बाँड्नेहरु अँध्यारोमा कहिल्यै पनि हराउँदैनन् ।
हामीले कसैलाई पनि अपमान गर्नु हुँदैन, आवश्यक छैन भने नबोलौं तर कसैको इज्जतमाथि प्रश्न नउठाउँ । उखान नै छ नि, धमिलो पानी पिउन नमिले पनि त्यो आगो निभाउन काम लाग्छ । कसको आवश्यक कतिबेला पर्छ भनेर थाहा नै हुँदैन तैपनि केही मानिसहरु यति घमण्डी हुन्छन् कि, अरुलाई समस्या पर्दा कुनै वास्ता गर्दैनन्, आफूलाई पर्दा सबैले सहयोग गरे हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । त्यसैले हामीले यस्ता मानिससँग केही मतलब नराख्नु नै उत्तम हुन्छ । घमण्ड गर्नेलाई गर्न दिनुस्, किनकी हावामा उडेको धुलो अन्तिममा पछारिने भनेको भुईंमै हो ।
जीवन कठिन छ भन्ने सबैलाई थाहा छ, तर कठिनाईलाई जितेर अघि बढ्न हिम्मत गर्ने र आँसुलाई मुस्कानमा बदल्न सक्ने मान्छे नै असली मान्छे हो । उसले जीवनमा आएका सबैखाले समस्याको समाधान गर्न सक्छ । त्यसैले भनिन्छ नि, रुखको हाँगामा बसेको चरालाई हाँगा भाँचिएला भन्ने डर कहिल्यै हुँदैन, उसको विश्वास रुखको हाँगामा होइन, आफ्नै पखेटामा हुन्छ । त्यसैले अरुमा परनिर्भर होइन, आफू आफैंमा आत्मनिर्भर हुन सक्नुपर्छ । मानिसको सोच र पिउने पानी सधैं सफा हुनुपर्छ, किनकी दुवैले जीवनको शुद्धता र गुणस्तर बढाउँछन् । खराब सोचले मनमा अशान्ति ल्याउँछ भने फोहोर पानीले शरीरमा रोग निम्त्याउँछ । त्यसैले सोच र पिउने पानी दुवै अशुद्ध छन् भने पनि शुद्ध बनाउनु हितकर हुन्छ ।
जसले मानिसलाई कमजोर देख्न चाहन्छ नि, उसकै अगाडि बलियो बनेर देखाउनुपर्छ । किनभने हरेक मानिसलाई आत्मविश्वासले सफलता दिन्छ र शत्रुलाई कमजोर बनाउँछ । जब तपाईं सफलताको सिँढी चढ्दै माथि उठ्नुहुन्छ, तब तपाईंका साथीहरुलाई तपाईं को हो भनेर थाहा हुन्छ । जब तपाईं समस्या र पीडामा पर्नुहुन्छ, त्यतिबेला मात्र तपाईंलाई थाहा हुन्छ कि तपाईंका असल साथी को रैछन् भनेर । नियत सफा हुनेहरुका लागि एक गिलास पानी पनि अमूल्य अमृत झैं हुन्छ । तर देखावटी गर्नेहरुका लागि चौरासी व्यञ्जनले पनि कुनै अर्थ राख्दैन । धेरैले मानिसको बाहिरी सुन्दरता खोज्छन् तर असली सुन्दरता त निष्ठा, साथ र विश्वासमा लुकेको कसैले पनि देख्दैनन् । यसरी देख्न सक्ने मानिस अधिकांश ठाउँमा सफल हुन्छ । मान्छेहरुले त्यतिकै भनेका होइनन्, ‘जीवनको मूल्य धनले होइन, मनले निर्धारण गर्छ, जहाँ प्रेम र सम्मान छैन, त्यहाँ सम्पती भएर पनि कुनै महत्व हुँदैन ।’
परिस्थितीले होइन, सोचले मानिसलाई धनी वा गरिव बनाउँछ । किनभने जसले असफलतालाई पाठ र संघर्षलाई शक्ति बनाउँछ नि, त्यो मानिस नै हो सफल हुने पनि । परिवर्तनसँग नडराउनुस्, किनकी परिवर्तन नै मानिसको जीवनको नयाँ शुरुवात हो । परिवर्तनले नै मानिसलाई पुराना सीमाहरु तोडेर नयाँ लक्ष्यहरु भेट्न प्रेरित गर्दछ । त्यसैले परिवर्तन कुनै अन्त्य होइन, यो त प्रगतिको पहिलो पाइला र सफलताको बलियो आधारशीला पनि हो । जब मानिसको मनोबल बलियो हुन्छ तब कुनै पनि बन्धनले उसलाई छेक्न सक्दैन । शान्त र स्थिर मनले मात्र मानिसका जीवनका हरेक चुनौतीहरु सामना गरेर सफलता प्राप्त गर्न सकिन्छ । हरेक जीव जनावर र मानिसकै पनि सिंगो जिन्दगी केवल दुई शब्दमा रोकिएको हुन्छ, एउटा ‘सास’ र अर्को ‘आश’ । हिजो आफ्ना छोराछोरीले खाना नखाइदिँदा रुने बाआमा आज तीनै छोराछोरीले खान नदिँदा रोइरहेका छन् । त्यसैले संसार अनौठो छ । जति बुझ्यो त्यति कठिन ।
एउटा रुखले लाखौं सलाईका काँटी बनाउन सक्छ तर एउटा सलाईको काँटीले नै लाखौं रुखहरु जलाइदिन सक्छ । राम्रो काम गरेर नाम कमाउन जति गाह्रो छ नि, त्यति नै गाह्रो त्यसलाई निरन्तरता दिनुमा छ । आफ्नो कूलभित्र भएका सयौं असल सदस्यहरुलाई मानिसले त्यति नचिन्लान् जति एउटा कुपात्रलाई चिन्छन् । राम्रो काम गरेर नाम कमाउन गाह्रो छ तर नराम्रो काम गरेर बदनाम कमाउन खासै गाह्रो छैन, जसरी एउटा काँटी सलाईले पूरै जंगल ध्वस्त बनाउन सक्छ, एउटा कुपात्र सदस्यले पनि वंश सिध्याउन सक्छ । त्यसैले हामीले हाम्रो लागि लड्ने, प्रशंसा गर्ने, ख्याल गर्ने, आदर गर्ने र बिना कुनै शर्त हामीलाई माया गर्ने व्यक्तिको खोजी गर्नुपर्छ । तर यो स्वार्थी दुनियाँमा के यो सम्भव होला र ?
