चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आर्थिकवर्षको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
गृह मन्त्रालयका अनुसार ०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सवारी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सवारी दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका जनाएको छ ।
मन्त्रालयका अनुसार साउनमा एक हजार छ सय २८ दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको ज्यान गएको थियो । यस्तै असोजमा एक हजार आठ सय ७३ दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा दुई सय ५८ जनाको निधन भएको विवरण छ । गत मङ्सिरमा दुई हजार १४ सवारी दुर्घटनामा दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा एक सय ९७ जनाको निधन भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका बाहेक) मा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।
मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले आत्महत्या गरेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल संख्या घटेको छ । यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको संख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरेको गृह मन्त्रालयले जनाएको छ ।
गएको माघमा अत्याधिक सवारी साधन दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ । एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन् । यो कुल दुर्घटनाको ५४ दशमलव ५५ प्रतिशत हो ।
सबैभन्दा बढी दुर्घटना तीव्रगतिका कारण भएको प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ । चालकको लापरबाहीले एक हजार १७९ दुर्घटना भएका छन् । चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ दुर्घटना भएका छन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसरी हेर्दा हरेक दिन सवारी दुर्घटनाबाट सरदर ७ जनाको मृत्यु भएको छ । यो संख्या निकै डरलाग्दो हो । यसलाई न्यूनिकरणका लागि सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ । सर्वसाधारण र सवारी चालकले पनि यसमा ध्यान दिनुपर्छ । यसतर्फ सबैले सहयोग गर्न सके समस्याको समाधान हुनेमा शंका छैन ।
