बनेपा । विगत १६ वर्षदेखि काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार देवराज केसीलाई बनेपा नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिकाले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर केसीलाई सम्मान गरेको हो । बिहीबार बनेपामा आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पत्रकार केसीलाई सम्मान गरे ।
जिल्लामा रहेका विविध विषयलाई संचार माध्यममार्फत नागरिकलाई सूसुचित गराउन उत्कृष्ट भूमिका खेलेको भन्दै नगरपालिकाले उनलाई सम्मान गरेको हो । केसी विगत १० वर्षदेखि नेपाल टेलिभिजनका काभ्रे संवाददाता भएर काम गरिरहेका छन् भने जिल्लाको सञ्जिवनीपत्र साप्ताहिकमा पनि आबद्ध छन् । उनी नेपाल पत्रकार महासंघ काभ्रेका सहसचिव हुन् ।
यसैबीच नगरपालिकाले आफ्नो स्थापना दिवस भव्यरुपमा सम्पन्न गरेको छ । कार्यक्रममा उपप्रधानमन्त्री सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत उपस्थित थिए ।
