कुन्तावेंसी । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ ।
काठमाडौँको चावहिलस्थित हेल्पिङह्याण्ड अस्पतालमा उनको उपचारका क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पार्टीका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज तथा मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले दिएको जानकारी अनुसार सापकोटाको पार्थिव शरीरलाई बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा राखिएको थियो । उनको सोही दिन दाहसंस्कार गरिएको बताइएको छ ।
पार्टी विभाजन हुनुअघि उनले लामो समयसम्म नेकपा एमालेको काभ्रे जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए । पछिल्लो समय उनी एकीकृत समाजवादीमा रहेर राजनीतिमा सक्रिय थिए । विसं २०२२ सालमा काभ्रेको महादेवस्थानमा जन्मिएका सापकोटा २०५६, २०६४ र २०७० सालको चुनावमा काभ्रे क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका भएपनि २०७० सालमा मात्र निर्वाचित भएका थिए । उनी केही समयदेखि फोक्सो र निमोनियालगायत रोगको उपचार गराइरहेका थिए । उनको निधनमा सापकोटाको गृह नगर मण्डनदेउपुरले बिहीबार शोक बिदा दिएको थियो । सापकोटाको निधनले काभ्रेले एउटा कुशल नेता गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *