भुद्रङ (इतिहास, संस्कृति र धर्म सम्बन्धी लेखहरू) काभ्रे बहुमुखी क्याम्पसका प्रमुख समादर्शीय प्रा. के.जी. वैदारको अथक मिहिनेत र प्रयासको अति नै जानकारीमूलक ऐतिहासिक तथा सामाजिक अवयवहरू समेटिएको लेखहरूको एउटा ग्रन्थ हो । पाण्डुलिपि अध्ययन गरी पुस्तकको बारे केही शब्दहरू लेख्दै छु ।
लामो समय अर्थ–राजनीतिमा विशेष कलम चलाइरहनु भएका लेखकले राजनीतिसँगै धर्म जोडिएका सन्दर्भ लेखहरू समेटेर पुस्तक प्रकाशनको जुन प्रयास गर्नु भयो, प्रथमतः उहाँको इच्छाशक्ति, आलेखप्रतिको सामाजिक रूची जगाउने विद्वतालाई हार्दिक नमन गर्दछु । पुस्तक भित्र तीन ओटा लेखहरू बनेपाका गणेशहरूको बारेमा केन्द्रित छ । तत् पश्चात् लेखकले चण्डेश्वरी भैरव, गुह्येश्वरी, अष्टमातृका, स्वधालाई समेट्दै पछिल्लो समय कालगणना र पर्व मनाउने धार्मिक नियम भन्दा सहजताको विधिमा रमाइरहेको सामाजिक परिवेशलाई बढी रोचक र धार्मिक प्रमाणका आधारमा विश्लेषण गर्नु भएको छ । बनेपाका पुरातात्विक विशेषता प्रति गहन खोज र विश्लेषण गर्ने क्रममा चण्डेश्वरीको ल्वेंह हिति, नेवार कायस्थ तथा शिवदेव अंशुवर्माको अभिलेखको साँचो बयान र अर्थ यसै पुस्तक भित्र पाठकहरूले पाउने गरी पस्किनु भएको छ ।
गणेश स्थापना र पूजाका सन्दर्भको दक्षिणाभिमुख गणेश नै विघ्नहर्ता भएको दाबी मात्र हैन गणेशको शाब्दिक अर्थ ’समूह, सम्प्रदायको ईश्वर देखि गणेश मूर्ति र गणेश वाहनका सन्दर्भ बढी रोचक र तर्कसंगत रूपमा अनुसन्धान गरेको पुष्टि लेखहरूबाट प्राप्त हुन्छ । आठ अवतार सहितको गणेशबाट वेष्टित सहरको रूपमा राजा आनन्ददेवलाई सम्झनु पर्ने दाबी लेखकको रहेको छ । अर्को रोमान्चक दाबी क्वःवहा गणेश जो स्वाधाटोलमा अवस्थित छ– एकदन्त गणेश नै हुन्, जहाँ एकदन्त हुन्छ, त्यहाँ स्वधा सुरक्षित हुन्छ ।
त्यति मात्रै होइन, गणेश स्थापना र पूजाका अतिरिक्त गणेश मन्दिरका विशेषताहरू जस्तैः तला भएको, छाना, गजुर, हुँडाल, तोरण, झ्याल, ढोका, प्रवेशद्वार आदिको पूर्व व्याख्या धेरै जानकारीमूलक छ ।
स्वधाटोलका अभिलेखमा लेखकले मैडारीलाई मैंदेल, मनी, भारी जस्ता धरहरूसँग बराबरी मानेका छन् । नेपालीमा नेपालभाषाबाट ही की वा नेपाली भाषाबाट नेपालभाषामा हो भन्ने पर्गेल्ने अनुसन्धानको दायरा नै हो भन्ने लाग्छ । तिमिल्सैन गाउँबाट आएका तिमल्सिना, कोइली गाउँका कोइराला, दुल्लुका दाहाल, धमिरका घिमिरे जस्तै सायद भण्डारीका कुनै गाऊँ होलान् कि जस्तो लाग्दछ । लेखकको गहिरो अध्ययनको प्रमाण स्वधाध्याने विद्याकी पीठको उजागरसँग जोडिएको छ । अहिलेका स्नातकोत्तर अध्ययन पुराना विधापदक हुन भन्न सजिलै सकिन्छ । पुस्तक भित्र सबै भन्दा लामो अध्याय पनि यही हो र सबै सामाजिक अवयवहरू समेटिएको लेख पनि यही हो । एक किसिमले नेपालको इतिहासमा लिच्छविकालीन समयलाई स्वर्णयुग भने कै, तात्कालीन बनेपाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपबाट सवल र सम्पन्न रहेका आधारहरू लेखकले पस्किनु भएको छ, यो लेखमा ।
नेपाल सम्वत् र हिन्दू कालगणना सिद्धान्त लेखमा नेपाल सम्वत् विशुद्ध चन्द्रमान सम्वत् नभई सौर्य चान्द्रमान पात्रो भएको गर्दै मलमास, तिथि, अमान्तक र पूर्णिमान्तक मास, महिनाको नामाकरण जस्ता जटिल धार्मिक–सांस्कृतिक बुझाईलाई प्रष्ट पार्दै लेखक भन्नु हुन्छ –
’नेपाल सम्वतमा प्रचलित नाममा भने केही महिनाको नाम हावापानी र चाडपर्वको नाममा राखिएको पनि पाइन्छ । मल्लकालका अभिलेखहरूमा यस सम्वत्का महिनाहरूको नाम नक्षत्रहरूकै नामबाट प्रचलित रहेको पाइन्छ ।’
तर नक्षत्रहरू त सत्ताइस वटा छन् । महिना १२ वटा छन् । म जस्तै बबुराहरूको जिज्ञासामा लेखकको उत्तर खोज्न यो लेख पढ्नै पर्छ होला । ’चण्डेश्वरीको ल्वहंहिति लेखमा ल्वहंहिति अर्थात् ढुङ्गेधाराहरूको वर्णन रहेको छ । क्वॉथ (किल्ला), लायकू (दरबार) को वर्णन सहित बनेपाका ल्वहहिति कसले र कसरी बनाए भन्ने इतिहास र त्यससँग जोडिएको धार्मिक विश्वास बुझ्न यो लेख अति उपयोगी हुनेछ ।
नेवार कायस्थः एक अध्ययनले नेवाः समुदायले कायस्थ थरको उत्पत्ति र नेपाल प्रवेशको इतिहासलाई मसिनो ढङ्गले विश्लेषण गर्दछ । नेपाल स्थानवाचक नभई जातिवाचक भएको भाषिक तार्किक पुष्टि स्मरणीय छ । कायस्थ कुनै जात्त वा वर्ण विशेष नभई प्रशासकीय पदको रूपमा विकसित भई कालान्तरमा एउटा जातको रूपमा स्थिर हुन पुगेको ’जुन दाबी छ राई पदवी बर भएर आएको केही लोकोक्तिहरूमा कति सत्यता छ भन्ने तिर पोतलिनु पर्छ कि भन्ने महसूस यो लेखले गराएको छ ।
गोपाल सि नेपालीको ’द नेवारस बाट नेवार जनजाति भन्दा पछि आफैमा एक समाज हो भन्ने घुसेको मेरो दिमागमा नेवार कुनै एक जाति विशेष नमई इतिहासको विभिन्न कालखण्डमा भिन्न भिन्न नश्ल, जात, जाति, वर्ग, धर्मावलम्बीका मानिसहरू एक आपसमा मिलेर वा छ्यासमिस भएर बनेको एउटा संश्लिष्ट समुदाय हो भन्ने लेखकको तर्कले एकपटक हामी पाठकलाई रिटा लगाउँछ । कायस्थको परिचय वर्णन, प्रकार, नेवार कायस्थको विवरण, प्रमुख व्यक्तिहरूको जुन चर्चा गरिएको छ त्यसबाट कायस्थ चौतारा र प्रधानाङ्मा नियुक्ति भई उच्च पदस्थ भारदारका रूपमा देश र जनताको सेवामा मल्लकाल’ भरी क्रियाशिल रहे पनि शाहकालमा राजनैतिक शक्तिबाट च्यूत भएर पराजित जातिमा परिणत भई वैश्यकरणको शिकार भएको दावी यस लेखका प्रस्तुत गरिएको छ ।
पुस्तकको अन्तिम लेखले पुस्तकको नामाकरण सहित बनेपाको प्राचीन नाम, दङ, कोत, दोलाशिखर स्वामी, प्राचीन बनेपाको भुगोल आदि विषयवस्तु समेटेको छ । रोचक तथ्य लिच्छविकालमा भुद्रङमा कम्तिमा ५ हजार मानिस बसोबास गर्दथे र त्यस समय यस अन्तर्गत थुप्रै तल र ग्रामहरू थिए । ती तल र ग्रामहरूको ऐतिहासिकता लेखक कै गहन अनुसन्धानमा निर्भर रहने छन् या त अरू कोही बनेपाको इतिहास, संस्कृति र धर्मको अनुसन्धाताका रूपमा वढी मेहनत साथ अघि बढ्नुपर्ने हुन्छ ।
(लेखक अनुसन्धान व्यवस्थापन इकाई काभ्रे बहुमुखी क्याम्पस, बनेपाका अनुसन्धान प्रमुख हुन् ।)
