यस वर्ष वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रका ठूलो क्षति भएको छ । मनसुन सक्रिय हुने समयमा वर्षा कम वा बढी र बाहिरिने समयमा पनि असोजमा भएको वर्षाले नै ठूलो क्षति पु¥याएको थियो । बाली उठाउने बेलामा फेरि कात्तिकमा परेको पानीले पाकेको धान बालीमा क्षति पुगेको छ। सबै क्षतिको वास्तविक तथ्याङ्क प्राप्त भइनसके पनि लगभग पाँच अर्बको हाराहारीमा क्षति पुग्ने अनुमान गरिएको छ। असोजको तेस्रो साताको वर्षा, बाढीपहिरोबाट कृषि क्षेत्रमा पुगेको तथ्याङ्क सङ्कलन भइसक्न नपाउँदै कात्तिकमा क्षति भएको छ ।
असोजमा मात्र साढे तीन अर्ब रुपियाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तीन प्रदेशमा तीन अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । कात्तिकमा भएको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको मन्त्रालयले जनाएको छ । वर्षाका कारणले धान बाली र तरकारी बालीमा क्षति पुगेको छ ।
असोजमा आएको बाढीपहिरोबाट कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित भएका छन् । गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य क्षति भए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षति नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपहिरोका कारण बालीमा तीन अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ । यस्तै पशुपन्छीमा १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ चार करोड ५९ लाख पाँच हजार र बीउबीजनतर्फ २७ करोड ९४ लाख चार हजार रुपियाँको क्षति भएको छ । सबैभन्दा धेरै मधेश प्रदेशमा दुई अर्ब ९८ करोड ४९ लाख रुपियाँ बराबरको क्षति भएको मन्त्रालयको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
बाढीले मधेश प्रदेशका सबै जिल्ला प्रभावित भई नौ हजार १८६ हेक्टर क्षेत्रफलमा डुबान तथा कटान भई धान, तरकारी, फलफूल, उखुमा क्षति पुगेको छ । उक्त प्रदेशमा ९९ हजार ८३३ मेट्रिक टन बाली वस्तुमा क्षति भएको छ । दुई लाख ७७ हजार ८५२ केजी बराबरको माछा र दुई हजार कुखुरामा क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा एक हजार ४१४ हेक्टर क्षेत्रफलमा लगाइएको धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोमा क्षति भएको छ । कोशी प्रदेशमा मात्र ३४ करोड २४ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीपहिरोका कारण एक हजार ७१३ हाँस, कुखुरा चार हजार ६९३ केजी माछा नष्ट भएका छन् ।
यस्तै बागमती प्रदेशमा १२ करोड ४६ लाख तीन हजार रुपियाँको क्षति भएको छ। डुबान र कटानका कारण ८७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै, तरकारी र कोदोमा क्षति पुगेको छ । बागमती प्रदेशको नुवाकोटमा ४० हेक्टर, काभ्रेमा १० हेक्टर र सिन्धुलीमा ३७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुगेको छ ।
उता गण्डकी प्रदेशमा एक हेक्टर क्षेत्रफलमा धान, तरकारी, सुन्तला र केरामा क्षति पुगेको तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेशमा तीन हेक्टर क्षेत्रफलमा लगाएको धान बाली बालुवाले पुरेको छ । यसरी हेर्दा किसान सधैं समस्यामै देखिन्छन् । बाली लगाउने बेलामा पानी हुँदैन, उत्पादन गर्यो भाउ हुँदैन, बाली भित्र्याउने बेलामा मौसम प्रतिकूल हुन्छ । न बीउ र मल समयमा र सस्तोमा पाइन्छ । अनि सधैं समस्यामै किसान रहने भएपछि कसरी होला कृषिक्रान्त्री ? पीडित किसानलाई सरकारले सहयोग गर्नु आवश्यक छ ।
