ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा घरजग्गा कारोबारबाट साढे दुई महिनामा ११ करोड १० लाख ४८ हजार ७८५ राजस्व संकलन भएको छ । मालपोत कार्यालय काभ्रेले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार १६ गतेदेखि ३२ गते र चालु आर्थिक वर्षका साउन र भदौमा घरजग्गा कारोबारबाट सो रकम राजस्व संकलन भएको हो ।
चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा सबैभन्दा बढी बनेपा नगरपालिकाबाट राजश्व उठेको छ भने सबैभन्दा कम खानीखोलाबाट उठेको मालपोत कार्यालय काभ्रेका लेखापाल जनार्जन भट्टले जानकारी दिए । उठेको राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित पालिकालाई नै दिइने प्रावधान अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा बनेपाले २ करोड ९५ लाख ४७ हजार २७ रुपैंयाँ पाएको छ । यो बनेपाले संकलन गरेको कूल राजश्वको ६० प्रतिशत हो ।
यस्तै धुलिखेल नगरपालिकाले ८७ लाख ८६ हजार ११५ रुपैंयाँ पाएको छ । पाँचखालले ५९ लाख ३९ हजार १३ रुपैंयाँ पाएको छ । यसैगरि पनौतीले १ करोड ११ लाख ५८ हजार ९२५ रुपैंयाँ पाएको छ । नमोबुद्धले ३४ लाख ९४ हजार ८३ पाएको छ । मण्डनदेउपुर नगरपालिकाले ४० लाख ९९ हजार ८७१ रुपैंयाँ पाएको छ ।
यस्तै गाउँपालिकातर्फ भुम्लुले ८ लाख ५० हजार ५४८ रुपैंयाँ पाएको छ । चौरी देउरालीले २ लाख ३० हजार ९९ रुपैंयाँ पाएको छ । बेथानचोकले ५ लाख ७४ हजार ६१६ रुपैंयाँ पाएको छ । यसैगरि खानीखोलाले ६६ हजार ४९४ रुपैंयाँ पाएको छ । रोशीले ५ लाख ८ हजार ७११ रुपैंयाँ पाएको छ । तेमालले ९० हजार ८४९ रुपैंयाँ पाएको छ । महाभारत गाउँपालिकाले १ लाख ९९ हजार १२६ रुपैंयाँ पाएको छ ।
जिल्लाका १३ वटै पालिकालाई गएको राजश्वमा जम्मा ६ करोड ५४ लाख ९६ हजार ४८३ रहेको छ । प्रदेश सरकारको कोषमा जम्मा भएको राजश्व ४ करोड ५५ लाख ५२ हजार ३०२ रहेको छ ।
आर्थिक वर्ष ०८०÷०८१ मा जिल्लामा घरजग्गा कारोबारबाट कूल ६४ करोड ६ लाख १६ हजार ४०८ रुपैयाँ राजश्व संकलन भएको थियो । तर गत आर्थिक वर्ष ०८१÷०८२ मा भने करिब साढे चार करोडले राजश्व घटेको छ । सो वर्ष ५९ करोड ६१ लाख २३ हजार १०३ रुपैयाँ राजश्व संकलन भएको थियो । आर्थिक वर्ष ०७९÷०८० मा घरजग्गा कारोबारबाट कूल ५४ करोड ९५ लाख ७१ हजार ९८ रुपैयाँ राजश्व संकलन भएको कार्यालयको तथ्यांक छ ।
