बनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी बर्षको अवसर पारेर बुधबार विविध कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला सहकारी संघ काभ्रेको कार्यालय बनेपामा राष्ट्रिय झण्डा र सहकारीको झण्डोत्तोलन, बृक्षारोपण, खुल्ला रक्तदान र फुटसल प्रतियोगिता गर्दै संघले सहकारी दिवस मनाएको हो ।
सहकारीमा लामो समय खर्चिएका अग्रज व्यक्तित्वहरुको उपस्थितीमा भएको कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । सो अवसरमा उहाँले सहकारीको शुरुवात बनेपाबाट भएका तथ्याहरु पुष्टि भइसकेकाले आगामी वर्ष ०८२ साल भदौ १ गते बनेपा नगरपालिकाको अगुवाइमा ८२ औं सहकारी दिवस मनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले इतिहासका कयौं दस्तावेज र संसदीय छानविन समितिको प्रतिवेदनमा समेत बनेपामा बिसं. २००० साल भदौमा सहकारी स्थापना भएको दस्तावेज फेला परेकाले सोही अनुसार भदौ १ गते ८२ औं स्थापना दिवस मनाउने बताउनुभयो । बनेपामा रहेका सहकारीमा पनि समस्या देखा परेपछि यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर समन्वय गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले जिल्ला सहकारी संघले नेतृत्वदायी भूमिकामार्फत सहकारीको बृद्धि विकासमा काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, सहकारी संघका पूर्व अध्यक्ष दिलीप शर्मा, बागमती प्रदेश सहकारीका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, सहकारी संघ काभ्रेका उपाध्यक्ष शान्ति लामा, सचिव प्रकाश बञ्जाराले सहकारीका बारेमा आफ्नो मन्तव्य राख्नुभयो ।
सो अवसरमा जिल्ला स्तरीय फुटसल प्रतियोगिताका विजेता ज्योति मिर्मिरे साकोस प्रथम, इन्द्रेश्वर साकोस पनौती, दोश्रो र तेस्रो भएका रोशी साकोस पनौतीलाई नगद र ट्रफीले पुरस्कृत गरियो । कार्यक्रममा कार्यालय परिसरमा करिब ५० वटा बिरुवा रोपिएका थिए भने रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *