ज्ञानमणि नेपाल कालोटोपी
प्रदीप केसी बञ्जारा
धुलिखेल । आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा जिल्ला समन्वय समिति काभ्रेले अन्तर्राष्ट्रिय युवा महोत्सवको आयोजना गर्ने भएको छ ।
सम्मेलनको तयारी, उद्देश्य तथा ब्यवस्थापनका बारेमा जानकारी दिन मंगलबार आयोजित एक अन्तक्र्रिया कार्यक्रममा समन्वय समिति प्रमुख दीपक गौतमले सम्मेलनको महत्वसँगै सम्मेलन अवधीभर आयोजना हुने कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । सम्मेलनमा विभिन्न मुलुकबाट करिब ३ लाख युवाहरुले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । सम्मेलनमा कन्सर्ट, समुहगत छलफल तथा स्टलहरु रहनेछन् । २ सयभन्दा धेरै बक्ता र १० हजार डेलिगेट्सले समुहगत छलफलमा भाग लिने बताइएको छ । सम्मेलनमा स्थानीय उत्पादन प्रदर्शनी, विषय विज्ञताका आधारमा समुहगत छलफल लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । हरेक दिन फरकफरक विषयमा छलफल हुनेछ ।
सम्मेलनको प्रचारप्रसार गर्ने उद्देश्यले ५ लाख पुरस्कार राशीको फुटसल प्रतियोगिता पनि आयोजना गरिएको छ । यो प्रतियोगिता भने माघ १७ देखि १९ गतेसम्म हुनेछ । फुटसल प्रतियोगिता खुल्ला तथा अन्तर विद्यालयस्तरीय हुने पनि प्रमुख गौतमले जानकारी दिनुभयो । यसअघि जिल्ला समन्वय समितिको आयोजनामा कृषि महोत्सव, खेल महोत्सव लगायतका जिल्लास्तरिय कार्यक्रम भएका थिए ।
कस्तो छ तयारी ?
जिसस प्रमुख गौतमले दिएको जानकारी अनुसार सम्मेलनमा ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका प्रतिनिधिहरु सहभागी हुनेछन् । हरेक क्षेत्रमा जिससले नजर लगाइरहेको छ । सचेत हुँदै हरेक क्षेत्रमा आएका चुनौतीसँगै आलोचनात्मकरुपमा आएका प्रतिक्रियालाई सकारात्मकरुपमा लिँदै काम गर्ने जिससको कार्यक्रम रहेको छ । सामाजिक, शैक्षिक सुधार, स्वास्थ्य, खेलकुद, कृषि, हिंसाका घटनालाई न्यूनिकरण गर्ने अभियान लगायतबाट आमजनमानसमा केही ऊर्जा प्राप्त भयो भन्ने सोच्दै आगामी दिनमा नयाँ कार्यक्रम गर्दै आएको जिससले यो पटक अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्न लागेको हो । यसको तयारी तिव्ररुपमा भइरहेको छ । विश्व युवा महोत्सव आगामी चैत १४ गते प्रधानमन्त्रीबाट उदघाटन हुनेछ । यसमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको पनि उपस्थिती रहनेछ । हालसम्म ७५ वटा देशहरुका प्रतिनिधिहरु आउने तय भइसकेको छ । सम्मेलनमा सूचना, प्रविधि, खेलकूद, आइटी, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुनेछ । यसबाट निराश युवाहरुलाई आशाको संचार जगाउने काम गर्न सकिने विश्वास लिइएको छ । सम्मेलनमा विश्वका युवाहरुले नेपालका युवाहरुलाई आफूले जानेका ज्ञान शेयर गर्नेछन् । यहाँ डाक्टर, वकिल, साहित्यकार, संस्कृतिविद, पर्यटन व्यवसायी, खेलाडी, राजनीतिज्ञलगायत सहभागी हुनेछन् । यो एक वर्षदेखिको तयारी हो । यसले नेपाल र काभ्रे जिल्लाका विविध आयामको प्रचार हुने अपेक्षा छ । विदेशी खेलाडीको सहभागीतामा फुटसल पनि हुनेछ । शैक्षिक प्रदर्शनी पनि गरिनेछ । यसमा जिल्लाका सबै विद्यालयहरुले भाग लिन सक्नेछन् ।
अन्तर्राष्ट्रियरुपमा यस महोत्सवमा भाग लिनका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । यसमा पाँच दिनको लागि ७ हजार ५०० शुल्क लाग्छ । जसमा थप केही शुल्कसमेत गरि अधिकतम १० हजारसम्म लाग्नेछ र यो सहभागी आफैंले बेहोर्नेछन् । ३० भन्दा बढी क्रियाकलापहरु समेट्दै महोत्सव अवधीमा न्यूनतम तीन लाख युवा भित्र्याउने लक्ष्य छ । हाम्रो कलासंस्कृतिका साथै स्थानीय उत्पादनको पनि प्रदर्शन र प्रयोगमा जोड दिइनेछ । यसका साथै वातावरणसँग पनि जोडिदै कार्यक्रमहरु गरिने जिसस प्रमुख गौतमले जानकारी दिनुभयो । जसबाट विगतमा भएका विपदका घटनाहरु नदोहोरिने गरि कसरी काम गर्न सकिन्छ भनेर छलफल र विचार विमर्श गरिनेछ । यो प्रदेश सरकार, युवा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषदसँग समन्वय गर्दै स्थानीय तहहरुसँग पनि जोडिने कार्य गरिने उद्देश्य राखिएको छ ।
यी सबै कार्यका लागि जिससले काभ्रे स्थित पत्रकार महासंघ शाखासँग समन्वय गरेर काम गर्ने बताइएको छ । यो विशाल कार्यक्रम भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने अपेक्षा जिससले लिएको छ । कार्यक्रममा उपस्थित संचारकर्मीहरुले जिससको प्रयासको प्रशंसा गर्दै सहयोग गर्ने बताएका थिए । महासंघका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकार र जिससबीच विगतदेखि नै निकटको सम्बन्ध रहेकाले यो सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो । उहाँले काभ्रे जिल्लामै हुन लागेको महोत्सवले देशभित्र मात्र नभई विश्वमै सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । यस महोत्सवका लागि जिल्लाका सबै पत्रकारहरु र पत्रकार महासंघको सहयोग रहने उहाँले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *