गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण पुगेको भौतिक र मानवीय क्षतिको पूर्ण विवरण तीन महिनापछि सार्वजनिक भएको छ । यसअघि पूर्ण विवरण नआएको भन्दै पुनर्निर्माणमा अलमल गरिरहेका पालिकाहरुले अब भने आफ्नो ध्यान यसतर्फ केन्द्रीत गर्नुपर्ने आवश्यकता देखिएको छ ।
तथ्यांक अनुसार जिल्लाका विभिन्न पालिकामा २ हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएका छन् । ७ सय ५१ वटा घर आंशिक क्षति भएको र ६८ घर परिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । सहरी विकास तथा भवन कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको जानकारी अनुसार सरकारी भवन १२ वटा पूर्णरुपमा क्षति भएका छन् । यस्तै १ सय ३५ वटा आंशिकरुपमा क्षति भएका छन् । सार्वजनिक भवन ८ वटा पूर्णरुपमा क्षति भए भने १ सय ३४ वटा आंशिक क्षति भएको तथ्यांक छ ।
पालिका अनुसार बेथान्चोक गाउँपालिकामा ६ सय २९, नमोबुद्ध नगरपालिकामा ४ सय ८९ र रोशी गाउँपालिकामा ३ सय ५० र तेमालमा ४ सय ३९ घर पूर्णरुपमा क्षति भएका छन् । यसैगरि चौरीदेउरालीमा १ सय ३४, भुम्लु गाउँपालिकामा १ सय २२, धुलिखेलमा ८०, पाँचखालमा ७६, खानीखोलामा ४५, महाभारतमा २३, बनेपामा ४७, पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्णरुपमा क्षति भएका छन् ।
जिल्लामा ६८ घर परिवार स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् । जसमा खानीखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन परेको छ । जिल्लाका १३ स्थानीय तह मध्ये रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबद्ध, मण्डनदेउपुर लगायतका स्थानीय तह बढी प्रभावित भएका थिए । मानवीय क्षति पनि उच्च रहेको थियो । जसमा मृत्यु ७९ जना र घाइते ७८ जना भएका छन् भने अझै ६ जना बेपत्ता छन् । बाढीपहिरोको तीन महिनापछि बल्ल क्षतिको पूर्ण विवरण आएको हो । यो तथ्यांक विपद्को एक महिनाभित्रै आइसक्नु पर्ने थियो । पालिकाहरु सबैले आआफ्नो तर्फबाट संकलन गरिरहेको जनाएका थिए । सम्पूर्ण अधिकार पाएका पालिकाहरुले नै तथ्यांक दिन ढिलाइ गरेका कारण पीडितहरु यो जाडोमा झन समस्यामा छन् ।
अब सबै पालिकाले पुनर्निर्माणलाई प्राथमिकतामा राखेको जनाएका छन् । यसका लागि उनीहरुले बजेट संशोधन पनि गरिरहेका छन् । विपद् व्यवस्थापनका लागि भन्दै यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका हुन् । बाढीपहिरोका कारण जिल्लामा जनधनको व्यापक क्षति भएपछि राहत तथा पुनर्वासका लागि यहाँका स्थानीय तहले विशेष सभामार्फत योजनागतरुपमा विनियोजत बजेट कटौती गर्न थालेका हुन् ।
यसअघि विशेष अधिवेशनको आयोजना गरी जिल्लास्थित रोशी र बेथान्चोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्वासका लागि चालु आवको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका थिए । गत बिहीबार धुलिखेल नगरपालिकाको सोह्रौँ अधिवेशनमा विशेष सभाको आयोजना गरी बाढीपहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालु आवको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरेको छ । जाडो याम सुरु भइसकेकाले अब पालिकाहरुले तत्काल बाढीपहिरो प्रभावितलाई थप राहत तथा पुनर्निर्माण थाल्नुपर्छ । यसका लागि ढिलो भइसक्यो ।
