सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक तपोभूमि खड्कुले झरना परिसरमा आज राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यता तथा वडा अध्यक्ष बाबुलाल स्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा खड्कुले झरना गाउँपालिकाको पहिचान, गौरव र पर्यटन सम्भावनाको केन्द्र बन्दै गएको उल्लेख गर्दै यसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइयो । “राम्रो खड्कुले झरना, सुन्दर खड्कुले झरना” अभियानलाई सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताइएको थियो ।
छोटो समयमै मिङमार गोलेको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले गरेको काम प्रशंसायोग्य रहेको भन्दै समितिप्रति अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभयो । साथै वडा र गाउँपालिकाबीचको साझेदारीमा खड्कुले झरनालाई हेर्न लायक तथा घुम्नयोग्य पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन सहयोग र सहभागिता जनाउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
