सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षाबाट कोही पनि विद्यार्थी बञ्चित हुनु नपर्ने बताउनुभएको छ ।

नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै नगर प्रमुख तामाङले कोही पनि ब्यक्ति आर्थिक अभावले शिक्षाबाट बञ्चित हुन नपर्ने बताउनुभएको हो । इन्द्रेश्वरी माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षालाई हल्कारुपमा नलिन सुझाव दिँदै शिक्षक गुरुले देखाएको बाटोमा लाग्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई भविष्यको रेखा कोर्ने समय अहिले नै भएकाले मिहेनेती बन्न सुझाउनुभयो । प्रमुख तामाङले शिक्षा, खेलकुद, सङ्गितलगायत क्षेत्रमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

विशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यार्थीको गहना भनेकै अनुशासन भएकाले अनुशासित भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले यसै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु अहिले उच्च ओहदामा पुगेको उल्लेख गर्दै आफ्नो उज्ज्वल भविष्यको लागि मिहेनत गर्न आग्रह गर्नुभयो ।

वडा नम्बर ११ का पूर्व वडाअध्यक्ष रुद्रप्रसाद दुलालले विद्यालयमा कक्षा ११ भर्ना भइ आएका विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै सफल भविष्यको कामना गर्नुभयो ।

विद्यालयका पूर्वप्रधानाध्यापक तथा इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले विज्ञान विषय,प्राविधिक धार तर्फसमेत राम्रो पढाई भइरहेकाले आगामी दिनमा कानुन विषय थप गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य छेसाङ तामाङको अध्यक्षतामा भएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *