बनेपा । प्रजातान्त्रिक विचार समाज काभ्रेद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा प्रकाशित ‘विचार’ तेस्रो संस्करणको लाकोर्पण गरिएको छ ।
बनेपामा आयोजित एक कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शैक्षिक विज्ञ तथा साहित्यकारले संयुक्तरूपमा उक्त प्रकाशनको लोकार्पण गर्नुभएको हो ।
विचारको तेस्रो संस्करणमा १९ जनाको प्रजातान्त्रिक विचार–लेख समेटिएको छ । लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले ‘फागुन ७’ लाई प्रजातन्त्रको आधुनिक यात्रा तय गरिएको दिन सम्झदै नेपाली नागरिकले ‘उपहार’ मान्नुपर्ने बताउनुभयो ।
वाग्लेले समाजजस्ता संस्थाहरूले विचार, यात्रा, प्रकाशन, विज्ञप्ति तथा गोष्ठीहरूमार्फत प्रजातान्त्रिक विचार प्रसार गर्दै जाने बताउनुभयो । उहाँले समाजको ७२ जिल्लामा शाखा विस्तार भइसकेको र मधेस प्रदेशका जिल्लामा विस्तारको प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । समाजका जिल्ला अध्यक्ष श्याम भट्टराईले समाजवादउन्मुख परिस्थितिलाई प्रजातान्त्रिक विचारमार्फत चेतना फैलाउन विचार–३ प्रकाशनमा ल्याइएको बताउनुभयो ।
सो अवसरमा नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष शुभलक्ष्मी मानन्धर, राष्ट्र बैंकका पूर्वउपनिर्देशक भुवनेश्वर भट्टराई, शिक्षासेवीद्वय भोला केसी र चुडाप्रसाद चौलागाइँ तथा समाजका आजीवन सदस्य मञ्जु आचार्य घिमिरेले प्रजातान्त्रिक विचारले समाजलाई चेतनशील र उत्तरदायी बनाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *