बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले मंगलबार आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा प्रतिष्ठानले वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजनासहित विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको कामना गरे । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शिक्षाको समाज परिवर्तनकारी भूमिकाको चर्चा गर्दै व्यवहारिक तथा जीवनोपयोगी शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । वैद्यले यस शैक्षिक सत्रमा ३० लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरिएको जानकारी दिँदै प्रत्येक विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्ने संस्थाको लक्ष्य रहेको बताए ।
कार्यक्रमका क्रममा सहायक प्रिन्सिपल मिरा मानन्धरले विद्यालयले गत वर्षभरि हासिल गरेका उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरिन् । कार्यक्रममा प्लेग्रुपदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । बनेपा नगरपालिका वडा नं ८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे जिल्ला प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
विद्यालयका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरूको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता अभिवृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका विद्यार्थीहरूले समाजसेवा, वातावरणीय संरक्षण, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको तथा अभिभावकहरूसँग निरन्तर समन्वय गर्दै शैक्षिक सुधार गर्दै जाने विद्यालयको प्रतिबद्धता रहेको उनको भनाइ थियो ।
विगत २२ वर्षमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गर्दै नवीनतम शिक्षण प्रविधिहरूलाई आत्मसात गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आइरहेको छ ।
