बनेपा । काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा यस वर्ष पनि कृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने भएको छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा आगामी २०८३ साल भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीका दिन कन्या पूजा गरिने भएको हो ।

समितिका अनुसार कन्या पूजा भदौ १९ गते बिहान १० बजे बनेपाको भोलाखाँटोलस्थित गणेशस्थानबाट शुभारम्भ हुनेछ । पूजामा सहभागी कन्याहरूलाई विभिन्न स्थानमा व्यवस्थित रूपमा राखी भक्तजनमार्फत पूजा तथा प्रसाद वितरण गरिनेछ । बनेपाको कन्या पूजा नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक महत्वपूर्ण परम्पराका रूपमा लिइन्छ । यो परम्परा वि.सं. १९५९ देखि निरन्तर सञ्चालन हुँदै आएको हो । पछिल्लो समय यसमा हजारौँ कन्याहरू सहभागी हुँदै आएका छन् ।

१० वर्षमुनिका कन्यालाई देवीका रूपमा पूजा
कन्या पूजामा सामान्यतः रजस्वला नभएका तथा १० वर्षमुनिका कन्याहरूलाई देवीस्वरूप मानेर पूजा गर्ने परम्परा छ । बनेपामा हुने यो पूजामा काभ्रेपलाञ्चोकका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट समेत कन्याहरू सहभागी हुने गरेका छन् । विगतका वर्षमा करिब ७ हजारदेखि ८ हजारभन्दा बढी कन्या सहभागी भएको विवरण सार्वजनिक भएका छन्

पूजामा सहभागी कन्यालाई भक्तजनले टीका लगाइदिने, शुद्ध तोरीको तेल चढाउने तथा स्वारी, मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु, मिठाईलगायतका प्रसाद तथा दक्षिणा प्रदान गर्ने चलन रहेको छ । यसका लागि विभिन्न व्यक्ति तथा परिवारले भक्तिभावका साथ दान तथा सहयोग गर्दै आएका छन् ।

सात गाउँदेखि सुरु भएको परम्परा
बनेपाको कन्या पूजाको ऐतिहासिक सम्बन्ध स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ । परम्परागत रूपमा बनेपा आसपासका ‘सात गाउँ’ का कन्यालाई पूजा गर्ने गरिएको बताइन्छ । समयक्रमसँगै यो पूजा बनेपाभन्दा बाहिरका क्षेत्रसम्म पनि फैलिँदै गएको छ । समितिका अनुसार सुरुका वर्षमा सीमित संख्यामा कन्यालाई पूजा गरिँदै आए पनि अहिले यसको स्वरूप बृहत् हुँदै गएको छ । कन्यालाई देवीका रूपमा सम्मान गर्ने र उनीहरूको सुख, शान्ति, समृद्धि तथा स्वास्थ्यको कामना गर्ने धार्मिक विश्वासका आधारमा यो परम्परा सञ्चालन हुँदै आएको छ ।

बनेपाको पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा
कन्या पूजा धार्मिक आस्थासँग मात्रै नभई बनेपाको सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन बनेपाको पुरानो बजार क्षेत्रमा देखिने हजारौँ कन्या तथा भक्तजनको सहभागिताले स्थानीय बजारलाई विशेष धार्मिक तथा सांस्कृतिक वातावरणमा परिणत गर्ने गरेको छ ।

विगतका वर्षमा भोलाखाँटोलबाट सुरु हुने पूजा बनेपाको पुरानो बजार हुँदै चारदोबाटो र लायकु दरबार क्षेत्रसम्म पुग्ने गरेको थियो । सडकका दायाँबायाँ कन्याहरूलाई व्यवस्थित रूपमा राखेर भक्तजनले पूजा गर्ने परम्परा रहेको छ । सनातन कन्या पूजा प्रबन्ध समितिले यस परम्परालाई व्यवस्थित, मर्यादित र निरन्तरता दिन स्थानीय भक्तजन, दाता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

समितिले कन्या पूजामा जात, वर्ग वा समुदायका आधारमा कुनै भेदभाव नगरी सबै कन्यालाई समान रूपमा पूजा गर्ने जनाएको छ । समितिका अनुसार यो पूजा बनेपाको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संरक्षण र पुस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण परम्परा भएकाले यसको संरक्षणमा सबैको भूमिका आवश्यक छ । यस वर्ष पनि भव्य रूपमा आयोजना गर्न तयारी भइरहेको समितिले जनाएको छ । समितिले श्रद्धालु भक्तजनलाई भदौ १९ गते बिहान १० बजे भोलाखाँटोल गणेशस्थानमा उपस्थित भई कन्या पूजा तथा प्रसाद वितरणमा सहभागी हुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *