धुलिखेल। धुलिखेल नगरपालिकाले नगरवासीलाई सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रेयूकाई एइको मासुनागा आँखा अस्पताल (REMEH) सँग मोतियाबिन्दु न्यूनीकरण अभियान सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

कार्यबाहक नगर प्रमुख निराजन जंगम र अस्पतालका प्रतिनिधिबीच बिहीबार आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार धुलिखेल नगरपालिकाका नागरिकहरूले निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, निःशुल्क रेटिना शल्यक्रिया तथा निःशुल्क एभास्टिन (Avastin) सेवा प्राप्त गर्नेछन् ।

नगरपालिकाका अनुसार यो अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ । समयमै उपचार पाउँदा दृष्टि गुमाउने जोखिम कम हुनुका साथै नगरवासीको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा रेयूकाई एइको मासुनागा आँखा अस्पतालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

धुलिखेल नगरपालिका र रेयूकाई एइको मासुनागा आँखा अस्पतालबीचको यो सहकार्यलाई स्थानीय स्वास्थ्य सेवामा नयाँ उपलब्धिका रूपमा हेरिएको छ । नगरवासीको आँखाको स्वास्थ्य संरक्षण र उपचार सेवाको पहुँच विस्तार गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *