सुदिप के.सी.
धुलिखेल । तथ्यांक समन्वय कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग अन्र्तक्रिया गोष्ठीको आयोजना गरेको छ । नेपालमा दोश्रो पटक गरिन लागेको आर्थिक गणनाको तयारी, आर्थिक गणना, अन्तर्राष्ट्रिय अनुभवहरु तथा नेपालमा गरिएको पहिलो आर्थिक गणनाको अनुभव तथा आगामी योजनाका बारेमा जानकारी दिन कार्यक्रम गरिएको हो ।
२०८२ फागुन महिनादेखि नेपालमा दोश्रो आर्थिक गणना प्रारम्भ हुनेछ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जुकुमार कोँजुको प्रमुख आतिथ्यता तथा राष्ट्रिय तथ्यांक कार्यालयका राष्ट्रिय लेखा तथ्यांक महाशाखा, आर्थिक तथ्यांक महाशाखा उपप्रमुख तथ्यांक अधिकारी डा शरदकुमार शर्माको अध्यक्षता रहेको थियो ।
प्रमुख अतिथी केन्द्रिय सदस्य कोँजुले आर्थिक गणना मुलुकको आर्थिक समृद्धीका लागि अत्यावश्यक रहेको बताउँदै त्यसमा खटिने गणकहरुले गर्ने ब्यवहार, सोध्ने प्रश्नावली तथा त्यसका सकारात्मक विषयमा बुझाउन आवश्यक रहेको बताए ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा शरदकुमार शर्माले राष्ट्रिय तथ्यांक कार्यालयले गणना र सर्वेक्षण गरिरहने भए पनि आर्थिक गणना नेपालमा दोश्रो पटक र विशेष महत्व रहेको बताए । दर्ता नभएका तर हरेक दिन एकै स्थानमा ब्यापार ब्यवसाय गरिरहने ठेलागाडाको सम्म तथ्यांक संकलन गरिने उनले बताए ।
कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठले सरकारी तथ्यांक र ब्यवहारमा फरक हुने बताए । दर्ता भएका उद्योग कलकारखानाका आधारमा तथ्यांक निकाल्दा सहि नहुने उनको भनाइ थियो ।
२०७५ सालमा गरिएको आर्थिक गणनामा काभ्रेपलाञ्चोकमा १४ हजार २ सय ८२ वटा प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जना संलग्न रहेको देखिएको थियो । जसमा पुरुष ३२ हजार ६ सय ५० र महिला २१ हजार ९ सय २५ जना थिए । पालिकागतरुपमा पनि तथ्यांक सार्वजनिक गरिएको थियो । सबैभन्दा कम खानीखोलामा ४ सय ६० र सबैभन्दा धेरै बनेपामा ४ हजार ३ सय ५९ वटा प्रतिष्ठान रहेका थिए ।
कार्यक्रममा तथ्यांक समन्वय कार्यालय काभ्रेका अधिकृतद्वय दिपेन्द्र धामी र खगेन्द्र पौड्याल, तथ्यांक कार्यालयका सुपरिवेक्षक सन्तोष कार्की लगायतले आर्थिक गणना र तथ्यांकका सन्दर्भमा जानकारी गराएका थिए । सहभागिहरुले आर्थिक गणना तथा सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
