निर्दिप के.सी.

धुलिखेल । काभ्रे जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएको छ ।
नगरपालिकाका १२ वटै वडा पूर्णखोप घोषणा भएपछि आइतबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समिति काभ्रेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख गौतमले धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए । स्वास्थ्य क्षेत्रमा धुलिखेल नगरपालिकाले गरेको प्रगतिले नेपालकै शीर ठाडो हुने गरेको उनले बताए ।
विश्व स्वास्थ्य संगठनले एसियामा दोस्रो र नेपालकै पहिलो स्वस्थ शहरका रुपमा धुलिखेल नगरपालिकालाई घोषणा गरेको भन्दै उनले प्रसंसा गरे । कोरोना संक्रमणकालमा खोपको पर्खाइको छट्पटिले खोपको महत्व झनै बढाएको उनले बताए । नगरप्रमुख अशोक ब्याञ्जुले खोपकै कारण मानिसको बाँच्न पाउने अधिकार सुनिश्चित गरेको, आयु लम्बिएको र रोग प्रतिरोधात्मक क्षमता बढेको बताए । जनस्वास्थ्य कार्याललय काभ्रे प्रमुख राघिश्री श्रेष्ठले दिगोपनाका लागि ध्यान दिन अनुरोध गरिन् ।
स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले वडादेखि वस्तीस्तरसम्म पुगेर ४ सय २८ अर्थात १ सय ३४ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए । २०७२ मा पनि धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको थियो । त्यसपछि हरेक वर्ष पूणृखोप सुनिश्चित तथा दिगोपनाका कार्यक्रम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म १० वटा पालिका पूर्णखोप सुनिश्चित भएका छन् । चौंरीदेउराली, बेथानचोक र रोशी गाउँपालिका पूर्णखोप सुनिश्चितको अन्तिम तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *