बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पु¥याएको छ । त्यसमध्ये ८ दशमलव ५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका अनुसार हाल उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्डको मर्मत भइरहेको छ । बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नुपर्ने भएकाले सो सडकखण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भइसकेका छन् ।
विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको र काम नभएका स्थानहरूबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने विभागको भनाइ छ । सडक डिभिजन भक्तपुरले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो । आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरी काम भइरहेको बताइएको छ । वर्षायाममा सकेसम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्यका साथ आवश्यक परे रातिको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिने विभागले जनाएको छ । गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पु¥याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुनर्निर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसक्नुभएको छ ।
मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले सडकको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुनर्निर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवं पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभएको थियो ।
यता जापानका नवनियुक्त राजदूत माएदा तोरूले नेपाल–जापान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै अघिल्लो वर्षायाममा आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग मर्मतका लागि जापानले पहल गर्ने बताएका छन् । उक्त सडक जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा बनेको थियो ।
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययन अनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्ग अन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको थियो । उक्त सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने अध्ययनबाट देखिएको छ । यसरी हेर्दा सडक मर्मत त थालिएको छ तर कुनै पनि बेला वर्षा हुन सक्ने अवस्था भएकाले सडक पुनः अवरुद्ध हुन सक्ने अवस्था पनि छ । त्यसैले आगामी वर्षायाम शुरु हुनुअघि नै मर्मतका काम सक्ने गरि योजना बनाएर काम गर्न सरकारले ढिला नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *