पनौती । काभ्रे सेवा समाजको आयोजनामा सोमबार बुद्ध जयन्तीको अवसर पारेर पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको आयोजना गरिएको छ ।
शान्ति पदयात्राको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्नुभयो । पनौतीको मानेश्वरी मन्दिरदेखि पनौती बजार पुगेर यादवले शान्ति पदयात्राको उद्घाटन गर्नुभएको थियो ।
शान्ति पदयात्राको शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतम बुद्धका सन्देश हरेक ब्यक्तिका लागि जीवनपयोगी रहेको बताउनुभयो । बुद्धका सन्देशहरुलाई कार्यान्वन गर्न सबै पक्ष र क्षेत्र लाग्न डा यादवको सुझाव थियो । पनौतीको मानेश्वरीबाट पूर्वराष्ट्रपति यादवले रिवन काटेर सुरु गर्नुभएको शान्ति पदयात्रा सुन्थान, इटे, शंखु, शंखेश्वरी जंगल हुँदै नमोबुद्धमा पुगेर टुंग्याइएको थियो ।
काभ्रेको लागि केही गरौं भन्ने नारा लिएको काभ्रे सेवा समाजले पनौती र नमोबुद्धको पर्यटन प्रवद्र्धनका लागि पदयात्रा गरिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतम बुद्धले पाइला टेकेको नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरेको हो । समाजले २०८० असोजमा पनि पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।

विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउँदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्राको आयोजना गरिएको समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीको भनाइ थियो ।
बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग पुग्ने र आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपूर्ण योगदान गर्ने समाजको अपेक्षा छ ।
पनौतीदेखि नमोबुद्धसम्मको ९.५ किलोमिटर दुरीको पदयात्रामा सोमबार विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागि थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गरिने समाजले जनाएको छ ।
